बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

बहुविवाह मुद्दामा साढे २ वर्ष कैद

दैलेख, चैत १० – दुल्लू नगरपालिका–११ सिस्ने टोल निवासी ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका–८ जौवारीकी २४ वर्षीया बिना जैसीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही साढे २ वर्ष कैद र बीस–बीस हजारका दरले जरिवाना गरेको छ ।
घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई आज उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता नासु बिनोद आचार्यले जानकारी दिए ।
प्रवक्ता आचार्यका अनुसार दैलेख जिल्ला अदालतले बहुविवाह मुद्दामा यति धेरै सजाय गरेको पहिलो पटक हो । मुलुकी ऐनको विवाहवारी महलमा बहुविवाह गर्नेलाई बढीमा ३ वर्षसम्म कैद गर्ने सक्ने प्रावधान भएपनि यस अघि बढीमा २ वर्ष कैद गरिएको थियो ।
१४ वर्ष अघि जेठी श्रीमति सीता भण्डारीसंग विवाह गरी ४ छोराछोरी जन्मेको अवस्थामा गएको साउन ३१ गते दोश्रो विवाह गरेका भन्दै जेठी श्रीमतिले असोज ३० गते प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले सरकारी वकील कार्यालय मार्फत कात्तिक १८ गते अदालतमा मुद्दा पेश गरेको थियो ।
सो मुद्दामा पीडित महिला सीता भण्डारीका तर्फबाट सरकारी वकील जिल्ला न्यायाधिवक्ता बिष्णु पौडेल र आरोपित पक्षको प्रतिरक्षा गर्न अधिवक्ता सुरेन्द्र अधिकारीले बहस गरेका थिए । मुद्दा प्रक्रियापछि घरमा बस्ने वातावरण नभएपछि पीडित महिला अहिले दुल्लू नगरपालिका–६ छिउडी गाउँस्थित माइतीमा बस्तै आएकी छिन् ।

प्रतिक्रिया