बहुविवाहको मुद्दामा २ वर्ष कैद

बहुविवाहको मुद्दामा २ वर्ष कैद

दैलेख, चैत ११ – नारायण नपा–७ जार्जेखोलाका २८ वर्षीय गणेशबहादुर खत्री र महाबु गाउँपालिका–६ रानीवनकी २१ वर्षीया सीताकुमारी खत्रीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही २ वर्ष कैद र पन्ध्र–पन्ध्र हजारका दरले जरिवाना गरेको छ ।
घरमा श्रीमति हुँदाहुँदै दोश्रो विवाह गरेको पुष्टी भएकोले जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट आरोपित दुबै जनालाई चैत ११ गते उक्त सजाय भएको दैलेख जिल्ला अदालतका प्रवक्ता नासु बिनोद आचार्यले जानकारी दिए ।
५ वर्ष अघि जेठी श्रीमति कल्पनाकुमारी थापासंग वैवाहिक सम्वन्धपछि ४ वर्षकी छोरी जन्मेको अवस्थामा ०७३ पुस २ गते दोश्रो विवाह गरेका भन्दै जेठी श्रीमतिले पुस ३ गते प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले सरकारी वकील कार्यालय मार्फत पुस १९ गते अदालतमा मुद्दा पेश गरेको थियो ।
सो मुद्दा प्रक्रियापछि घरमा बस्ने वातावरण नभएपछि पीडित महिला कल्पनाकुमारी थापा अहिले महाबु गाउँपालिका–२ बडाखोला गाउँस्थित माइतीमा बस्तै आएकी छिन् । दैलेखमा बहुविवाहको मुद्दा दिंदासाथ घरपरिवारको असहयोग भएको भन्दै सबैजसो जाहेरीवालीहरु माइतीमा बस्ने गरेका छन् ।

प्रतिक्रिया