दैलेखमा लोप हुँदै परम्परागत कोल

          |   प्रकाशित मितिः आइतवार, चैत्र १३, २०७३     ::: 752 पटक पढिएको   |  

दैलेख, चैत १३ । प्रविधिको विकाससंगै ग्रामिण भेगमा परम्परागत प्रविधिमा आधारित उखु, अमिलो र तोरी पेल्न प्रयोग हुँदै आएको कोल लोप हुन थालेको छ । विकाससँगै ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि दैलेखमा परम्परागत कोल लोप हुन थालेका हुन् ।
आधुनिक प्रविधिको प्रयोग र विकासले स्थानीय सामग्री लोप हुनुका साथै गाउँघरमा काठबाट हातले बनाइएका विभिन्न मेसिन यतिबेला हराउँदै गएका छन् । उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप भइसकेको छ । यसले गाउँको पहिचान नै मेटिँदै गएकोले बूढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् । करिब दुई दशकअगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्न मुस्किल परेको छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यी सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले बिस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिन थालेको छ ।
बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएको नौमूले गाउँपालिका ३ द्धारीका स्थानीयवासीको भनाई छ । केहि वर्ष अगाडि तेल र घिउमा आत्मनिर्भर मानिने दैलेख जिल्लामा तेलहन बालीको खेती गर्ने प्रचलनमा पनि कमी हुँदै गएको छ ।
कृषकहरुले विगतको वर्षहरुमा जस्तो तोरी वाली नलागाउनाले पनि दुर्गम भेगमा कोल लोप हुँदै गएको भगवतीमाई गाउँपालिका १ का भरतराज अधिकारी बताउँछन् । ‘किसानले सामान्यतया उत्पादन भएको तोरी नजिकका मिलमा लगेर पेल्न थालेका छन्’ अधिकारीले भने, ‘मिलमा जस्तो सजिलो नभएकाले पनि कोल प्रयोग हुन छाडेको हो ।’ गाउँमा खेती किसानी गर्ने यूवा पिडी विदेशिनुले पनि परम्परागत रुपमा गरिँदै आएका खेतीवाली पनि लोप हुन थालेको अधिकारीले बताए । ‘पहिला गाउँघरमा प्रशस्त मात्रामा तोरी, तिल, उखु, खेती गरिन्थ्यो’ उनले भने ‘अहिले त मान्छेले तेलबाली पनि लगाउन छोडे, कोल त हराइनै सके ।’
परम्परागत कोलबाट तोरी पेलेर निकालिएको शुद्घ तेल सुत्केरी महिला एवं नवजात शिशुको शरीरमा मालिस गर्नाले शरीर स्वस्थ हुँने र रोग पनि निको हुने विश्वास गरिन्छ । तर केही समय यता गाउँगाउँमा पाइने कोल अहिले भेटाउन मुस्किल परेको छ । हिउँदयाममा प्रायः फुर्सदिला हुने भएकाले गाउँभरिकै एउटा कोल भएकाले प्रत्येक परिवारले पालैपालो गरेर तेल पेल्ने चलन थियो । आजभोलि कोल पनि हराइसकेको छ, जलवायु परिवर्तनसँगै उब्जनी कम तथा बजारमा सजिलै किन्न मिल्ने गरेकाले यस्ता अमिलो पेल्ने कोल र उखु पेल्ने कोल पनि हराउँदै गएको द्धारी ३ का गोकुलबहादुर घर्ती बताउँछन् । ‘कोल प्रायः सामुदायिक हुन्थे, गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँदयाममा पालैपालो तेल, उखु र अमिलो पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै मानिस मिलेर ल्याउने गरिन्थ्यो’ उनले भने, ‘आज भोली प्रविधिको विससंगै ठाउँ ठाउँमा मिल भएकाले कोलको लोप भयो ।’
विगतमा जिल्लाभरि सयौँको संख्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । दुर्गम गाउँमा रहेका एक÷दुई कोल पनि बिस्तारै प्रयोगविहीन हुँदै गएका छन् । कोल लोप भएसँगै दैलेखका ग्रामिण वस्तीहरुमा तेलहन बालीको खेती लगाउनेको संख्या पनि घट्दै गएको छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम बढी लाग्ने र बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत हराउँदै गएको नौमूले गाउँपालिका ६ सल्लेरीका स्थानीय पदम सापकोटा वताउँछन् । उनले कोललाई नै प्रवद्र्धन गर्न वा तेल पेल्न आधुनिक प्रविधिमा आधारित उद्योग खोलिएकाले कोल लोप हँुदै गएको बताए । सापकोटाका अनुसार धान कुट्ने ढिकी, ओखल, मकै पिस्ने जाँतो पनि यहाँबाट लोप हँुदै गएका छन् । ढिकी, जाँतोको ठाउँमा आधुनिक मेसिन गाउँ–गाउँमा भित्रन थालेपछि स्थानीय सामग्री लोप भएको उनले बताए ।



Leave a comment

Your email address will not be published.


*