कांग्रेस र देउवाविरुद्ध सर्वोच्चमा मानहानि मुद्दा

कांग्रेस र देउवाविरुद्ध सर्वोच्चमा मानहानि मुद्दा

प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले ८ चैतमा गरेको फैसलाको विरोधमा कांग्रेस कार्यसमितिले निर्णय गरेको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले सर्वोच्च अदालतमा रिट दायर गरेको समाचारलाई आजका पत्रपत्रिकाले प्रमुखताका साथ छापेका छन् । राजधानी र नयाँ पत्रिकाले क्रमशः ‘कांग्रेस र सभापति देउवाविरुद्ध अवहेलना मुद्दा’ तथा ‘कांग्रेसविरुद्ध अदालतमा अवहेलना मुद्दा’ शीर्षक दिएर यो समाचारलाई मुखपृष्ठमै छापेका छन् । कान्तिपुर, गोरखापत्र, अन्नपूर्ण पोस्ट र नागरिकले चाहिँ भित्री पृष्ठमा स्थान दिएका छन् ।
रिट निवेदनको अंश उद्धृत गर्दै सर्वोच्चको पूर्ण इजलासबाट भएको आदेशमाथि टीकाटिप्पणी गरेर कांग्रेसले अदालतको अवहेलना गरेको कुरा समाचारमा उल्लेख छ ।

यो प्रकरणमा नेपाली कांग्रेसको भन्दा पनि सभापति देउवाको बढी चासो रहेको र उनकै दबाबमा कार्यसमितिले ‘अदालतको आदेशले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको नेपाली कांग्रेस महसुस गर्दछ’ भन्ने निर्णय गरेको कुरा यसअघि नै सञ्चारमाध्यममा आइसकेको हो ।
सबैजसो पत्रिकाको आशय छ, सर्वोच्चको फैसलाप्रति यस्तो निर्णय गर्नु नेपाली कांग्रेसजस्तो विधिको शासनमा विश्वास गर्ने लोकतान्त्रिक मूल्यसम्पन्न पार्टीका लागि सुहाउँदो कुरा होइन ।

नेपालको संविधानमा मुद्दा मामिलाका सम्बन्धमा सर्वोच्चले गरेको संविधान, कानुनको व्याख्या र प्रतिपादनलाई सबैले अनिवार्य पालन गर्नुपर्ने व्यवस्था रहेको कुरा स्वीकार गर्नुपर्ने विषय हो ।

प्रतिक्रिया