चुनावी मैदानमा होमिएका ५ पूर्व सभासदमध्ये २ मात्रै सफल

चुनावी मैदानमा होमिएका ५ पूर्व सभासदमध्ये २ मात्रै सफल

९ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नगरपालिका मेयर बन्न मैदानमा उत्रिएका चारजना पूर्वसभासदहरुमध्ये दुई जनाले बिजयको माला पहिरन सफल भएका छन् ।

भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदूर किसान पार्टीका पूर्वसभासद सुनिल प्रजापति करीव चार दोब्बर मतान्तरले बिजयी भए । उनले २५५६८ मत प्राप्त गरेर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ६५३२ मत प्राप्त गरे ।

०६४ को संविधानसभा चुनावमा नेपाल मजदूर किसान पार्टीबाट भक्तपुर क्षेत्र नम्बर २ को सभासद जितेका प्रजापति पार्टीको सचिव समेत हुन् । उनी ०७० को संविधानसभा चुनावमा सोही क्षेत्रबाट पराजित भएका थिए ।

यस्तै  सोमबार मध्यान्ह चितवनको खैरहनी नगरपालिकाको मतगणना सम्पन्न हुँदा एमालेका पूर्वसभासद लालमणी चौधरी खैरहनी १०७१७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र चौधरीले ९७३७ मत प्राप्त गरे ।

मेयरमा निर्वाचित चौधरी ०६४ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट सभासद निर्वाचित भएका थिए ।

उनले दोस्रो संविधानसभा चुनावमा पार्टी नेता सुरेन्द्र पाण्डेको लागि ठाउँ खाली गरिदिए । थारु बाहुल्य क्षेत्रबाट उनी मेयर निर्वाचित भए । पहिलो चरणको निर्वाचनमा मेयर जित्ने लालमणि एकमात्र थारु हुन् ।

मेयर बन्ने दौडमा रहेका माओवादी केन्द्रका पूर्वसभासद तारानारायण श्रेष्ठ भने असफल भए । रामेछापको मन्थली नगरपालिकाको मेयरमा उम्मेदवार बनेका श्रेष्ठ एमालेका रमेश बस्नेतसँग पराजितमात्र भएनन्,तेस्रो स्थानमा पुगे ।

माओवादी केन्द्रले ‘हेबी वेट’ नेतालाई उठाउँदा मन्थली नगरपालिकामा जित्न सकिने आँकलन गरेर अरु पार्टीभन्दा धेरै पहिले नै उनलाई उम्मेवार तय गरेको थियो । तर, श्रेष्ठले जित निकाल्न नसकेपछि फेसबुकबाटै जनताले परिवर्तनकारीलाई सजायँ दिएको भन्दै गुनासो गरेका छन् ।

गोरखा नगरपालिकाको मेयरमा उठेका नयाँ शक्ति पार्टीका नेता तथा पूर्व माओवादी सभासद ज्ञानेन्द्र कुमाल पनि प्रतिस्पर्धामा निकै पछाडि परेर पराजित भए ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी पूर्व सभासद कुमारी मोक्तानले भने कांग्रेसलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिइन् ।

एकजनाले चुनावअघि नै मैदान खाली गरेकी थिइन् भने एकजना पूर्वसभासद मेयरमा पराजित भएका छन् ।

 

प्रतिक्रिया