दुल्लुमा बन्ने भो कृषि क्याम्पस

दुल्लुमा बन्ने भो कृषि क्याम्पस

दैलेख, जेठ १२ । दैलेखको दुल्लु नगरपालिकामा कृषि तथा वन विज्ञान क्याम्पस बन्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको आंगिक क्याम्पसका रुपमा दुल्लु नगरपालिकाको वडा नम्बर १३ स्थित विनायकमा क्याम्पस बनाउने तयारी सुरु भएको हो । सरकारले चालु आर्थिक वर्षमा क्याम्पसका लागि सम्भाव्यता अध्यान गर्न बजेट विनियोजन गरेको थियो ।dullu
क्याम्पसको पूर्व सम्भाव्यता गर्न दुल्लु पगेको एक अध्यायन टोलीले स्थलगत अध्यायन गरिसकेको छ । कृषि तथा वन विज्ञान विभागका प्रा.डा अरविन्द श्रीवास्तव, सोही विभागका स. प्रा. डा अर्जुनकुमार श्रेष्ठ, शिक्षा मन्त्रालयका भीम प्रसाद घिमिरे र विश्व विद्यालय अनुदान आयोगकी उषा प्याकुरेलको टोलीले विनायक पुगेर स्थलगत अनुगमन गरेको हो ।
क्याम्पस स्थापनाका लागि आवश्यक पर्ने ४ वटा आधार विनायकमा रहेकाले क्याम्पस जसरी पनि बनाइने दुल्लु नपाका नवनिर्वाचित मेयर घनश्याम भण्डारीले बताए । उनले जग्गा, स्वास्थ्य, पानी र जसंख्यालाई आधार मानिएको भन्दै विनायकमा यी सबै आधार रहेको बताए । क्याम्पसका लागि स्थानीयवासि तथा नेपाली काँग्रेस दैलेखका जिल्ला कार्य समिति सदस्य किरण भण्डारीले १ सय रोपनी जग्गा दान गर्न तयारी रहेको बताएका छन् । उनले क्याम्पसका लागि आवश्यक पर्ने सहयोग स्थानीयले जुटाउने प्रतिवद्धतासमेत गरेका छन् ।
मेयर भण्डारीले क्याम्पस स्थापनाका लागि दुल्लु नगरपालिका र आफूले सकेसम्मको पहल तथा सहयोग गर्ने बताए । उनले क्याम्पस स्थापना गर्नु आफ्नो एक सपना भएको बताए ।
स्थलगत अध्यायनपछि अध्यायन टोलीले दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुसँग पनि छलफल गरेको थियो । छलफलका क्रममा अध्यायन टोलीले क्याम्पस स्थापनाका लागि आवश्यक पर्ने पूर्वाधार विनायकमा रहेको भन्दै क्याम्पस स्थापना हुनुपर्नेमा जोड दिएको थियो । टोलीले आफ्नो प्रतिवेदनले मात्र क्याम्पस स्थापना नहुने भन्दै उच्च तहमा पहल पनि हुनुपर्ने बताएको थियाृे । मेयर भण्डारीले उच्च तहमा पहल गर्न आफू लागि परेकोसमेत बताएका थिए ।
दुल्लुमा यो क्याम्पस स्थापना भए दैलेखसँगै पश्चिम क्षेत्रका विद्यार्थीले कृषि तथा वन विज्ञान शिक्षामा पहुँच पाउने छन् । देशको पश्चिम क्षेत्रमा कृषि तथा वन विज्ञान सम्बन्धि क्याम्पस छैनन् । दुल्लुमा यो क्याम्पस बनेमा यस क्षेत्रले शिक्षाका क्षेत्रमा उल्लेख्य फड्को मार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया