संकल्पको मतदाता शिक्षा अभियान

संकल्पको मतदाता शिक्षा अभियान

दैलेख, मंसिर १४ – शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी सञ्जाल (संकल्प) र दलित महिला संघ दैलेखले यूएसएडको सहयोगमा दुल्लू क्षेत्रका साविकका ५ गाविसमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
दुल्लू, गमौडी पादुका, बडलम्जी र भैरीकालिकाथुममा १५ जना महिला मतदाता शिक्षा सहजकर्ता परिचालन गरी मताधिकारको महत्व र मतदान प्रणालीका विषयमा सर्वसाधारण महिलालाई सचेतना दिइरहेको छ ।
यस क्रममा दुल्लूको पटांगिनीमा आज नमूना मतदान गराइएको सहजकर्ता दीपा थापाले जानकारी दिइन् । यसैगरी धुलेश्वर माविका बालबालिकाले चगत्रा बजार र बडलम्जीको मुस्लिम बस्तीमा मतदान महादान सडक नाटक प्रदर्शशन गरेका छन् ।
पुस्कर उपाध्याय, मनिषा उपाध्याय, अर्जुन सार्की, टेकराज जैसी, शोभा आचार्य, मञ्जू आचार्य र महेश थापाले अभिनय गरेका थिए ।
मदरासा कादरिया ओमदिना आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले बालबालिकाले प्रदर्शन गरेको नाटकले सर्वसाधारणलाई अभिमुखीकरण गराउन भौलिक र प्रभावकारी भएको बताए ।

प्रतिक्रिया