सहज रुपमा सूचना नपाएको गुनासो

सहज रुपमा सूचना नपाएको गुनासो


दैलेख जिल्लामा क्रियाशिल पत्रकारहरुले भने अनुसारको सुचना नपाइएको गुनासो गरेका छन् । जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले सहज रुपमा सुचना दिन हिचकिचावट गरेको गुनासो दैलेखका पत्रकारहरुले गरेका हुन्् । नेपाल पत्रकार महासंघ दैलेख द्धारा आयोजित जिल्लामा सूचनाको हक, संरक्षण सम्बद्र्धन र प्रचलन सम्बन्धी एक दिने गोष्ठिमा दैलेखका पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।
राज्य संघिय संरचनामा गई स्थानीय तहको निर्वाचन भएको ९ महिना वितिसक्दा पनि दैलेखमा कुनै पनि स्थानीय तहहरुले गरेका गतिविधिहरुलाई सार्वजनिक नगरेको पत्रकारहरुले गुनासो गरेका छन् । कार्यक्रमका पत्रकारहरुले स्थानीय तहको निर्वाचन पश्चात पहिलो पटक भएको गाउँ तथा नगर सभाबाट पारित निती तथा कार्यक्रमहरु स्थानीय तहका प्रमुख उपप्रमुखहरुले दिन आनाकानी गरेको बताएका छन् ।
पत्रकारहरुले दैलेख जिल्लामा अझै पनि सूचना लुकाउने समस्या कायमै रहेको गुनासो गरेका छन् । अहिले बनेका नयाँ गाउँपालिका तथा नगरपालिकाहरुले संचालन गरेका विकास निर्माणका गतिविधीहरुको लागत, संचालन मिति र समापन मिति स्पष्ट देखिने गरि योजना संचालन स्थलमा नराखेको पत्रकार विशाल सुनारले गुनासो गरे ।
पत्रकारहले पहिलो संविधान सभा र दोस्रो संविधान सभामा दैलेख बाट विजयी भएका सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बारेमा हाल सम्म पनि कुनै पनि सूचना सार्वजनिक नगरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि कती रकम आयो, कहाँ कहाँ कसरी खर्च भयो भन्ने सबै नागरिकहरुले जानकारी नपाएको पत्रकारहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले सरकारी निकायहरुले कुनै पनि सूचनाहरु लुकाउन नमिल्ने बताए । उनले सरकारी कार्यालय र सरकारी कार्यालयका कर्मचारीहरुले गरेको कार्यक्रम र विकास गतिविधीहरुको बारेमा स्थानीय नागरिकहरुलाई जानकारी गराउन आग्रह गरेका छन् । शर्माले सरकारी तथा गैसस बाट संचालित विकास गतिविधि लगाएतका क्रियाकलापहरुको बारेमा पत्रकारले मागेको खण्डमा सूचना उपलब्ध गराउन दैलेखका कार्यालय प्रमुखहरुलाई आग्रह गरेका छन् ।
यस्तै प्रदेश सभा सदस्य अम्मर बहादुर थापाले राज्यले निर्माण गरेको सूचनाको हक सम्बन्धि कानुनको पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले विशेष खालको निति अबलम्बन गर्ने बताए ।
प्रदेश सभा सदस्य शुशिल कुमार थापाले सरकारी निकायहरुबाट भएका कामहरुको बारेमा जानकारी पाउनु नागरिकहरुको अधिकार भएको बताउदै कुनै पनि नागरिकहरुलाई सूचना उपलब्ध गराउनका लागि आनाकानी नगर्न सरकारी कार्यालयका प्रमुखहरुलाई आग्रह गरेका छन् ।
यसैगरि प्रदेश सभा सदस्य राज बहादुर शाहीले सरकारी कार्यालय र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सुचना लुकाउन नमिल्ने बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सुचना दिनमा काँही कतै कुनै पनि कार्यालयले आनाकानी गरे तत्काल आफुलाई खवर गर्न अनुरोध गरेका छन् । सुचना पत्रकारलाई मात्र नभएर आम नागरिकले पनि पाउनुपर्ने भन्दै उनले दिन मिल्ने सुचना सहज रुपमा उपलब्ध गराउन बिभिन्न सरोकार राख्ने कार्यालयलाई निर्देशन दिएका छन् ।
नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले नगरपालिकाले गरेको विकास गतिविधी लगाएतका कार्यक्रमहरुको बारे सूचना अधिकारी मार्फत सचना दिने गरेको बताए ।
बिशेष गरी स्थानीय तहमा सुचना लुकाउने काम भइरहेको पत्रकारहरुको गुनासो थियो । पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले सुचनालाई सहज बनाउनका लागी सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताएका छन् । उनले जिल्लाका सरकारी कार्यालयहरुबाट सुचनाको कुनै पनि कन्जुस्याँइ नगर्न कार्यालय प्रमुखहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया