बालबिवाह गर्नेले विद्यालयबाट सेवा सुविधा नपाउने

बालबिवाह गर्नेले विद्यालयबाट सेवा सुविधा नपाउने

सुर्खेत-बढ्दो बालबिवाह न्यूनिकरणका लागि बालबिवाह गर्ने बालबालिकाहरूलाई विद्यालयबाट प्रदान गरिने सेवासुविधाबाट बञ्चित गर्ने भएको छ।

जनज्ञान भण्डार माध्यमिक विद्यालय मालारानीमा अध्ययनरत विद्यार्थीहरूमा बढदो बालबिवाह हुने गरेको पाईएपछि विद्यालयले बालबिवाह गर्नेलाई विद्यालयबाट प्रदान गरिने सेवासुविधाबाट बञ्चित गर्ने भएको हो।

बालविवाह गर्ने विद्यार्थीहरूलाई छात्रावृति र पाठयपुस्तक उपलब्ध गराउने लगायतका सेवासुविधाबाट बञ्चित गर्ने निर्णय गरिएको हो।

विद्यालयले आगामी फागुन महिनामा बालविवाह गर्ने बालबालिका, उनीहरूका अभिभावक, बालअधिकार चेतना समुहका पदाधिकारी र अन्य विद्यार्थीहरूको सहभागितामा बालविवाहविरुद्ध अभियान थाल्ने बताइएको छ।

समयमा विद्यालय नआउने, पुरा समय अध्यापन नगराउने शिक्षक/शिक्षिकाहरूलाई विव्यसले कारवाहीको दायरामा ल्याउन सिफारिस गर्ने र विद्यार्थीहरूले कक्षा छोडने प्रवृतिलाई न्युनिकरण गर्न दिनमा दुईपटक हाजिरी लगाउने निर्णय गरिएको जनाइएको छ ।

बढदो बालविवाहसँगै सो माविको शिक्षाको गुणस्तर खस्कदै गएको र विद्यालयको शैक्षिक वातावरण धुमलिदै गएकोले यस्तो निर्णय गरिएको सो माविका प्राधानाध्यापक चन्द्रनारायण चौधरीले बताए । सो माविमा यसवर्ष मात्रै बालविवाह गरेका कक्षा १० मा १०, नौ मा ४, आठमा १०, सातमा २ र ६ मा ५ जना गरी २७ जना अध्ययनरत छन्।

बैठकमा गुर्भाकोट नगरपालिका २ का वडाध्यक्ष नोखबहादुर वली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसीले बढ्दो बालविवाह, शिक्षकहरूको लापरवाही, अभिभावकहरूको वेवास्ता तथा विद्यार्थीहरूले कक्षा छोडने प्रवृतिका कारण विद्यालयकोे शिक्षाको गुणस्तर वर्षेनी खस्कदै गएको बताए।

स्थानीय निकायका जनप्रतिनिधी, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधी, विव्यसका पदाधिकारी, अभिभावक, मानवअधिकार निगरानी समुह मालारानीका पदाधिकारी, शिक्षकशिक्षिका, बालअधिकार चेतना समुहको पदाधिकारी र अन्य विद्यार्थीहरूले बालविवाह विरुद्ध लाग्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया