राराको चिठी राधालाई

          |   प्रकाशित मितिः बुधबार, माघ ३, २०७४     ::: 422 पटक पढिएको   |  

के तिमी म शोषिएको, बलात्कारमा परेको हेर्न चाहन्छौ ?

राधा पौडेल

राधा, म तिमीसँग पनि खुब खुनसिएकी थिएँ । किन पठाएकी त्यतिका मान्छे ? किन भनेकी म सुन्दर छु, मनमोहक छु, निश्चल छु भनेर ?

तिम्रो नाम लिई—लिई सोध्छन् तर मसँग कुनै जवाफ छैन । मलाई सुनाउने अभिप्राय राखेर नजिकै तर ढाड फर्काएर कुरा काटिरहन्छन् । राधाले कवितामा के के भनेकी छ तर सब झुट ।

जुम्ला र कालिकोटको सिमाना नग्मासम्म साँघुरै भए पनि पिच गरेको बाटो छ। त्यसपछि बाटो साँघुरो, उखडखाबड छ । मोटरसाइकलमा आउनेलाई धुलोले चिन्नै सकिन्न । बाटोमा खेलेका बच्चाहरु, महिलाहरु देखेर स्पष्ट हुन सकिन्छ कि धनीहरुले कर्णाली नै तरिसके । अब फर्कने झिनो आस पनि मरिसकेको छ ।

रहेबचेकाहरुको जीवन अस्तव्यस्त छ अर्थात् पढाइसँग प्रेम छैन, पानीसँग सम्बन्ध विच्छेद । यस्तो लाग्छ कि महिलाहरु गधा हुन्, के हिउँद, के बर्खा ? एक तमासले काम गरिरहन्छन् ।

उनीहरुको सम्बन्ध न बाटो न स्कुल न अरु विकाससँग छ। आमा समूहमा अनुगमन भएका दिन सजिएर देउडा गाउन पाउनु नै उनका लागि शसक्तिकरण वा परिवर्तन हो ।

उनीहरु गौरवले भन्छन्— हामीन, जुम्लाका ख्वाइनी मन्ठा मत्थई नाम्मा र खुशी हुँदा । (हामी जुम्लाका महिलाहरु असाध्यै राम्रा र खुसी छौँ ।)

राधा, तिम्रा साथीहरु यसरी प्रमाण जुटार्इ जुटार्इ आफ्नो भाषामा कुरा गर्छन् । यति ढुक्कले गर्छन् कि मानौँ म उनीहरुको भाषा बुझ्नै सक्दिनँ ।

म आफ्नै स्वतन्त्र जिन्दगी जिउन चाहन्छु । स्वाभिमान लिएर बाँच्न चाहन्छु । कृपा गर राधा, कसैलाई मलाई भेट्न जाऊँ नभन ।

काठमाडौं वा नेपालगन्जबाट मकहाँ पुग्न, जुनसुकै यातायातको साधन प्रयोग गरे पनि पटक्कै सजिलो छैन । महँगो, अप्ठेरो र समय पनि धेरै लाग्ने। जहाज न सजिलै पाइन्छ, न सस्तो छ । बस न पुग्ने, न बच्ने ग्यारेन्टी ।

जुन पायो त्यही मोटरसाइकल र जो पायो त्यही व्यक्तिले आँट्ने कुरै भएन । विदेशी भयो भने त झनै सकस । जहाजको भाडा दोब्बर, बाटो घाटोमा पैसा मागेर गाडीमा झुन्डिएर हैरान ।

राधा, मैले सबै कुरा नभने तिमीले म बैरागिएको कुरा बुझ्दिनौ । भनूँ, के मात्रै भनूँ ? कति मात्रै भनु ? चुपचाप यो सब चालामाला देख्दा म मेरै जन्मप्रति खेद मान्न विवश छु ।

तिमीले किन दुःख दिएकी ? कुनै बेला म यति धेरै रिसाएकी थिएँ कि कुरै नगर। उनीहरुलाई बाजुरा, हुम्ला हुँदै आउन वा खलंगा (जुम्ला) भएर डाँफेलेक हुँदै आउन वा नग्मा हुँदै आउन पटक्कै दुःख हैन । दुःख त केवल त्यो हो, जहाँ उनीहरु भोकाएका बेला ढुक्कले टन्न खान पाउँदैनन् । थाकेका बेला मज्जाले सुत्न पाउँदैनन् । होटेल नाम मात्रका होटेल । मकहाँ आइपुग्दा राधा, पाँचमा चारजना त बिरामी, त्यो पनि पखला लागेको हुन्छ ।

मैले त के थाहा पाउँछु र ? उनीहरुकै पिर—पीडा शिल परेर खिल बनेको छ राधा । कल्लाई सुनाऊँ, कल्ले सुन्छ मलाई । बिन्ती छ, मेरो बारेमा एकल कविता वाचन नगर, बिन्ती ।

बाटोमा होटेल राम्रो भएनन्, नजानेर होला भनौला तर मेरै समीपका होटेल के भएका ? पैसो भने टन्नै तिर्नुपर्छ, सेवा भने केही छैन । कोठा सिकसिको छ । सबै कुरा भन्न पनि दिक्क लाग्ने ।

तिमी नै भन राधा, माहिनावारी भएको बेला लगाएको प्याड देखीदेखी कसरी गएर बस्न सकिन्छ ? मै भए पनि सक्दिनथेँ, झन् उनीहरु त थाकेर, लोत परेर आउँछन् रम्न, खुशी हुन, जिन्दगीलाई नयाँ उचाइ दिन आएकाहरु ।

तिमी आफै हेर न, सजिलै समाधान गर्न सकिने काम पनि नगरिदिएर म वाक्क भएको छु । मदिरासेवन गर्ने, रातभर हल्ला गर्ने, गीत गाउनेको लागि छुट्टै व्यवस्था गर्न के गाह्रो छ र ? सफा भान्सा, भान्सामा काम गर्नेको मिजासिलो व्यवहार, तातो चिसो पानी, पिरो—नपिरो खाना, ढोकामा जाली, कुर्सी टेबल भए त पुगिहाल्यो नि । पैसा तिरेर दुई गाँस भात खान पनि युद्द जितेसरह हुन्छ ।

राधा, तिमीलाई लाग्दो हो म तिम्रो पहिलो भेटमाजस्तो हुन पाऊँ । हैन, मलाई त विक्रम संवत् २०२० भन्दा अघिको जीवन खुशी र रमाइलो लागेको छ ।

म आफ्नै स्वतन्त्र जिन्दगी जिउन चाहन्छु । स्वाभिमान लिएर बाँच्न चाहन्छु । कृपा गर राधा, कसैलाई मलाई भेट्न जाऊँ नभन । के तिमी म शोसिएको, बलात्कारमा परेको हेर्न चाहन्छौ ? हेर तिमीले पठाएका मान्छेले आफूलाई नै धोका दिइरहेका छन् । त्यो उनीहरुको बाध्यता पनि हो । मेरो छेउ—छेउ आएर मलाई झुक्याएर, छोएर, उफ्रेर फोटो खिचेर मुहार पुस्तिकामा फोटो हाल्ने त फेशन हो । देखाउनै भए नि त्यति त गर्छन् नै। तर के पक्का हो भने तिनीहरु कहिल्यै फर्किने छैनन् किनभने तिनीहरु तिमीजस्ता मूर्ख र एकोहोरो छैनन् । अब तिमीले पनि सोच्ने बेला आएको छ, भावनाले हुँदैन राधा।

तिमी आफै गन त, तिमी आइकन कतिवटा सम्मेलन भए, मेरो नाममा ? अहिले त स्थानीय सरकार पनि आएको छ। तर मेरो बारेमा न काठमाडौं, न कर्णाली, न गमगडी, न त विदेश । कोही कसैले पनि मलाई सम्मानपूर्वक बाँच्न दिएनन् । मलाई दोहन मात्र गरिरहे ।

गमगडी नगरपालिकाको सीमा छिर्नेबितिक्कै कर तिर्नुपर्छ । विदेशीले त झनै तिरेको तिर्यै । तर सट्टामा के पाउँछन् कुन्नि ? विकासका नाममा जंगल फाँडेर केही छैन । जंगल, खोल्साभरि चाउचाउ, दालमोठ, कोक, रेड बुल, गुड्का आदिका बोक्रा र बोतल बग्रेल्ती देखिन्छन् ।

तिमीले २०६० सालमा देखेको मिलिचौर अहिले त फोहोर बिसर्जन क्षेत्रजस्तो भएको मैले त सुनेको मात्र हो, तिमीले त देखेकी हौली नि । हुँदाहुँदा रेडबुलको बोतल र चाउचाउको खोल मैसँगै पौडिएर खेल्छन् । अनि मेरा नौनारी गलेर आउँछन् । के मेरो अस्मिता जोगिएको छ ? कस्ले दिन्छ मलाई न्याय ?

त्यति मात्रै कहाँ हो र राधा ? खत्याड जानेतिर छङ्छङ् गर्दै तिमीलाई कति स्नेहले स्वागत गरेको थिएँ । तिमीले मलाई पहिलो स्पर्श गरेको त्यहीँ हैन र ? सुन त, तिमीलाई त्यो काठको पुल राम्रो लाग्यो कि अहिलेको अजंगको फलामको पुल ? एकदम अर्गानिक भएर बाँच्न चाहने मेरो अधिकार हनन भएन र ? तिम्रो भाषामा त यो भ्रष्टाचार पनि भयो होला, हैन ? ती फलामका टुक्रा यहाँ आइपुग्न र जोडिन पैसोमै बोकिए पनि कति सास्ती भयो होला ।

यिनै पिरैपिरमा म त दुब्लाउँदै जान थालेको छु । झन् वरपरका रुख ढलेर मैमाथि सुतेका छन् । कुहिएर मेरो रुप र रङ मात्र बिगारेनन्, तिमीलाई पनि खिन्न पारिरहेका छन् ।

नेता, विकासे, देशी, विदेशी जो आए पनि कसैले मलाई केही गर्नेवाला छैनन् । यही पिरले म एकदम निसासिएको छु, उदास भएको छु । त्यसैले कसैसँग संगत गर्न मन छैन । तिमी जुम्लाको सन्निगाउँमा दुर्घटना भएपछि पनि मलाई भेट्न आएकी रहिछौ तर मैले त पत्तो नै पाइनँ । तिमी यसपालि चाँडै पनि फर्कियौ भन्ने खबर तिम्रो बैनीले भनेर पो थाहा पाएँ । तिम्रो चित्त दुःखाएकोमा दुःखी छु । छिट्टै सन्चो भएर मलाई भेट्न एक्लै आउनु, अनि पेटभरि कुरा काटुँला।

अहिलेलाई यति नै
तिम्रो प्यारी अप्सरा
तिम्रो प्यारी रारा



Leave a comment

Your email address will not be published.


*