व्यवसायीको हितका लागि निष्पक्ष रुपमा काम गर्छु- बि.क.

व्यवसायीको हितका लागि निष्पक्ष रुपमा काम गर्छु- बि.क.

दैलेख, फागुन ११ – दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले समग्र व्यापारी तथा व्यवसायीको हित र उपभोक्ताका अधिकारका निम्ति आफूले निष्पक्ष रुपमा काम गर्ने बताएका छन् । सिल्पी जागरण अभियानले दैलेख सदरमुकाममा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो विचार राखेका हुन् ।


अध्यक्ष बिकले आफू दलित समुदायको व्यक्ति भए पनि समग्र व्यापारीको नेताको रुपमा निर्वाचित भएकोले सबै व्यापारीको हित र व्यापार प्रवद्र्धन गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको प्रष्ट पारे । दलित समुदायले शिक्षा र आर्थिक उपार्जनमा बढी ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
एक प्रसंगमा आफू दलित समुदायकै व्यक्ति भएको कारण प्रतिद्वन्द्वी समूहले आवश्यकता भन्दा बढी चुनावी घेरावन्दीमा पारेको उनले बताए । यद्यपि अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार नरेन्द्र थापाले देखाएको सद्भावको अध्यक्ष बिकले प्रशंसा गरे ।
कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष यामबहादुर मल्लले कुलबहादुर बिकले जित्दा दलित समुदायको हौसला बढेकोमा आफूलाई सन्तुष्टी लागेको बताए । त्यसबखत नारायण नगरपालिका वडा नं. ३ का वडासदस्य हर्कबहादुर नेपालीले दलित समुदायको उत्थानका कार्यक्रम ल्याउन दैलेख उद्योग बाणिज्य संघलाई सुझाव दिए ।
सिल्पी जागरण अभियानका संयोजक बखत नेपालीको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा स्वागत मन्तव्य टेकबहादुर नेपाली र कार्यक्रम संचालन मोतिसागर परियारले गरेका थिए । त्यसबखत दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई टीका र खादा पहिराएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया