स्वास्थ्यको जिम्मा स्थानीय तहलाई

स्वास्थ्यको जिम्मा स्थानीय तहलाई



दैलेख फागुन १३-दैलेखका ६५ वटा स्वास्थ्य संस्थाहरू स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा संचालित प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, शहरी स्वास्थ्य केन्द्रहरू सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. शोभित थापाले जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा संचालन भएका ६५ वटा स्वास्थ्य संस्थाहरू ११ वटा स्थानीय तहमध्ये ७ गाउँपालिकालाई र ४ नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, आठविस नगरपालिका, गुँरास गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका, महावु गाउँपालिका, भैरवी गाउँपालिका र ठाँटीकाँध गाउँपालिका गरी ६५ वटा स्वास्थ्य संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको डा. शोभित थापाले बताए । नौमूले प्राथमिक स्वास्थ्य केन्द्र र र लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि स्थानीय तहको मातहतमा संचालन हुने गरि हस्तान्तरण गरिएको थापाले बताए । नारायण नगरपालिका दैलेखमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेख र दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पताल स्थानीय निकायलाई हस्तान्तरण गर्न बाँकी छन् ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेख द्धारा आयोजित स्थानीय तहका स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण कार्यक्रममा क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक रिता भण्डारी जोशीले स्वस्थ्य र समृद्ध स्थानीय तह निर्माणको जिम्मा जनप्रतिनीधिहरुको भएको बताइन् । उनले स्थानीय तहमा नागरिकहरुको स्वास्थ्यमा सहज पहुँचका लागि स्थानीय तहहरुले विशेष खालको भूमिका खेल्नुपर्ने बताउदै गाँउ तथा नगर भित्रका स्वास्थ्य इकाईहरु सु–व्यवस्थित ढंगबाट संचालन गर्न आग्रह गरिन् । उनले स्थानीय तहहरुलाई औषधी खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख संग समन्वय गरि औषधी खरिद प्रक्रिया अगाडी बढाउन सुझाव दिएकी छिन् । जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले स्वास्थ्य जस्तो संवेदनशिल विषय स्थानीय तहलाई हस्तान्तण गरिएको बताउदै नागरिकहरुको स्वास्थ्यमा खेलवाड नगर्न स्थानीय तहहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया