भ्रमणमा बजेट खर्च गर्दैनौ – शाही

भ्रमणमा बजेट खर्च गर्दैनौ – शाही

 

दैलेख चैत्र ६-चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले भ्रमणमा बजेट खर्च नगर्ने बताएका छन् । भ्रमण गरेर देखेका कुरा व्यवहारमा लागु हुदैनन् भने भ्रमण गर्नुको कुनै औचित्य नभएको शाहीको भनाई थियो ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्रको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाले आयोजना गरेको परियोजना अभिमुखिकरण कार्यक्रममा “भ्रमणले” फजुल खर्च मात्रै बढाउने शाहीले बताए । उनले थपे, साथीहरु नैनी ताल र रारा भ्रमणको प्रस्ताव ल्याउनु हुन्छ । मैले भनेको छु रारा र नैनिताल हेरेर तपाईहरु फर्केपछि गाउँमा के गर्नुहुन्छ ? तपाईहरु कृषि भ्रमणमा जानुहोस । सिकेका कुरा प्रयोग गरी आत्मनिर्भर बन्नुहोस, म सहयोग गर्न तयार छु । भ्रमणमा सिकेको कुरा व्यवहार मा प्रयोग नगरे भएको सबै खर्च तिर्ने सम्झौता गरेपछि भ्रमण गर्न सकिने उनको भनाई थियो ।
नगरपालिकामा कार्यरत सबै संघ संस्थाहरुलाई देखिने गरी विकास गर्न शाहीले आग्रह गरेका छन् । उनले थपे, चार वर्षमा महिला, दलित, जनजाति र बालबालिकाको क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउन सक्नेलाई नगरपालिका जतिपनि सहयोग गर्न तयार छ । नगरपालिकाका कम्तिमा ५० जना महिला आत्मनिर्भर बन्ने कार्यक्रम तयार होस । त्यसैगरी शैक्षिक गुणस्तरमा बृद्धि, बालबालिकाको क्षमता विकास र बाल संरक्षणमा सुधार होस । नतिजाविनाको लगानीले नगरपालिकामा व्ययभार मात्रै थप्ने भएको हुदाँ यस्तो कार्य नगर्न शाहीले अनुरोध गरेका थिए ।
विद्यालयहरुमा शैक्षिक सुधार हुन नसकेकोमा उनले दुःख व्यक्त गरे । राज्यको यती धेरै लगानी शिक्षा क्षेत्रमा छ । नगरपालिकामै काम गर्ने गरी विद्यालय निरिक्षक र श्रोत व्यक्तिको व्यवस्था गरिएको छ । तर पनि विद्यालयमा शैक्षिक गुणस्तर आउन सकेको छैन् ।
परिचयपत्र विहिन अपाँगता भएका बालबालिकाहरुलाई परिचय पत्रको व्यवस्था र स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिविर राख्ने योजना रहेको उनले बताए । अपाँगता भएका व्यक्तिले परिचय पत्र पाउनु उसको अधिकार भएको बताउदै शाहीले भने आफ्नो नगरपालिकामा परिचयपत्र विहिन अपाँगता भएका व्यक्तिहरु कोही पनि हुने छैन्न । सबैले परिचयपत्र प्राप्त गर्ने व्यवस्था गरिनेछ । अभिमुखिकरण कार्यक्रममा सहयात्रा परियोजनाका बाल संरक्षण अधिकृत निर्मल अधिकारी र शिक्षा अधिकृत मोहन प्रसाद पौड्यालले वर्ष भरी उक्त नगरपालिकामा सञ्चालन गरिने बजेट तथा कार्यक्रमको बारेमा जानकारी गरेका थिए ।

प्रतिक्रिया