आजबाट एसईई, नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ परीक्षार्थी सहभागी हुँदै

आजबाट एसईई, नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ ।  आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा ९एसईई० सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदैछन् ।  जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् । प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

यसवर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थीेले परीक्षा दिनेछन् । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षाका सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । ‘प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगिसकेको छ,’ उनले भने, ‘केन्द्राध्यक्ष, निरीक्षकलगायत सुरक्षाकर्मीको प्रबन्ध मिलाइसकेका छौं ।’ परीक्षालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन उनले सरोकारवालासँग आग्रह गरे ।

शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खल पुग्ने काम जो कोहीले गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । परीक्षाको अनुगमन गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कुनै पनि मनोवैज्ञानिक त्रास नपाली परीक्षामा सहभागी हुन अपिल गरे । १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले ग्रेड पद्धतिमा नम्बर पाउनेछन् । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । आगामी वर्षदेखि प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्ने तयारी पनि सुरु भएको छ । एसईई उत्तीर्ण हुने विद्यार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पढ्न पाउनेछन् ।

प्रतिक्रिया