पढ्ने पढाउने सबैको लापरवाही

पढ्ने पढाउने सबैको लापरवाही

दैलेख, चैत २० – बोडिङ्ग स्कूलमा पढ्न पठाउनेहरु हुर्केकै बालबालिकालाई पनि विहान विद्यालयसम्म पु¥याउन र विद्यालय बन्द हुने समयमा लिन जाने सबैजसो अभिभावकले गर्छन् । तर सरकारी विद्यालयमा पठाइएका बालबालिकालाई न कोही पु¥याउन जान्छन् न त लिन नै, यस्तो प्रबृतिले सरकारी विद्यालयको पढाई खस्कँदै गएको छ ।
दैलेखको डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरस्थित देबीस्थान आधारभूत विद्यालयको पढाईको हालत पनि यस्तै भएको छ । ‘कक्षा ८ सम्म पढाई हुने विद्यालयमा अभिभावक पनि वेवास्ता गर्छन् अनि बालबालिकाहरु पनि साह्रै लापरवाह छन्’ विद्यालयका प्रधानाध्यापक मोहन खत्रीले भने ।
इन्सेकको इएलपी कार्यक्रमको आयोजनामा विद्यालयमा आज भएको विद्यार्थी र विद्यालय सवाल कार्यक्रममा अभिभावक, विद्यार्थी र सरोकारवाला सबै संगै अन्तरक्रिया गर्ने क्रममा प्रधानाध्यापक खत्रीले त्यस्तो असन्तुष्टी पोखे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीप्रसाद आचार्यले बजारमा मिश्रित समाजबाट आएका हुनाले गुणस्तरमा सबैले वेवास्ता गरेको बताए ।


कक्षा ८ का विद्यार्थी राजेश शाहीले विद्यालय घेरबार नभएको शौचालय व्यवस्थित नभएको, कम्प्यूटर विषय प्रयोगात्मक अभ्यास नभएको गुनासो सुनाए । कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार, मानवअधिकार निगरानी समूहका सदस्य अमृत भण्डारी, देबीस्थान बालअधिकार चेतना समूहकी अध्यक्ष सुनिता शाहीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका उपाय बारे बोले ।
विद्यार्थी र विद्यालय सवाल विषयमा उठेका विषयलाई व्यापक अभिभावक भेलाबाट समाधान निकाल्ने उद्देश्यले चैत २० गते विद्यार्थी भर्ना अभियान कार्यक्रम गर्ने निर्णय गरिएको इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता उदय थापाले जानकारी दिए ।

प्रतिक्रिया