बाल हेल्पलाइनमा बस्दै आएका बालकलाई अभिभावकको जिम्मा लगाइयो

बाल हेल्पलाइनमा बस्दै आएका बालकलाई अभिभावकको जिम्मा लगाइयो

दैलेख चैत्र २१ –गुरासँ गाउँपालिका वडा नं. १ का सन्तोष सुनारलाई अभिभावकको जिम्मा लगाइएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि सुनारलाई उनका बाबु मान बहादुर सुनारको जिम्मा लगाइएको हो । २०७३ देखि केन्द्रिय बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय दैलेख, जिल्ला बाल कल्याण समितिको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठ) मा बस्दै आएका एक बालकलाई अभिभावकको जिम्मा लगाइएको हो ।
गुरासँ गाउँपालिका वडा नं. ५ गोगनपानीका ९ बर्षिया सन्तोष सुनारलाई अभिभावकको जिम्मा लगाइएको हो । बुधवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको हलमा आयोजित पारिवारिक पुर्नमिलन कार्यक्रममा बालक सन्तोष सुनारलाई उनका बुबा मान बहादुर सुनारको जिम्मा लगाइएको हो । एक बर्ष अगाडी तल्लो डुङ्गेश्वरमा वेवारिसे अवस्थामा रहेका बालकलाई उद्धार गरि बाल हेल्पलाईमा ल्याइएको थियो । उद्धार पश्चात उनलाई दैलेख सदरमुकाममा रहेको सनराइज बोडिङ्ग स्कुलमा पढाउदै आइएको थियो ।


सनराइज बोडिङ्ग स्कुलले बालक सन्तोष सुनारलाई निशुल्क पढाउदै आएको थियो । उनि कक्षा १ मा पढ्दै आएका थिए । बाल हेल्पाइनमा बसेर सनराइज बोडिङ्ग स्कुलमा पढ्दै आएका बालक सन्तोषको पढाईको स्तर राम्रो रहेको स्कुलका सस्थापक एंव जिल्ला समन्वय समिति दैलेखका सदस्य समेत रहेका बाल कृष्ण केसीले बताए । बाल हेल्पाइनमा बसेर पढ्दै आएका बालक सन्तोषको बाबुको खोजी गरि यसै शैक्षिक सत्रको अन्त्यमा बालकलाई अभिभावकको जिम्मा लगाइएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले यस अघि पनि दैलेख जिल्लाका विभिन्न स्थानीय तह, छिमेकी जिल्ला र भारतबाट समेत जोखिममा रहेका तथा वेवारिसे अवस्थामा रहेका बालबालिकाहरुलाई उद्धार गरि पारिवारिक पुर्नमिलन गराएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष मञ्जु खड्काले जानकारी दिनुभयो । भारतका विभिन्न ठाउँमा बाल श्रमको जोखिममा रहेका ५ जना बालकलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको थियो भने दैलेख बजार लगाएत छिमेकी जिल्लाका बजारमा बाल श्रमिकको रुपमा काम गर्दै आएका २७ जना बालबालिकाहरुलाई उद्धार गरि परिवारिक पुर्नमिलन गराएको थियो ।
बाल हेल्पलाइन १०९८ (दश नौ आठ) लाई एइआइएन लक्जेम्वर्ग, टिडिएच जर्मनी, सेभ द चिल्ड्रेन र दैलेख जिल्लाका समाजसेवीहरुको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले विगत १ बर्ष देखि संचालनमा ल्याएको हो ।

प्रतिक्रिया