१५ प्रतिशत बालिका आफन्तबाटै बलात्कृत

१५ प्रतिशत बालिका आफन्तबाटै बलात्कृत

सन्दिप विक,ललितपुर – पाँचथरमा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएको घटना सेलाउन नपाउँदै लमजुङमा १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् ।

लमजुङको सुन्दरबजार–४, दुराडाँडामा आफ्नै बाबुबाट १४ वर्षीया छोरी बलात्कृत भएकी हुन् । मदिरा सेवन गरी पटक–पटक आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुधबार जिल्ला प्रहरी कार्यालय लमजुङले बाबुलाई पक्राउ गरेको छ । छोरीलाई धम्की दिँदै बलात्कार गर्ने गरेको श्रीमतीले थाहा पाएसँगै श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । छोरीलाई बलात्कार गर्ने बाबु विरुद्ध प्रहरीले जबरजस्ती करणी र हाडनाता करणी उद्योग अन्तरगत मुद्दा दर्ता गराएको छ ।

यसअघि पाँचथरको याङवरक गाउँपालिका वडा नम्वर ६ मा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएकी थिइन् । १२ वर्षीया नातिनीलाई पटक–पटक बलात्कार गर्ने ५८ वर्षीय हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको हो । बालिकाका बुबा बैदेशिक रोजगारमा गएको र आमाले दोस्रो विवाह गरेर बालिकालाई छोडेर गए पछि उनी हजुबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् ।

पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमका अनुसार हजुरबुबाले नातिनीलाई पुस १ गतेदेखि पटक–पटक बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

चिनजानकै व्यक्तिबाट बलात्कार

पछिल्लो समय आफन्त, चिनजानको व्यक्तिबाटै बालिकाहरू बलात्कृत हुने क्रम बढ्दो रहेको पाइएको छ ।

केन्द्रीय बाल कल्याण समितिले चार महिनाको अवधि (मंसिर देखि फागुनसम्म)मा सञ्चार माध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाहरूको चौमासिक विश्लेषणका क्रममा यस्तो तथ्य पाइएको हो ।

बलात्कारका घटनाहरूलाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ४१ प्रतिशत (३० जना) बालिका बलात्कार भएका छन् । त्यसैगरी छिमेकीबाट २७ प्रतिशत (२० जना), आफ्नै बुबा तथा हाडनाताबाट १५ प्रतिशत (११ जना), फेसबुक तथा सामाजिक सञ्जाल मार्फत भएको चिनचानबाट ९ प्रतिशत (७ जना), शिक्षकबाट ४ प्रतिशत (३ जना) र म्यादी प्रहरी र सेनाबाट ४ प्रतिशत (३ जना) बालिका बलात्कार भएका छन् ।

बलात्कारमा संलग्न अभियुक्तमध्ये १७ प्रतिशत (१६ जना) बालकहरू नै भएको देखिन्छ भने बाँकी ८३ प्रतिशत (७६ जना) बयस्कबाट बालबालिका पीडित भएका छन् । ६ जना बालिकाको बलात्कार पछि हत्या गरिएको छ । २ जना बालिकाको हत्यामा भने २ जना बालकहरू नै संलग्न भएको देखिएको छ ।

११ देखि १५ वर्षका बालिका बढी बलात्कृत

केन्द्रीय बाल कल्याण समितिका अनुसार बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा १० वर्ष वा सोभन्दा मुनीका ३१ प्रतिशत (२३ जना), ११ देखि १५ वर्षका ६२ प्रतिशत (४६ जना) र १६ देखि १८ वर्षका ७ प्रतिशत (५ जना) बालिका रहेका छन् । सबैभन्दा सानो सप्तरीमा २ वर्षकी बालिका बलात्कृत भएको पाइएको छ भने १४ वर्ष उमेरका बालिकाहरू धेरै संख्यामा बलात्कारको शिकार भएको देखिन्छ ।

आर्थिक वर्ष २०७४\०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कार्तिक) मा ४५ जना बालबालिका बाल यौन दुव्र्यवहारबाट पीडित भएकोमा यस अवधि (मंसिरदेखि फागुन) मा ७८ जना बालबालिका प्रभावित भएका घटना प्रकाशमा आएका छन् । यसबाट बालबालिका विरुद्ध हुने गरेको घटनाहरूको संख्यामा बृद्धि हुँदै गइरहेकोे पाइन्छ ।

हाडनाता करणी गरेमा जन्म कैद

नेपालको फौजदारी सम्बन्धि नयाँ कानूनमा समेत हाडनाता सम्वन्धि कसूरमा हाडनातामा करणी गर्न नहुने भनिएको छ । यदि कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने, नाताकी महिला हो भन्ने जानी जानी त्यस्ती महिलालाई करणी गर्न र त्यस्ती महिलाले पनि करणी गर्न दिन हुँदैन भनिएको छ । करणी गरेको पाईएमा कसूर गर्नेलाई जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद, सौतेनी आमा छोरा, बावु छोरी, सहोदर दिदी भाई वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हांगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजुको करणी भएमा चार वर्ष देखि दश वर्षसम्म कैद र जरिवाना हुनेछ भनिएको छ ।

एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाती, एकै हागाँको ठूलो वावु वा काका भतिजी, एकै हांगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी वुहारी, साख्यै मामा भाञ्जी वा भानिज माईजु, आमा तर्फका ठूली आमा वा सानी आमा र छोरा र आफनी श्रीमती तर्फकी सासू र ज्वाईको करणी भएमा तीन वर्ष देखि छ वर्षसम्म कैद र जरिबाना हुनेछ भनिएको छ ।

यस्तै आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्ष देखि तीन वर्षसम्म कैद र जरिबाना हुनेछ भनिएको छ । महिला खबर 

प्रतिक्रिया