दुल्लुमा सांस्कृतिक संग्रालय

दुल्लुमा सांस्कृतिक संग्रालय

दूल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, सिंजा साम्राज्यको  नागवंशी र पाल वंशि राजाको कृति स्तम्भ  छ

दैलेख — संरक्षण अभावले जीर्ण बनेका दुल्लुका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक धरोहरुको पुन:निर्माण गरिने भएको छ । दुल्लु नगरपालिकाको दोस्रो नगरसभाले दुल्लुमा सांस्कृतिक संग्रालय बनाउने निर्णय गरेको छ ।

पुन:निर्माणको पखाईमा रहेको दैलेखको दुल्लू दरबार । 

सिंजा साम्राज्य र वाईसे राज्यको वेला दुल्लु राज्यको रुपमा रहेको ऐतिहासिक महत्वको क्षेत्रलाई संरक्षण र प्रचार प्रसार गरी पर्यकीय गन्तव्यको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ।
दुल्लुमा एक हजार ३८ वर्ष पुरानो साउपाल अढाई शाक्यद्वारा निर्मित पहिलो शिलालेख, ऐतिहासिक कोतगढी, अखण्ड ज्वाला र पुरातात्विक ढुंगेधारा लगायतका सम्पदा छन्। संरक्षण अभावमा जीर्ण बन्दै गएपछि नगरपालिकाले संग्रालय बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालेको हो। दुल्लुका सम्पदाको संरक्षण गर्नका लागि योजना बनाएको नगरप्रमुख घनश्याम भण्डारीले बताए। दूल्लुमा नेपाली भाषाको पहिलो शिलालेख, सिंजा साम्राज्यको नागवंशी र पाल वंशि राजाको कृति स्तम्भ छ।
त्यस्तै, जंगबहादुर राणाको बाबु बालनरसिंह कँुवरको समाधिस्थल बालेश्वर, काजी जसपाउ थापाले निर्माण गरेको पौवा, दुल्लु दरबार, धर्मगाधी, पंचदेवल लगायतका सम्पदा छन्। बिभिन्न मठमन्दिर, पार्टी, पौवाले पनि यहाँको धार्मिक महत्व दर्शाएको छ। देउडा, धमारी, रत्तेवली, नेउले भाका, कर्काे आशिका जस्ता लोक संस्कृतिका लागि समेत दूल्लु क्षेत्र महत्वपूर्ण मानिन्छ।
यहाँ रहेका पञ्चकोशी तिर्थस्थल, श्रीस्थान, निभिस्थान, पादुका र धरलेश्वर जस्ता सम्पदाको जीर्णद्वार गर्न थालिएको हो। कर्णाली खस सभ्यताको उद्गम थलोका रुपमा दुल्लु क्षेत्रलाई लिइन्छ। सिंजा साम्राज्य कालमा दूल्लुलाई हिउँदे राजधानी बनाइएको थियो।
ऐतिहासिक दुल्लु क्षेत्रको कला, संस्कृतिको जगेर्ना गर्नु नगरपालिकाको दायित्व भएको र संग्रालय निर्माण गर्न लागिएको नगर प्रमुख भण्डारीले बताए। उनले संग्रालय बनेपछि लोप हुन लागेका कला संस्कृतिको संरक्षण हुने जनाए। दुल्लु नगरपालिकाको क्षेत्रभित्र पर्ने पञ्चकोशी क्षेत्रको सम्र्बद्धन र संरक्षणका लागि उपयुक्त योजना बनाइने नगर प्रमुख भण्डारीको भनाइ छ। कान्तिपुर

प्रतिक्रिया