‘परस्त्री’ले पाएन रिलिज अनुमति

‘परस्त्री’ले पाएन रिलिज अनुमति

काठमाडौँ –  नेपाली कथानक चलचित्र ‘परस्त्री’लाई चलचित्र सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति)ले रिलिजका लागि सेन्सर पासको सर्टिफिकेट दिन अस्विकार गरेको छ। चलचित्रमा रहेका केही दृष्य नहटाएसम्म रिलिजका लागि अनुमति दिन नसकिने बोर्डले जनाएको छ।

सेन्सर पासका लागि मंगलबार साँझ बोर्ड सदस्यले ‘परस्त्री’ हेरेका थिए । चलचित्र हेरेपछि अहिले भएका केहि दृश्य माथि कैची चलाउनु पर्ने बोर्डले जनाएको हो।

परस्त्री निर्देशक सुरज पाण्डे भन्नुहुन्छ, ‘चलचित्रमा भ्वाइलेन्सका दृश्य रहेको भन्दै सेन्सरले हटाउन भनेको छ । चलचित्रमा भ्वाइलेन्स, चुम्बन, बेड र रगतका सिन माथि सेन्सर बोर्डले आपत्ति जनाएको छ ।’

पाण्डेले अगाडी भन्नुभयो, ‘केही दृश्य हटाउन वा ब्लर गर्न भनेको छ। रगतको सिनमा ब्ल्याक एन्ड ह्वाइट गर्न भनेको छ।’ यो सँगै एडल्ट सर्टिफिकेटका लागि सेन्सर बोर्डसँग आग्रह गर्ने सुरजले बताउनुभयो ।

बोर्डले एडल्ट सर्टिफिकेट पनि दिन अस्विकार गरेको खण्डमा कस्तो कदम चाल्ने भन्ने विषयमा भने त्यसपछि नै छलफल गर्ने सुरज बताउनुहुन्छ ।

सुरज पाण्डेको डेब्यु निर्देशन रहेको ‘परस्त्री’मा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट लगायतका कलाकारले अभिनय गरेका छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रमा शर्मिला पाण्डेले लगानी गर्नुभएको हो ।

नेपाली र हिन्दी दुई भाषामा निर्माण भएको यो चलचित्र असार १५ बाट नेपाल तथा भारतका सिनेमा हलमा एक साथ प्रदर्शनको तयारीमा रहेको छ।

प्रतिक्रिया