सुर्खेतमा चलचित्र महोत्सव हुँदै,दर्शकहरूलाई कुनै शुल्क नलाग्ने

सुर्खेतमा चलचित्र महोत्सव हुँदै,दर्शकहरूलाई कुनै शुल्क नलाग्ने

सुर्खेत –  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चलचित्र महोत्सव (फिल्म फेस्टिभल) हुने भएको छ । यही वैशाख २०, २१ र २२ गते चलचित्र महोत्सव (फिल्म फेस्टिभल) हुने भएको हो । द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालले नेपाल युरोपियन युनियन फिल्म महोत्सवको दोस्रो चरण आयोजना गरेको बताइएको छ । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको कुइने पानी स्थित सभा हलमा फिल्म फेस्टिभल चल्ने छ । उक्त फेस्टिभल गएको वर्षमा पनि सुर्खेतमा आयोजना गरिएको थियो ।

फेस्टिभलको यसपालिको संस्करणको मूल विषयवस्तु ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने रहेको छ । यो वर्ष मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको सन्दर्भ पारेर चलचित्र महोत्सवको लागि ‘सबैका लागि मानवअधिकार उत्सव’ भन्ने मूल विषय छनौट गरिएको नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बताउनुभयो ।

उहाँका अनुसार यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारको बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय र काठमाडौँमा आयोजना हुने महोत्सवमा युरोपका ख्यातिप्राप्त निर्देशकहरुले निर्देशन गरेका आठ वटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरूले निर्माण गरेका छोटा फिल्महरू प्रदर्शन गरिनेछन् ।

चलचित्र हेर्नका लागि दर्शकहरूलाई कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । सुर्खेत, महेन्द्रनगर र काठमाडौँ तीन वटै ठाउँहरूको महोत्सवको सुरुमा ह्यामी रामेजनद्धारा निर्देशित ‘एनी डे नाउ’ भन्ने चलचित्रको प्रदर्शनीबाट हुनेछ । यस फिल्मले आप्रवासनको कथालाई प्रस्तुत गरेको छ । जुन समकालीन समयको एउटा मुख्य मानवअधिकारको सवाल हो ।

महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरूमा अरस टी रिहा नीले निर्देशन गरेका अस्कर एण्ड लिली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दो नातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनासको निर्देशन गरेका इनभिजिबल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेमले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्याण्ड, युके) र डेभिड फ्रेमले निर्देशन गरेका मित्र (नेदरल्याण्डस्) रहेका छन् ।

यसै गरी महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरू प्रदर्शन गरिनेछन् । अंकित खड्कीको निर्देशनमा बनेको आई वान्टेड टु बी लाईक माधुरी दीक्षित, विशाल रोक्का मगरको गोर्खा गर्ल र ग्रिष्म गिरीको ब्लुज अफ पिंक पनि प्रदर्शनी गरिनेछन् । नेपाली युवा फिल्म निर्माताहरूका अन्य फिल्महरूमा मिन्शो लिम्बुको जुनको, सुनिल पाण्डेको बागथान, पुनम पौडेलको लिभिङ्ग विथ डिग्नीटी, दीपक रौनियारको फोर नाइटस् र दीपा श्रेष्ठको ड्रिफ्ङ्गि क्लाउडस् रहेका छन् ।

महोत्सवको क्रममा देखाइने तिन वटा युरोपियन फिल्महरू एनीडे नाउ, मित्र र इमादज चाईल्डहुडमा नेपाली उपशीर्षक पनि हुनेछन् । यसबर्षको नेपाल युरोपियन फिल्म फेस्टिभलको ब्रान्ड एम्ब्यासडरको रूपमा नेपालकी चर्चित अभिनेत्री मिरुना मगर रहनुभएको छ । सुर्खेत भन्दा अघि पहिलो चरणमा महोत्सव वैशाख १५ देखि १७ सम्म सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा आयोजना हुने आयोजकले जनाएको छ ।

यस संस्करणको अन्तिम प्रदर्शनी काठमाडौँको चाबहिलमा रहेको चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ सम्म आयोजना हुनेछ ।महोत्सवमा ‘चलचित्रलाई कसरी बुझ्ने र प्रशंसा गर्ने’ भन्ने विषयमा पनि छलफल हुनेछ । जसको सहजीकरण चर्चित चलचित्र निर्माता तथा निर्देशक राजेश गोगजुले गर्नेछन् । गोगजु सन् २००० देखि चलचित्र निर्माण र शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । उहाँले थुप्रै अवार्ड समेत प्राप्त गरिसक्नुभएको छ ।

द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपालले यस प्रकारको महोत्सव विगत ११ वर्षदेखि गर्दै आएको छ । युरोपियन युनियनको वार्षिक कार्यक्रमहरूमा यस सांस्कृतिक गतिविधिलाई उच्च महत्त्व दिइएको छ । महोत्सवको सन्दर्भमा विगतदेखि नै नेपाली दर्शकबाट उत्साहप्रद प्रतिक्रिया पाएका र महोत्सवले युरोपियन र नेपाली फिल्म निर्माता तथा फिल्ममा रुचि राख्नेहरूबिच सम्बन्ध र सांस्कृतिक संवादको बाटो खोल्न सहजीकरण समेत गरेको आयोजकको भनाइ छ ।

प्रतिक्रिया