… उसो भए हामी सबै दलित

… उसो भए हामी सबै दलित

 

काठमाडौं — सुटिङपछि सबै महँगा र सुकिला रेस्टुरेन्टतिर लागे । उनी अलि परम्परागत शैली मन पराउने मान्छे थिए ।

चम्किलो रेस्टुरेन्टमा गएनन् । बरु छेउमै सानो झुप्रोतिर लम्किए । त्यहाँ आफ्नै मौलिक स्वादमा बनाएका परिकार थिए । टुसुक्क पिंढीमा बसेका उनले जे पाइन्छ त्यो खाए । राजेश हमालले सामान्य ठाउँमा बसेर खानुले हो या अरू केही कुराले छेउछाउमा गाइँगुइँ चल्यो ।

फिल्म सुटिङ टिमकै एकजना साथीले उनलाई सुटुक्क कानमा फुके, ‘यो त दलितको घर हो नि, किन खाको ?’ त्यसपछि राजेशले गाइँगुइँको अर्थ बुझेछन् । उनले मुस्कुराउँदै भने, ‘ला मैले त खाइसकें अब के हुन्छ होला ?’ राजेशको प्रश्नको जवाफ कसैले दिन सकेनन् ।
यस्ता घटनाहरू सुनाएर राजेश आफ्नो निष्कर्ष सुनाउँछन्, ‘यसैले कथित दलित समुदायमाथि गरिने विभेदमा कुनै ‘लजिक’ छैन ।’ सोमबार आफ्नै निवास कपुरधारामा राजेशले सुटिङका क्रममा देखेका र अनुभव गरेका यस्ता क्षणबारे सुनाए ।
राजेश फिल्मको चम्किलो दुनियाँभन्दा पर रहेको समाजको यथार्थमा पनि प्रवेश गर्न चाहन्छन्, जहाँ एउटा हिरोले पाखुरीको बलमा समाज परिवर्तन गर्न सक्दैन । राजेशले फिल्ममा धेरैपटक यस्ता भूमिकामा अभिनय गरेका छन् । उनी भन्छन् पनि, ‘मलाई स्टार बनाउने काम मजदुर र गरिब कमजोर वर्गले गरेको हो ।’ उनले धेरै फिल्ममा तिनका मुक्तिदाता वा नायकका रूपमा अभिनय गरेका छन् । आफूले अभिनय गरेका चलचित्रका पात्रमा उनी गरिब र दलित एवं अधिकारको खोजी गर्ने नायकका रूपमा चिनिन्थे । तिनै विद्रोही भूमिकाका कारण उनलाई गाउँका निरक्षरले पनि राजेश हमाल भनेर चिन्ने गर्छन् ।
गत साता सिरहाका दीपक मल्लिकसँग एक घन्टा बिताउँदा राजेशले दलितको परिभाषा र त्यसको मर्म बेग्लै ढंगले बुझेको बताए ।
‘त्यहाँ दलितमाथि मात्रै विभेद भएको थिएन, विभेद गर्नेहरू पनि कुसंस्कारबाट पीडित थिए,’ उनले भने ‘संकीर्ण मानसिकताबाट समाज नै सिकार भएको छ ।’
दलित हुनुको कारणका रूपमा प्राय: गरिबी, अशिक्षा र अज्ञानलाई देखाइन्छ । यी तीन पक्षलाई दलित हुनुको कारण मान्ने हो भने सबै नेपाली दलित भएको धारणा उनी राख्छन् । ‘देश गरिब छ, मागेर पालिनुपरेको छ, पहिचान गुमेको छ, पासपोर्ट पाउनमा विभेद छ, शिक्षा, रोजगार सबैमा हाम्रो देश पछि छ,’ राजेशले हाँस्दै भने, ‘उसो भए हामी सबै दलित ।’
विभेद मानसिक रोग हो । अमेरिकामा गरिएको काला र गोराबीचको अन्तरमा रंगको तर्क थियो । तर, उस्तै उही अनुहार र जीवनस्तरसमेत उस्तै छ भने त्यहाँ कसरी विभेद हुन्छ ? कथित दलितको सन्दर्भमा ठूलो अन्याय हो । उनी भन्छन्, ‘जहाँ स्वार्थ लुकेको हुन्छ, त्यहाँ विभेद झल्किन्छ ।’ यसको उदाहरण राजेशले आफ्नै फिल्म सुटिङको प्रसंग सुनाएर दिए । राजेशको कुनै फिल्मको दलितको घरमा सुटिङ भइरहेको थियो । मानिसबाट टाढैबाट सुटिङ हेरिरहेका थिए, फोटो खिचिरहेका थिए । घरसम्म कोही आएका थिएनन् । अर्को दृश्य घरभित्रको थियो । राजेशसहित पूरै युनिट घरभित्र छिर्यो । त्यसपछि बिस्तारै सुटिङ हेर्ने र फोटो खिच्नेहरू पनि घरभित्रै आए । ‘फोटो खिच्ने धुनमा दलितको घर भनी उनीहरूले बिर्सिए,’ राजेशले भने, ‘त्यो स्वार्थ होइन त ?’
एक्काईसौं शताब्दीमा कुनै जाति, वंश वा क्षेत्रमा जन्मिएका कारण मानिसलाई विभेद गरिनु समाजका लागि ठूलो लज्जा भएको राजेश बताउँछन् । उनी अमेरिकामा रंगभेदको उदाहरण दिन्छन् । ‘मैले अमेरिकामा हुने विभेद र रंगभेदबारे पढेको छु,’ उनी भन्छन्, ‘विभेद अमेरिकामा पनि बाँकी छ, कालो जातिका बाराक ओबामा राष्ट्रपति बन्दा पनि अझै बाँकी छ । तर यसको मतलब त्यो कुनै दिन सकिंदैन वा कायम राख्नुपर्छ भन्ने होइन ।’
‘अमेरिकाको सार्वजनिक यातायातमा काला र गोराका लागि बेग्लाबेग्लै सिट छुट्याइएको हुन्थ्यो । एक दिन एक कालो रंग भएकी महिला गोराको सिटमा गएर बसिन् । उनलाई उठाउन खोजियो तर कुनै हालतमा उनी डेग चलिनन् । त्यही एकजना महिलाको अडानले अमेरिकी समाजमा हलचल ल्याइदियो, एकजनाको अडानले कानुन परिवर्तन गर्नुपर्ने भयो,’ राजेश भन्छन्, ‘यसैले कसैको एउटा अडानले पनि परिवर्तन ल्याउन सक्छ ।’
उनलाई नेपाली समाजमा पनि परिवर्तन आइरहेको छ भन्ने लाग्छ । ‘तर, त्यो अझै पुग्दो छैन,’ उनी भन्छन् ।
कुनै पनि किसिमका मानवीय विभेद हटाउन अब समाजका सबै पक्ष जागरुक हुनुपर्ने उनी ठान्दछन् । ‘आज दलितले भोगेको समस्या दलितको मात्रै होइन, यो नेपालको समस्या हो । जबसम्म हाम्रो समाजमा यस्ता विभेद रहन्छन् यसको असर पूरै समाजमा रहन्छ । Kantipur.

प्रतिक्रिया