‘अब हामी पनि स्कुल जाने भयौ’

‘अब हामी पनि स्कुल जाने भयौ’

दैलेख बैशाख १९- आठ बर्षिया नविन थापालाई स्कुल जाने रहर लागेको तिन बर्ष भइसकेछ । उनको घरको अघिल्तिरबाटै आफ्नै उमेरका बालबालिका ठाट्टिएर दैनिक स्कुल आउजाउ गरेको देख्दा उनलाई पनि स्कुल जाउँजाउँ जस्तो लाग्थ्यो । दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं. ४ विशाला डाडागाउँ छेउका बालक हुन् नविन । टोलमा सुकिला मुकिला र पढेलेखेका जस्ता देखिने जो कोेही नौला मानिसलाई देख्ने वित्तीकै उनले सोधिहाल्थे, ‘अंकल म कहिले स्कुल जान पाउँछु ।’ निर्दोष नविनको यो प्रश्न सुन्ने जो कोहीलाई पनि एक छिन् सोच्न बाध्य बनाउथ्यो । नविनका भाई दिनेश थापा टोलका अन्य बालबालिकाहरु विद्यालय जान लागेको देख्दा एकोहोरो टोलाउथे ।
७ बर्षिया दिनेश थापासंगै ५ बर्षका विपिन थापा भर्खरै विद्यालय जान उमेर पुग्यो । विद्यालय जाने रहरमा बसेका तिन जना भाईहरु कहिले काही टोलका अन्य बालबालिकाहरुसंग आधा बाटो सम्म भएपनि जाने गरेका तिन बालकका आमा बास्ना थापाले सुनाइन् ।


उनिहरु जस्तै सोहि ठाउँका आठ बर्षिया धनकला वि.क.को विद्यालय जाने गएर पढ्ने धोको अधुरै रहेछ । नियमित विद्यालय जाने रहर छ धनकलाले भनिन ‘खै पढेर के बनिन्छ मलाई थाहा छैन, तर सधैँ विद्यालय गएर पढ्न चाहन्छु ।’ सोही ठाउँका ९ बर्षिया बालक जय बहादुर कठायतलाई पनि स्कुल जाने रहर छ । उनी पनि अहिले सम्म विद्यालय जान पाएका रहेनछन् । ‘मलाई पनि स्कुल जाने रहर छ,’ उनले भने, ‘खै हामी गरिबका छोराछोरीलाई पनि स्कुलमा पढन दिन्छन् र ?’। नाबालकले पश्न गरे ।
जिल्लाकै सबैभन्दा विकट मानिएको विशालामा पुग्दा विद्यालय बाहिर रहेका बालबालिका र अभिभावकहरुले यस्तै गुनासो पोख्दै थिए । यि ६ जना बालकहरु जस्तै ठाटीकाँध गाउँपालिका विशालामा विद्यालय बाहिर रहेका २२ जना बालबालिकाहरुको विद्यालय जाने रहेर अहिले सम्म अधुरै रहेछ ।


एकै ठाउँका २२ जना भन्दा धेरै बालबालिका उमेर पुगेर पनि विद्यालय बाहिर रहेका जानकारी पाएपछि दैलेखको सामाजिक संस्था सोसेक नेपाल सोही ठाउँमा पुगेको थियो । टोलीले विद्यालय बाहिर रहेका बालबालिकाहरुको खोजी गरि उनिहरुलाई विद्यालयमा भर्ना गरेको छ । सरकारले चलाएको विद्यालय भर्ना अभियानलाई सहयोग गर्नका लागि पुगेको टोलीले विशालाका विभिन्न टोलका विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरेको छ ।
उमेर पुगेका र विपन्नताका कारण अहिले सम्म विद्यालय जान नपाएका र विचैमा विद्यालय छाडेका ३५ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिएको छ । विद्यालय भर्ना गरिएका बालबालिकाहरुलाई शैक्षिक सामग्री झोला, कापी, कलम, ज्यामती बक्स, डटपेन र विद्यालय पोशाक समेत प्रदान गरिएको सहयात्रा परियोजनाका कार्यक्रम संयोजक नवराज विसीले बताए ।
विशालामा रहेका संगम आधारभुत विद्यालय, देउती आधारभुत विद्यालय र मंगल आधारभुत विद्यालयमा बालबालिकाहरुलाई भर्ना गरिएको हो । विद्यालय भर्ना भएका बालबालिकाहरुले अब नियमित विद्यालय गएर पढ्ने धोको पुरा भएको बताएका छन् । ‘अब त हामी प िविद्यालय जाने भयौ’ ३ बर्ष देखि विद्यालय जाने रहरमा बसेका आठ बर्षिया नविन थापाले भने ।
ग्रामिण भेगमा विद्यालय जाने उमेरका बालबालिकाहरुरु विद्यालय जानबाट बञ्चित नहुन भन्ने उदेश्यले बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित विद्यालयमा भर्ना गरि अभिभावकत्व ग्रहण गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । सेभ द चिल्ड्रेन र सोसेक दैलेख द्धारा संचालित सहयात्रा परियोजनालाई शैक्षिक सामग्री सहित विद्यालयमा भर्ना गरेको हो ।

प्रतिक्रिया