जनतालाई बचाउन चामुण्डामा एम्बुलेन्स

जनतालाई बचाउन चामुण्डामा एम्बुलेन्स

नगरप्रमुख भन्छन् “आफु निर्वाचित भएपछि जनतालाई बचाउन एम्बुलेन्स किन्छु, गाडी चढ्दैन भन्ने प्रतिवद्धता अनुसार एम्बुलेन्स सेवा सुचारु गरिएको हो

दैलेख– जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नागरिकहरुको स्वास्थ्य उपचारमा सहजता ल्याउनका लागि एम्बुलेन्स सेवा सुरु भएको छ । यातायात सुविधाको अभावमा अकालमै ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै चामुण्डाविन्द्रासैनीले एम्बुलेन्स सेवा सुरु गरेको हो । जनताको स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यका साथ नगरपालिका मार्फत संचालन हुने गरि एम्बुलेन्स सेवा सुचारु गरिएको नगर प्रमुख सुर्य बहादुर शाहीले जानकारी   दिए ।
यातायातको सुविधाको अभावमा नगरवासीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको नगर प्रमुख सुर्यबहादुर शाहीको भनाई छ । उनले नयाँ संविधानले सबै नागरिकलाई अनिवार्य रुपमा शिक्षा र स्वास्थ्य सुनिश्चित गरेको अवस्थामा नगरवासीलाई एम्बुलेन्स सेवाले ठूलो राहत मिल्ने बताए । आफु निर्वाचित भएपछि जनतालाई बचाउन एम्बुलेन्स किन्छु, गाडी चढ्दैन भन्ने प्रतिवद्धता अनुरुप नै एम्बुलेन्स सेवा सुचारु गरिएको उनको भनाई छ । उनले भने, ‘अब कोही नागरिकले समयमै उपचारबाट वञ्चित भई अकालमै ज्यान गुमाउनु पर्ने छैन ।’ जनताको जीवन बचाउनका लागि नै एम्बुलेन्स सेवा खरिद गरेको उनले बताए ।
यातायताको सुविधा नभएकाले यसअघि स्थानीयले बिरामीलाई घण्टौं पैदल बाटोमा बोकेरै उपचाका लागि यातायताको सुविधा भएको स्थान पादुका खोला र दुल्लु लैजाने गरेका थिए ।
एम्बुलेन्स सेवा सञ्चालन भएसँगै नगरपालिकाका २६ हजार जनता लाभान्वित हुने भएका छन् । त्यस क्षेत्रका बिरामीलाई स्थानीय स्वास्थ्य केन्द्रसम्म र त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई सदरमुकाम दैलेख तथा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र नेपालगञ्ज लैजानका लागि सहज हुने स्थानीयहरुले बताए ।
नगरपालिकाले एम्बुलेन्स सेवा पाएपछि स्थानीयहरु हर्षित भएका छन । चामुण्डाविन्द्रासैनी नगरपालिका वडा ६ का नगेन्द्र विष्टले नगरपालिकाले एम्बुलेन्स सेवा दिदा आफुलाई सिंहदरबारको अधिकार गाउँमै पुगेको आफुलाई अनुभुति भएको उनको भनाई छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाले १० लाख ५० हजारको अनुदानमा एम्बुलेन्स सेवा सुचारु गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपाली जानकारी दिए ।

प्रतिक्रिया