एउटै गाउँपालिकामा १५ सय युवा बेरोजगार

एउटै गाउँपालिकामा १५ सय युवा बेरोजगार

हिक्मत नेपाली, दैलेख– कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत संगै सिमाना जोडिएको दैलेखको गुरासँ गाउँपालिका भित्र १५ सय बढी बेरोजगार युवा रहेको तथ्याँक संकलन गरिएको छ । गाउँपालिकाले वेरोजगार युवाहरुको रोजगार तथा स्वरोजगार मेला आयोजना गरि बेरोजगार युवाहरुको तथ्याँक संकलन गरेको छ । गाउँपालिकाले विभिन्न तिन ठाँउँमा युवाहरुको सम्मेलन गरि बेरोजगार युवाहरुको तथ्याँक संकलन गरेको गाउँपालिकाले जनाएको छ ।

तिन दिन सम्म संचालन भएको मेलामा १५ सय बढी युवाहरुको उपस्थिती जनाएका थिए । गाउँपालिकाको धरमपोखरामा गरेको बेरोजगार युवाहरुको सम्मेलनमा वडा नम्बर ६, ७ र ८ बाट ६ सय ४१ जनाले उपस्थिती जनाएका छन् । वडा नं. १, ३, ४ मा गरिएको सम्मेलनमा ५ सय ५९ बेरोजगार युवाहरुको उपस्थिती थियो भने अन्य वडालाई लक्षित गरि आयोजना गरिएको भेलामा ३ सय युवाहरुले बेरोजागरका कारण, आफ्नो योग्यता, रोजगार हुन चाहेको बिषय लगायतका कुराहरु फर्म मार्फत जानकारी गराएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जनाए ।

-बेरोजगार युवाहरुले भन्छन् ‘गाउँमै बसेर आत्मनिर्भर बन्छौ’ ।

मेलामा सहभागि युवाहरुले आफुहरु गाउँमै बसेर काम गर्न तयार रहेको बताएका छन् । मेलाले आफुहरुलाई उत्साहित बनाएको भन्दै अब गाउँमै बसेर आत्मनिर्भर हुनका उत्साह जागेको वडा नम्बर ७ का युवा भक्त बहादुर विसीले बताए । यस्तै वडा नम्बर ८ का युवा कर्ण बहादुर ओलीले अब स्वरोजगार हुन सक्छु भन्ने आत्मविश्वास बढेको बताउदै मेला आयोजना गरेकोमा गाउँपालिकालाई धन्यवाद दिए ।
अब वेरोजगार युवाहरुलाई खाडी मुलुकमा गएर दुख गर्नु नपर्ने अनुभुती सुनाउदै मेलामा सहभागि वडा नम्बर ८ की याम कुमारी खड्काले भनिन “अब आफ्नै गाउँमा केहि गर्न सकिने भन्दै त्यसको लागि गाउँपालिकाले लिएको निति प्रसंशा योग्य छ ।” अब युवाहरु स्वरोजगारमुखी काममा अग्रसर हुनुपर्छ, ‘मेलाले नेपालभर रोजगारीका अवसरको सृजना भएको भन्ने सन्देश प्रभाह छ ।’ वडा नम्बर ६ का राम बहादुर ओलीले भने ।
स्थानीय तहको सक्रियतामा गाउँमै रोजगारकोे सृजना हुन थालेको अनुभुति भएको वडा नम्बर ७ की पम्फा विसीले बताइन् । वडा नम्बर ८ की अमृता विसीले युवाहरु बाहिर जानुपर्ने बाध्यात्मक अवस्था कम हुने विश्वास व्यक्त गरिन् ।
गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले श्रम मन्त्रालयको फर्म र गाउँपालिकाले निर्माण गरेको दुईवटा फर्महरु वेरोजगार युवाहरुलाई भर्न लगाएको बताए । उहाँहरुको इच्छा र चाहनाको कुरा हेर्ने हो भने बिदेश भन्दा गाउँमै बसेर आफुहरुले काम गर्न चाहेको कुरा धेरै आएको छ,“गाउँपालिकाले अव हरेक बिकास गतिविधिहरुमा युवाहरुको सक्रियता बढाउने खालका कामहरु आगामी बर्षबाट सुरु गर्नेछ ।” अध्यक्ष ओलीले भने । युवाहरुले स्थानीय स्तरमा ठूला उद्योग खोल्नुपर्ने, उन्नत र व्यवसायिक कृषिका कामहरु गाउँपालिकाले संचालन गर्नुपर्ने, पशुपालन, वन रक्षक, जस्ता कामहरुमा यूवाहरुलाई परिचालन गर्नुपर्ने माग राखेका गाउँपालिकाले जनाएको छ । गुराँस गाउँपालिकाले सुचना केन्द्र नेपालगंजको प्राविधिक सहयोग तथा सेभ द चिल्डे«न र एभरेष्ट दैलेखको समन्वयमा बेरोजगार युवाहरुको सम्मेलन सँगै लगत संकलन र यूवाहरुको चाहनाको अध्ययन गरेको हो ।

प्रतिक्रिया