सकियो पञ्चकोशी लोक साँस्कृतीक मेला

सकियो पञ्चकोशी लोक साँस्कृतीक मेला

दैलेख (दुल्लु) – कर्णाली प्रदेशको सरकार द्धारा आयोजित कर्णाली रारा पर्यटन वर्ष २०७५ लाई सफल बनाउनका लागि स्थानीय जनताको सहभागितामा दुल्लु नगरपालिकाले आयोजना गरेको प्रथम दुल्लू साँस्कृतिक मेला सम्पन्न भएको छ । दुल्लू साँस्कृतिक संग्रहालयको उद्घाटनका दिन देखि सुरु भएको प्रथम पञ्चकोशी लोक साँस्कृतीक मेला सम्पन्न भएको हो । बैशाख ३१ गते संग्रहालयको उद्घाटन भएको थियो । उक्त संग्रहालयमा पुराना लोपोन्मूख अवस्थामा रहेका परम्परागत १ सय ६२ किसिमका सामग्री राखिएका छन् ।
पाँच दिनसम्म चलेको लोक सांस्कृतिक मेलामा परम्परागत मारुनी नाच, देउडा (महीला पुरुष), एकल ठाडिभाका, भैलो, राईझुमा, फट्को, सल्लेरी हाईभाका, पंचेबाजा, झोडा हुडके नाँच, लगायतका ४२ प्रकारका कलाको प्रस्तुत गरिएको थियो । पुराना संस्कृती लोप हुन लागेकाले यसलाई बचाउन मेला आयोजना गरिएको दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए ।
विशाल नेपालको शक्तिशाली राज्य मध्येको एक सिंजा राज्यको शितकालीन राजधानीको रुपमा रहेको दुल्लू नगरपालिकाले ज्वाला र सिंजा सभ्यताको केन्द्र विन्दुको रुपमा रहेको श्री ५ राजेन्द्र विरविक्रम शाहको पालामा काजी जसपाउ थापाले निमार्ण गरेको पौवा घरमा संग्रहालय संचालनमा ल्याइएको हो ।
तिब्वती पठारको खशानदेखी जडान सम्मको कला, संस्कृती, साहित्य, लोक जीवन, लोक संस्कारसँग सम्बन्धित मूर्त र अमूर्त सम्पदाहरुको जर्गेना गर्न लोक संस्कृतीलाई बचाइ राख्न संग्रहालयको स्थापना गरिएको नगर प्रमुख भण्डारीले बताए । इतिहास, संस्कृती र प्रकृतिको संगम ज्वाला र सिंजा सभ्यताको आदीभूमी दुल्लू भन्ने मुल नाराका साथ दुल्लु नगरपालिकाले मेलाको आयोजना गरेको थियो ।
मेला समापन कार्यक्रमको दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले नेपालको साहित्य कला ओईलिएको अवस्थामा रहेको बताउदै पुराना कला सँस्कृती जोगाउन नगरपालिकाले चालेको कदमको प्रशंसा गरे । उनले कला, सँस्कृति लोप हुँदै गईरहेकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएको बताए । दुल्लू दरबार ऐतिहासिक सभ्यता रहेकाले यसलाई संरक्षण र सम्वद्र्धन गर्न सके कर्णाली प्रदेशकै पर्यटकीय गन्तब्य बन्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया