भारतबाट महिला र बालकको उद्धार

भारतबाट महिला र बालकको उद्धार

दैलेख – आफ्नै श्रीमानबाट भारतको ब्यांगलोरमा रहेको पलास्टिक उद्योगमा बेचिएका महिला र उनको छोराको उद्धार गरिएको छ । दैलेख घर भएकी १८ बर्षीया महिलालाई उनका २ बर्षिया छोरालाई सहित उद्धार गरिएको सामाजिक सेवा केन्द्र सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । भारतमा बेचिएकी महिला र बालकको आफन्तले गत जेठ ९ गते मानव बेचबिखन परेको भन्दै दिएको निवेदनका आधारमा उनीहरूलाई उद्धार गरिएको हो ।

लखनउमा कार्यरत नेपाली मुलका भारतीय प्रहरीले (जो बेचिएकी महिलाका चिनेका व्यक्ति हुन) व्यक्तिगत रुपमा जोखिम मोलेर महिलाको उद्दार गरेका हुन् । सोसेकका संस्थापक अध्यक्ष थापाका अनुसार बेचिएकी महिलाले लुकिछिपी फोन गरेर आफन्तलाई आफू बेचिएको खबर गरेको र ती आफन्तले सोसेकमा निवेदन दिएपछि उद्दार प्रक्रिया सुरु भएको थियो । सरकारी प्रक्रियाबाट जाँदा ढिलाई हुने र महिलाले आफू बेचिएकोबारे खबर गरिसकेको जानकारी पाएपछि प्लास्टिक उद्योग संचालकबाट खतरा हुनसक्ने आँकलन गरेर हतारहतारमा उद्दार गरिएको थापाले जानकारी दिए ।

महिलालाई उद्योगको पछाडिको पर्खाल नाघेर भाग्न भनेको र त्यहाँबाट लखनउका ती प्रहरीले गाडीमा हालेर पाँचौ दिनमा लुकाई–छिपाई लखनउ पु¥याएका थिए । ती महिलालाई उद्दार गर्न खटिएका नेपालीमुलका प्रहरीलाई भारतीय प्रहरीले अनौपचारिक सुरक्षा उपलब्ध गराएको थियो । उनलाई २ लाख २० हजार रुपैयाँमा श्रीमान् र परिवारका सदस्यहरुबाटै बेचिएको बुझिन आएको छ । ती महिलालाई प्लास्टिक उद्योगमा दिनभर काम गराईन्थ्यो । खान र बस्न मात्र दिईन्थ्यो, तलब दिइँदैनथ्यो । उनीजस्तै १३ जना भारत असामका महिलाहरु उक्त प्लास्टिक उद्योगमा नारकीय जीवन विताईरहेको पनि ती पीडित महिलाले जानकारी दिएको थापाले बताए ।

उक्त उद्योगमा बच्चासहित आमालाई खरिद गर्ने गरिएको बुझिएको छ । ३ बर्ष उमेर पुगेपछि बच्चाहरुलाई अध्ययनका लागि पठाउने भन्दै आमाहरुबाट अलग्गै लैजाने गरिएको र कहाँ लगेको भनेर कुनै जानकारी नदिईने गरेको पनि थापाले बताएका छन् । १८ वर्षीया महिला र दुई वर्षीय बालक बेचबिखनमा परेको भन्दै परेको निवेदनका आधारमा दैलेख जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र शक्ति समूह काठमाडौंको पहलमा महिला र बालकको उद्धार गरिएको हो । उद्दार गरिएकी महिलालाई नेपालगन्जबाट आईतबार काठमाडौंस्थित शक्ति समूहको आश्रयमा लगिएको बाल हेल्पलाइन, महिला तथा बालबालिका केन्द्र दैलेखका संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया