बादी समुदायका बालबालिकालाई सहयोग

बादी समुदायका बालबालिकालाई सहयोग

दैलेख, २९ जेठ ।

विपन्न बादी समुदायका बालबालिकालाई आर्थीक सहयोग प्रदान गरिने भएको छ । आर्थीक विपन्नताका कारण विभिन्न समस्या भोग्दै आएका समुदायका बालबालिकाहरुलाई केन्द्रिय बाल कल्याण समितिले आर्थीक सहयोग प्रदान गर्ने भएको हो । दुल्लु नगरपालिकाका विभिन्न वडामा रहेका बादी समुदायका बालबालिकाहरुलाई सहयोग गरिने छ । विपन्नताले दिन गुजारिरहेका दुल्लु नगरपालिकाको वडा नं. १ तल्लोडुङ्गेश्वर स्थित बादी समुदाय, वडा नं. ३ को पाली, वडा नं. ७ को दुल्लु, वडा नं. १० को गमौडी, वडा नं. ५ मा आमाबुबा नभएका र जोखिममा परेका बालबालिकाहरुलाई समितिले आर्थीक सहयोग प्रदान गर्ने भएको हो ।
दुल्लु नगरपालिकाको वडा नं. १ तल्लोडुङ्गेश्वर स्थित बादी समुदायका २९ जना, वडा नं. ३ को पालीका १० जना, वडा नं. ७ को दुल्लुका ६ जना, वडा नं. १० को गमौडीका २ जना र वडा नं. ५ मा आमाबुबा नभएका र जोखिममा परेका ४ जना गरि ५१ जना बालबालिकाहरुलाई आर्थीक सहयोग प्रदान गरिने केन्द्रिय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति डम्बर रोकायले जानकारी दिएका छन् ।
बादी समुदायका बालबालिकाको दयनीय अवस्था देखेपछि उनिहरुलाई आर्थीक सहयोगको लागि जिल्ला बाल कल्याण समिति दैलेखका सदस्य एंव सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले पहल गरेका थिए ।
बादी समुदायका बालबालिका दिनुहुँ कर्णाली राजमार्गमा रहेको तल्लोडुङ्गेश्वर बजारका सडकमा गित गाउने गर्थे, ओहोर दोहोर गर्ने व्यक्तिहरुसंग पैसा माग्ने बानी परेका थिए, उनिहरु विद्यालय जानबाट बञ्चित भएको देखेपछि केन्द्रिय बाल कल्याण समितिसंग सहयोगको लागि पहल गरेका हौ, थापाले भने । थापाका अनुसार ५१ जना बालबालिकाहरुलाई कुल १ लाख ६८ हजार रुपैयाँ सहयोग रकम प्रदान गरिने छ ।
उनका अनुसार केन्द्रिय बाल कल्याण समितिले पठाएको सहयोग रकम एउटा बच्चा हुने घरपरिवारको हकमा ५ हजार, थप अर्को बच्चा हुनेलाई थप २ हजार र त्यसपछि हरेक बच्चाको हकमा थप १ हजार रुपैयाँ सहयोग रकम प्रदान गरिने भएको हो । आमाबुबा नभएका र जोखिममा परेका बालबालिकाहरुको हकमा ५ हजार रुपैयाँ प्रदान गरिने थापाले जानकारी दिएका छन् ।
आर्थीक सहयोग पाउने बालबालिकाहरुको अभिभावकलाई बैंक खाता खोल्न लगाइएको र उनिहरुको बंैक खातामा सहयोग रकम जम्मा गर्ने गरि व्यवस्थापन गरिएको दुल्लु नगरपालिका दैलेखका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । आर्थीक अवस्था नाजुक भएकोले उनिहरुलाई शुन्य रकममा खाता खोल्न व्यवस्थापन गरिएको प्रमुख भण्डारीले बताए । उनका अनुसार आर्थीक सहयोग पाउने बालबालिकाहरुको अभिभावकले आफ्ना बालबालिकाहरुलाई अनिवार्य विद्यालय पठाउनु पर्नेछ । बादी समुदायका बालबालिकाहरु विद्यालय जादैनन् भनेर बेला बेला चर्चा हुने गरेको छ, भण्डारीले भने । केन्द्रिय बाल कल्याण समितिले प्रदान गर्ने सहयोग रकम बालबालिकाहरुको शिक्षा स्वास्थ्य र सरसफाईको क्षेत्रमा लगानी गर्नुपर्ने छ ।
दुल्लु नगरपालिका भित्र जोखिममा परेको, आर्थीक अवस्था नाजकु भएका र अभिभावक विहिन बालबालिकाहरुको तथ्यांक संकलन गर्ने र उनिहरुलाई सहयोग उपलब्ध गराउने तर्फ नगरपालिकाले पहल थालेको प्रमुख भण्डारीले बताए ।

प्रतिक्रिया