ठाँटिकाँध गाउँपालिका : एक हप्तादेखी सुत्केरी गाेठमा, अध्यक्ष भन्छन् याे परम्परा गाउँमा छैन

ठाँटिकाँध गाउँपालिका : एक हप्तादेखी सुत्केरी गाेठमा, अध्यक्ष भन्छन् याे परम्परा गाउँमा छैन

५ असार, दैलेख (ठाँटिकाँध) । दैलेख जिल्लाको पश्चिम भेक ठांटीकाँध गाउँपालिकामा सुत्केरी महिला गोठमा दिन बिताउन बाध्य भएकी छन् । धार्मिक परम्पराअनुसार सुत्केरी भएको ११ दिनसम्म घरबाहिर वा गोठमा बस्नुपर्ने प्रचलन अहिलेसम्म पनि रहेकोले गोठमा दिन विताउन बाध्य भएकी हुन् ।


ठाँटिकाँध गाउँपालिका वडानम्वर २ बस्ने प्रेम थापाको श्रीमती हरिकला थापा एक हप्ता अगाडि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा सुत्केरी भएकी थिइन् । उनी वर्षातको समय भएता पनि धार्मिक परम्पराको हिसावले अहिलेसम्म घरबाट पैदल करिव ३ घण्टाको बाटो लाग्ने जंगलको गोठमा बसेकी छिन् ।

सुत्केरी भएको समयमा पोसिलो खाने कुरा खानु पर्ने, आराम गर्नु पर्ने, सफा घर, कोठामा बस्नुपर्ने स्वास्थ्य चिकित्सकहरु बताउछन् तर यस्तो बर्षायाममा पनि महीलाहरु गोठमा बसेर जीवन दाउमा राखेर बस्न बाध्य भएका छन् ।

दिनानुदिन यस्ता घटनाहरु हँुदा हुँदैपनि मानिसमा अझै ज्ञानको कमि र चेतनाको अभावका कारण यस्तो अवस्था भोग्नुपरेका प्राथमिक स्वास्थ्यकेन्द्र लकान्द्रकी सिनियर अनमि मञ्जु शाहीले बताइन् ।


उनले उक्त दर्दानक अवस्थाको चित्रण गर्दै भनिन् –‘ज्ञान घोटेर पिलाउन सकिने भए सम्भव हुन्थ्यो होला । सीटामोल खुवाएर ज्वरो घटे झै अज्ञानता घटाउने कुनै औषधि भए रुढीबादी परम्पराका ज्ञाताहरुलाई खुवाउँथे अनि महिलाहरुको यो अबस्थामा देख्नुपर्ने थिएन होला ।’
उनले भनिन् – ‘स्वास्थ्य चौकीदेखि प्रसुतीको स्वास्थ्य अवस्थाबारे तेस्रो पटक जाँचका लागि उनको घर गएको थिए तर उनलाई घरमा भेटाइन, उनी उनको घरबाट पैदल ३ घण्टा लाग्ने जंगलको गोठमा थिइन् ।’
यसबारे गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई बुझ्दा यस्तो परम्परा २०४० साल अगाडि भएपनि तर अहिले गाउँको कुनैपनि ठाँउमा त्यस्तो अवस्था नभएको दावी गरे ।

दुल्लू खवरवाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया