गुराँस गाउँपालिकाको महत्वकांक्षी योजना

गुराँस गाउँपालिकाको महत्वकांक्षी योजना

केवलकार देखि हवाई मार्गको सम्भाव्यता अध्ययन

दैलेख, १२ असार
गुराँस गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ । २ दिनसम्म चलेको तेश्रो गाउँसभाले नीति तथा कार्यक्रम सर्वसम्मतीले पास गरेको हो ।
गत बर्षभन्दा महत्वकांक्षी रहेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायात, लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । स्थानीय तहको नीति तथा कार्यक्रमप्रति जनताको आशा पलाएको देखिएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमलाई धेरै भन्दा धेरै जनमुखी बनाउने प्रयत्न गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष दीपा कुमारी विसीले गुराँस गाउँपालिकामा गुणस्तरिय शिक्षा सुशासनमैत्री शैक्षिक संस्था तथा प्रविधिमैत्री शैक्षिक गतिविधीहरु संचालन गरिने बताइन् ।
प्राविधिक शिक्षा, उच्च शिक्षा संचालनको लागि आवश्यक कार्यक्रम तय गरिएको भन्दै अग्रेजी माध्यायमबाट पठनपाठन बनाउने विद्यालयलाई प्रोत्साहनको व्यवस्था गरिने नीतिमा उल्लेख गरिन् । त्यसैगरी बालमैत्री विद्यालय बनाउने, विद्यालय पहिचान कार्यक्रम लागु गर्नेे, विद्यालय सुरक्षा व्यवस्थाको बन्दोवस्तो गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले अविभावक शिक्षा कार्यक्रम लागु गरिने गरी नयाँ नीति तय गरेको छ । यस्तै स्वास्थ्य क्षेत्रलाई पनि विशेष महत्वका साथ नीतिमा समावेश गरिएको छ ।
जसमध्ये गुराँस अस्पताललाई आधुनिक अस्पातालमा विकसित गरिने, आमा समुह पोषण कार्यक्रम लागु गरिने, प्राथामिक स्वास्थ्य, मातृ स्वास्थ्य, महिला प्रजनन् स्वास्थ्य गाउँघर क्लिनिक कार्यक्रममा विशेष ध्यान दिइइने गरी नीतिमा राखिएको छ । त्यसैगरी, यातायातमा पनि विभिन्न कार्यक्रमहरु संचालन गरिनेगरी नीति बनाइएको छ ।
गुराँस गाउँपालिकामा संचालनमा रहेका सडकहरुको स्तरउन्नती गरि १२ महिना संचालन हुने गराइने , सडक संजालले नछोएका ठाउँमा सडक संजाल विस्तार गरिने छ । नीतिमा भनिएको छ ।
त्यसैगरी, महोत्वकाँक्षी योजना पनि नीतिमा राखिएको छ । गुराँस गाउँपालिकामा केवलकार, हवाई मार्गको लागी सम्भाव्यता अध्ययनका साथै पुर्वाधार विकासमा जोड दिनेगरी नीति तथा कार्यक्रम पेश गरिएको छ ।
गुराँस गाउँपालिकाका प्रत्येक वडामा विद्युत विस्तारलाई तिव्रताका साथ अगाडी बढाइने नीति तथा कार्यक्रम छ । खानेपानी नपुगेका सबै क्षेत्रमा र घरमा स्वच्छ र शुरक्षित खानेपानीको व्यवस्था गरिने गरी कार्यक्रम बनाइएको छ ।
संचार क्षेत्रको विकासका लागि प्रत्येक वडामा सुचना केन्द्र स्थापना गरिनुका साथै गुराँस गाउँपालिकालाई सुचनामैत्री गाउँपालिकाको रुपमा विकास गरिने गरी नीति तथा कार्यक्रममा छ ।
त्यसैगरी, पत्रकारहरुलाई क्षमता विकासको लागि आवश्यक तालिमको व्यवस्था गरिने पनि कार्यक्रममा राखिएको छ ।
कृषि, सिंचाई तथा पशुपालन क्षेत्रमा धेरै महत्व दिइएको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन आधुनिक तथा व्यवसायमुखी कृषि प्रर्णाली अवलम्बन गर्ने, उत्पादित वस्तुको वजारीकरणको लागि आवश्यक व्यवस्था गर्ने, पहिचानसहितको पकेट क्षेत्र घोषणा गरी कार्यान्वयन गर्ने, कृषि पर्यटनको विकासमा विशेष ध्यान दिने, एक घर एक सिंचाई पोखरी कार्यक्रमलाई निरन्तरता दिने योजनाहरु नीति तथा कार्यक्रममा राखिएको छ ।
त्यसैगरी एउटा नौलो कार्यक्रम पनि नीतिमा राखिएको छ । जसलाई एक घर एक जर्सी गाईको नाम दिइएको छ । त्यसैगरी, पर्यटन विकास, सहकारी क्षेत्रको विकासलाई पनि महत्वको साथ नीति तथा कार्यक्रममा राखिएको छ ।नीति तथा कार्यक्रममा धेरै कुराहरु राखिएपनि केहि विषय थप्नुपर्ने गाउँसभाका सदस्यहरुले सुझाव दिएका छन् । उनिहरुले केहि महत्वपूर्ण विषयहरु राख्नुपर्नेमा नितीमा नराखिएको भन्दै गुनासो गरेका थिए । गाउँसभाको अध्यक्षता गरेका गाउँपालिका अध्यक्षले गाउँसभाको अर्को कार्यसुची असार १५ गते तोकेका छन् । असार १५ गते बस्ने बैठकमा आर्थिक बर्ष २०७५÷०७६ वजेट पेश गर्ने कार्यसुची छ ।

प्रतिक्रिया