‘एक्ली महिला वडाअध्यक्ष’

‘एक्ली महिला वडाअध्यक्ष’

फोटो – भैरवी गाउँपालिकाको ३ की वडाअध्यक्ष देवी भण्डारी ।

दैलेख असार २४  ।
२०७४ बैशाष ३१ गते स्थानीय तहको निर्वाचनको चहलपहल चुलिरहदाँ स्थानीय तहमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष होस् या वडा अध्यक्ष पदका लागि महिला उम्मेदवारहरुको खुवै चर्चा भयो । राज्य पुर्नसंरचना पश्चात बनेको ४ नगरपालिका र ७ वटा गाउँपालिका मध्ये कुनै पनि तहको प्रमुख पदमा महिला उम्मेदवार भने भएनन् । आकांक्षीहरु भएपनि दलहरुले महिलाहरुलाई नगर/गाउँपालिकाको प्रमुख पदका लागि पत्याएनन् ।
११ वटै तहमा महिलालाई उपप्रमुख/उपाध्यक्ष पदमा सिमित बनाइयो । महिला उम्मेदवारहरुको चर्चा संगै भैरवी गाउँपालिकाको ३ नं. वडामा देवी भण्डारीले अध्यक्ष पदमा लागि टिकट हात पारिन् । २०५७ सालमा एसएलसी पास गरेकी भण्डारी वडाअध्यक्ष पदमा विजयी पनि भइन् । भैरवी गाउँपालिका ३ की देवी भण्डारी दैलेखमा रहेका ९० वडाकी एक्ली महिला वडा अध्यक्ष हुन् ।
भण्डारीले निर्वाचित भएको एक वर्ष अवधिमा काम पनि नमुना गरेकी छिन् । नेपाली समाजमा महिला भएकै कारण उनीहरुलाई अवसरबाट बञ्चित गरिन्छ, महिलाले कुन क्षेत्रमा काम गर्न सकेका छैनन् र ?’ उनी भन्छिन । ‘महिलाले जिम्मेवारी पाएको ठाउँमा पुरुषभन्दा राम्रो काम गरेर देखाएका थुपै्र उदाहरणहरु छन् ।’ महिला भएकै कारण महिला केन्द्रित हुन नहुनेमा उनी दृढ छिन् । उनले आफ्नो वडामा आएको बजेट समान रुपमा सबै क्षेमा बिनियोजन गरेकी छिन् । योजना छनोट पनि सोही अनुसार गरेको भण्डारीको भनाई छ । जिल्लाका ११ स्थानीय तहमध्ये भैरवीमा मात्र महिला इन्जिनियर छिन् । यसले उनलाई काम गर्न थप सहज बनाएको छ ।
भैरवी गाउँपालिकाले अझैसम्म आफ्नो केन्द्र टुंगो लगाउन सकेको छैन । भण्डारीले भने वडाको नाममा तीन रोपनी जग्गा पास गरी स्थायी कार्यालयको व्यवस्था गरिसकेकी छिन् । वडाको नाममा थप १२ रोपनी जग्गा पास गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘वडा कार्यालयमात्र बनाएर भएन, अन्य आवश्यक संरचना पनि बसाल्नु छ,’ उनी भन्छिन, ‘त्यसैले आवश्यक जमिनको प्रबन्ध मिलाइरहेकी छु ।’ वडा कार्यालयसम्म जाने बाटो पनि निर्माण भइरहेको उनले बताइन् ।
गाउँपालिकाले वडाको विकासको लागि एक करोड २२ लाख रुपैयाँ बिनियोजन गरेको छ । अन्य वडाहरु बजेट कार्यान्वयनमा अलमलिइरहेका बेला भण्डारी नेतृत्वको वडाले भने बिनियोजित बजेटको व्यवस्थित योजना तयार पारी काम सुरु गरिसकेको छ । चालु आर्थिक वर्षमा भण्डारीको वडामा ५३ वटा विकास योजना परेका छन् । जनसंख्याको आधारमा हेर्ने हो भने यो बजेट अन्य वडाको तुलनामा दोब्बर हो । तर, उनले निर्वाध रुपमा काम सञ्चालन गरिरहेकी छिन् । योजना छनोटदेखि कार्यान्वयनसम्म कुनै विवाद देखिएन । ‘काम गर्ने क्रममा सबैको साथ र सहयोग मिलिरहेको छ,’ उनी भन्छिन, ‘यसले पनि मलाई काम गर्न थप हौसला प्रदान भएको छ । वडाको आवश्यकतालाई पहिचान गरी बजेट ल्याएको भण्डारीले बताइन् । चालु आर्थिक वर्षमा विद्युतीकरणको लागि १५ लाख रुपैयाँ ल्याएकी उनले आगामी आर्थिक वर्षको लागि समेत थप बजेट मागेकी छिन् । अब उनको प्राथमिकता वडामा स्वास्थ्यचौकी स्थापना गर्नेतिर छ । ‘स्वास्थ्यचौकी नहुँदा यहाँका जनताले निकै सास्ती भोग्नुपरेको छ,’ उनी भन्छिन, ‘त्यसैले आगामी वर्षको लागि यसलाई प्राथमिकताम राखेकी छु ।’
गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा उनको काम गर्ने शैलीबाट प्रभावित छन् । ‘पुरुष वडाध्यक्ष भएका वडाको तुलनामा त्यहाँ राम्रो काम भएको छ, यसले हामीलाई सजिलो बनाइदिएको छ,’ उनी भन्छन, ‘उहाँको लगनशीलता र क्षमताले महिलाले केही गर्न सक्दैनन् भन्ने भ्रम च्यातिदिएको छ ।’ काममा रातदिन खटिने स्वभावले अरुलाई पनि हौसला दिने गरेको उनले बताए ।

 

प्रतिक्रिया