कान्छा !

कान्छा !

सुनिता वस्नेत

पट्पट् फुटेका हातहरु,
त्यो भन्दा नि फुटेको कर्म मेरो
नाकमा कट्कटिएको सिंगान
जिंग्रिग परेको लामो कपाल छ मेरो
मेरो नाम ‘कान्छा’ हजुर
थर के हो थाहा छैन
यहि सडकमा जन्मे हुर्के
यहि खुट्टा टेके
आफ्ना भन्नु को थिए र ?
सधैं एक्लै हिडे !
आकासको छानो मुनि लाखौं तारा गन्दै
पेटको ज्वाला निभाउन जय हजुर भन्दै
बिहान सबेरैबाट सुरु हुन्छ पेट भर्ने रन्को
निष्ठुरी नै हुंदो रैछ भोक भन्ने टन्टो
भोक लाग्छ, निन्द्रा भाग्छ, चिसो भुईंको ओच्छ्यान
मरे काटे सक्ने होइन पर्खनलाई बिहान
बदलियो मेरो कथा आइ यहि होटेलमा
साहु मेरा सबै भन्दा नजिकका नाता
भॉडा नमाजिकन खुल्दैन मेरो खाता
पेट भर्छु, साहु खुसी पार्छु, आफु दंग पर्छु
होटेल कै बेन्चमा सुति सपना नि देख्छु
सडकबाट यहॉ आएं, अब जाने कहाँ ?
कोहि छन् कि बिधाता भाग्य लेख्ने यहॉ ??

प्रतिक्रिया