चन्दाको भरमा ‘मदरसा’

चन्दाको भरमा  ‘मदरसा’


दैलेख — दैलेखको एकमात्र मदरसा आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पुगेको छ । दुल्लु नगरपालिका–१० मा सञ्चालित कादरियाओ मदरसा लामो समयदेखि चन्दाको भरमा छ । सरकारी निकायको बेवास्ताका कारण मदरसा सञ्चालनमा समस्या भएको अभिभावकको गुनासो छ । मुस्लिम समुदायका अगुवा फरमेस मियाँले शिक्षक पाल्न समस्या भएपछि मदरसा बन्द हुने अवस्थामा पुगेको बताए । उनका अनुसार अभिभावकले चन्दा संकलन गरेर मदरसा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

दुल्लु नगरपालिका–१० मा मुस्लिम समुदायका ७० घरधुरी बस्दै आएका छन् । मुस्लिम समुदायको प्रमुख पेसा चुरा बनाउने हो । पुख्र्यौली पेसाबाट पलायन भएका उनीहरूले ज्याला मजदुरी गरेर जीवनयापन गरिरहेका छन् । अधिकांश अभिभावकको आर्थिक स्थिति मजबुत नभएकाले चन्दा दिन पनि नसक्ने अवस्थामा रहेको मियाँले बताए ।

१० वर्षदेखि गाउँमा मदरसा सञ्चालनमा छ । आधारभूत तहसम्म सञ्चालन गरिएको मदरसा यसअघि शिक्षकलाई तलब खुवाउन नसक्दा तीन महिना बन्द भएको थियो । तीन महिना बन्द भएको मदरसामा अभिभावकले चन्दा संकलन गरी सञ्चालन गर्ने सहमति भएपछि फेरि पठनपाठन सुरु गरिएको हो । विद्यालयमा ६४ जना विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीलाई एकजना शिक्षिकाले पढाइरहेकी छन् ।

शिक्षिका जावारी मियाँले विभिन्न निकायमा मदरसा सञ्चालनका लागि सहयोग माग्दै आए पनि बेवास्ता भइरहेको बताइन् । उनले मदरसामा पठनपाठनदेखि प्रशासनिक, व्यवस्थापनलगायतका सबै काम आफू एक्लैले गर्दै आएको बताइन् । ‘विद्यालयको आर्थिक अवस्था दयनीय छ,’ उनले भनिन्, ‘चन्दाबाटै विद्यालयको प्रशासनिक, शैक्षिक सामग्री खर्चमा व्यवस्थापन गर्नुपरेको छ ।’ जिल्ला शिक्षा कार्यालयले एक जनामात्र शिक्षकको व्यवस्था गरेको उनको गुनासो छ ।

अरू शिक्षकको व्यवस्था भए पठनपाठन सहज र व्यवस्थित बन्ने उनको भनाइ छ । मुस्लिम संस्कृति र भाषा जोगाउन मदरसा स्थापना गरिएको मुस्लिम अगुवाको भनाइ छ । अभिभावक आर्थिक रूपले सक्षम नभएकाले मासिक चन्दा संकलन गर्न समस्या रहेको शिक्षिका खातुनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकै कारण तह बढाउन नसकिएको उनको भनाइ छ । ‘कम्तीमा पनि माध्यमिक तहसम्मको शिक्षा दिलाउन सके यहाँका बालबालिकालाई धेरै राहत हुने थियो,’ उनले भनिन्, ‘आर्थिक समस्याका कारण आधारभूत तहको विद्यालय सञ्चालन गर्नै समस्या छ ।’

स्थानीय तह निर्वाचनका बेला अधिकांश उम्मेदवारले सरकारी अनुदानको व्यवस्था गर्ने, शिक्षक दरबन्दी बढाउने, मदरसाको तह वृद्धि गर्नेलगायतका आश्वासन दिएका थिए । ‘जनप्रतिनिधिले वास्ता नगर्दा मदरसा बन्द हुने अवस्थामा पुगेको छ,’ मियाँले भने, ‘अभिभावकले पनि चन्दा संकलन गरी सञ्चालन गर्न सक्ने अवस्था छैन ।’

प्रतिक्रिया