यो बालविवाह होईन हैं

यो बालविवाह होईन हैं

दैलेख, साउन ६ – डुुङ्गेश्वर गाउँपालिका–६ देवीस्थानका एक जना मेहनती कृषक उन्नती कृषि फर्मका सञ्चालक देवेन्द्र गोदार क्षेत्रीले असार २४ गते एउटा फेसबुक स्टाटस लेखे ‘सरकारले तोकेको भन्दा बढी उमेर पुगी सकेको विहे हो है ।’
उनका दाईको छोरी कल्पना गोदार र सर्खेतको बीरेन्द्रनगर नगरपालिका–१० पिपिरा घरमा देवेन्द्रका आफ्नै शाला सन्तोष खत्रीवीच विवाह भएको कुरा परिचय पनि उनले फेसबुक स्टाटसमै खुलाई दिएका छन् ।
१२ कक्षा उत्तीर्ण गरेकी २१ वर्षकी कल्पना स्नातकको पढाई विवाहपछि सुर्खेतमै गर्ने पारिवारिक सल्लाह भएको छ भने स्नातकोत्तर उत्तीर्ण २४ वर्षका सन्तोस शिक्षण पेशामा संलग्न छन् ।
फेसबुकमा पोष्ट गरिएका फोटो सर्च गरेर २० वर्ष पुगेर विवाह गरिएको हो कि बालविवाह हो ? भनी प्रहरीले खोजी तलासी गर्ने गरेको कारण आफन्तको विवाह उमेर पुगेर मात्र गरिएको जानकारी गराउन फेसबुकमा यस्तो लेखिएको देवेन्द्र गोदारले प्रष्ट्याए ।
समुदायबाट प्राप्त सूचनाका आधारमा बालविवाह भएको पुष्टी भएमा प्रहरीले कारवाही गर्छ भन्ने सन्देश देवेन्द्र गोदार जस्तै सचेत नागरिकहरुले सहयोग गर्दै आएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सरोज पौडेलले बताए ।
विवाहको फोटो पोष्ट गरिएको फेसबुस स्टाटसमा केटा केटीको उमेर २० वर्ष पुगेको छ वा छैन भनी प्रतिक्रिया लेख्ने गरेको पाइन्छ र विवाहमा निम्तो आएमा दुल्हादुल्हीको उमेर २० वर्ष पुगे नपुगेको निश्चित गरेर मात्र विवाह भोजमा जाने दैलेखमा संस्कार बसेको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष हीरासिंह थापाले त विवाहको निम्ता गर्नेहरुसंग दुल्हादुल्हीको उमेर २० वर्ष पुगेको पुष्टी हुने कागजपत्र नै देखाउन आग्रह गर्ने गरेको बताए । उनले भने ‘कागज नदेखाउनेको विवाहमा जादिन ।’
२०६८ को जनगणना अनुसार जनसंख्याको अनुपातमा बालविवाह बढी हुने जिल्लामा दैलेख देशभरकै तेश्रो स्थानमा भएको कारण बालविवाह रोकथामका लागि प्रहरी–प्रशासन, स्थानीय तहहरु, महिला तथा बालबालिका कार्यालय, गैससहरु समेतको साझा प्रयत्नपछि बालविवाह रोकथाम अभियान प्रभावकारी बन्दै गएपछि अभियानलाई सामुदायिक सहयोग पनि जुट्दै गरेको छ ।
बालविवाह रोकथाम अभियानको प्रतिफल राम्रो हुदै गएको बताउदै यसलाई निरन्तरता दिनुपर्ने अधिवक्ता खड्गबहादुर सिजापतिको सुझाव छ । उनले भने बालविवाह गर्नेको अध्ययन रोकिने, आर्थिक कठिनाई, पारिवारिक कलह सिर्जना हुने गरेको कारण बालविवाह रोकथाम अभियान निरन्तरताको जरुरी रहेको अधिवक्ता सिजापतिको बिश्लेषण छ ।

प्रतिक्रिया