जुम्ला घटना : ‘उच्छृंखल समूहले गोली चलाउन बाध्य बनायो’

जुम्ला घटना : ‘उच्छृंखल समूहले गोली चलाउन बाध्य बनायो’

सुर्खेत — आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसी जुम्लामा अनशनरत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै गोली चलेको घटनालाई दुर्भाग्यवश भएको बताएका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा सांसदहरुको प्रश्नहरुको जवाफ दिँदै उनले आन्दोलनकारीको नाउमा उच्छृंखल समूहले अनावश्यक हर्कत देखाएकाले दुखद् परिस्थिति सिर्जना भएको बताए । ‘प्रमुख जिल्ला अधिकारीसहित सबै पक्षसँग शान्तिपूर्ण समाधान खोज्दै थियौं, हामीलाई प्रतिष्ठानभित्र पस्न दिइएन’ उनले भने, ‘अस्पतालमा जे-जति क्षति हुन पुग्यो, त्यसबाट म पनि दुस्खी छु, अस्पताल जन्माउनको लागि उतिबेला म कठघरामा उभिएको थिएँ, आज त्यही अस्पताल तोडिँदा तपाईं (सांसद) हरुलाई जवाफ दिन कठघरामा उभिएको छु ।’ मन्त्री भण्डारीले हिंसात्मक घटनामा उच्छृंखल समूहको हात रहेको भन्दै त्यही समूहबाट डा।केसी चढेको एम्बुलेन्स माथि ढुंगा प्रहार गर्दा सिसा फुटेको, पाँच वटा गाडी तोडफोड भएको जानकारी दिए । उच्छृंखल समूहबाट डा। केसीलाई जोगाउन प्रहरीले बाध्य भएर गोली चलाएको मन्त्री भण्डारीको जवाफ थियो ।

संसद्को बिहीबारको बैठकमा जुम्लाका कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले मुख्यमन्त्री र प्रदेशकै गृह (आन्तरिक मामिला) मन्त्रीकै सामुन्ने अस्पतालभित्र प्रहरीले किन गोली चलायो रु भन्दै सरकारको जवाफ मागेका थिए । डा। केसीको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं ल्याउन सहयोग गर्न केन्द्र सरकारले प्रदेश सरकारलाई आग्रह गरेको थियो । साउन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्री भण्डारी डा. केसीलाई काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टरसहित जुम्ला पुगेका थिए । डा। केसीलाई काठमाडौं लैजान नदिन उनका सर्मथक र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो ।

यसैबीच, बैठकमा सांसद अमृता शाहीले कञ्चनपुरको भीमदत्त नगरमा बालिका बलात्कार भएको र उनले न्याय पाउन नसकेकोमा सरकारको ध्यानाकर्षण गराइन् । ‘यो देशमा कानुनी राज छ कि छैन रु किन बलात्कारीहरुलाई प्रहरीले पक्राउ गर्न सक्दैन रु’ उनले भनिन्, ‘प्रदेश सरकारले यस संघीय सरकारलाई आवश्यक दबाब देओस्, दोषीले कुनै हालतमा उन्मुक्ति नपाऊन ।’ अर्का सांसद कौशिलावती खत्रीले जाजरकोटको जुनीचाँदे-३ का स्थानीय भक्तबहादुर बुढाको घर बाढीले बगाएको र उनले श्रीमती र नातिनी गुमाउन बाध्य भएकाले उक्त परिवारलाई तत्काल राहतको खाँचो औंल्याइन् ।

बैठकमा कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल भयो । छलफलमा सांसदहरु गुलाबजंग शाह, अमरबहादुर थापा, सीता नेपाली र धर्मराज रेग्मीले भाग लिए । सांसदहरुले सचिवको उमेर, सेवा–सुविधा स्पष्ट पार्नुपर्ने सुझाव दिए । सैद्धान्तिक छलफलपछि सभामुखले संशोधनको सूचना सुनाए । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय उपलब्ध गराइएको छ । संसदको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया