बहुविवाहको क्रम बढ्दो !
नारायण नगरपालिका–४ सोतकी २३ वर्षीया चन्द्रा सुनारको विवाह भएको ६ वर्ष भयो, उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौ वर्षमा चाहिं जुम्ल्याह २ छोरी भए ।
जुम्ल्याह छोरीहरू गएको चैत्रमा १ वर्षको भएका थिए, गएको वैशाखमा पाँचौ सन्तान छोरा जन्मिएको छ । छोरा जन्मेको पनि ४ महिना पुग्दैछ, यी बर्षौटे छोराछोरी सम्हाल्न चन्द्रालाई हैरानी छ तर उनका पति बसन्त सुनारले २१ वर्षकी महिला दोश्रो पत्नीको रूपमा भित्र्याएका छन् ।
नारायण नगरपालिका–१० की सङ्गीता बिकलाई दोश्रो पत्नीको रूपमा भित्र्याएर पनि भारत तर्पm लैजाने गरी सुर्खेत पुगेकाले उनीहरूलाई गिरफ्तार गरी कानुनी कारबाही चलाई पाऊँ भनी पीडित चन्द्रा जिल्ला प्रहरी कार्यालय दैलेखमा सहयोगको याचना गर्दै थिइन् ।
घरमा छोड्न सकिने २ वटा बच्चालाई आफन्तलाई रेखदेख गरिदिन भनेर ३ वटा दूधे सन्तानहरू लिएर जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा चन्द्रा पुगेको बेला दैलेखकै महाबु गाउँपालिका–३ बाँसीकी बिजया नेपाली पनि आफ्नो पति प्रेमबहादुर नेपालीले अर्कै महिला लिएर भारत जान साउन १८ गते नै हिँडेकोले खोजतलास गरी दिन उजुरी लिएर प्रहरीमा पुगेकी थिइन् ।
गुराँस गाउँपालिका–४ तालपोखरीका २६ वर्षीय विष्णुबहादुर शाही र नारायण नगरपालिका–३ प्यूसेकी २१ वर्षीया गीता गुरूङले बहुविवाह गरेको भनी जेठी पत्नी सुनिता मल्लले दिएको उजुरीमा प्रहरीले साउन १८ गते नै गिरफ्तार गरेको छ ।
बहुविवाहको उत्पीडनमा दैलेखी महिलाहरू पीडित छन् भन्ने कुरा यी प्रतिनिधि घटनाहरूले जनाउँछ । कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चाहरू जन्माइसक्ने अनि आर्थिक अभावमा पारिवारिक कलह सुरू भएर अधिकांशले सम्बन्ध विच्छेद वा बहुविवाहको पीडा भोग्न बाध्य भएका छन् ।
सानैमा विवाह गरेकै कारण शिक्षा आर्जन रोकिने अनि शिक्षाको अभावमा रोजगार वा आत्म निर्भर हुने स्वरोजगारीका सीप, ज्ञान समेत नहुँदा आर्थिक कठिनाई अनि पारिवारिक कलहले सम्बन्ध विच्छेद वा बहुविवाहको अवस्था सिर्जना गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर सुशील थापाले बताए ।
वैदेशिक रोजगारीले परिवार सँगसँगै बस्न नपाएकोले सम्बन्ध विच्छेद वा बहुविवाहको क्रम बढेको महिला तथा बालबालिका कार्यालय दैलेखका निमित्त महिला विकास अधिकृत माधुरी न्यौपानेको विश्लेषण छ । उनले भनिन्–‘यो बालविवाहकै उपज हो ।’
महिला आत्म निर्भर हुन नसक्नुले कमाईकाज हुने पुरूषहरूले बहुविवाह गर्ने गरेको न्यायिक समितिमा सूचना आउने गरेका र त्यस्ता मुद्दा कानुनी प्रक्रियामा लैजान प्रहरीमार्फत अदालत पठाउने गरेको गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बीसीले बताइन् ।
मदिराले घरेलु हिंसा बढ्दै गएर सम्बन्ध विच्छेद र बहुविवाहको अवस्थासम्म पुग्ने गरेको भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले बताइन् । यी समस्याको उचित समाधानबारे उनले भनिन्–‘कानुन कार्यान्वयन प्रभावकारी बनाइनुपर्छ ।’
अहिलेसम्म चलिरहेको मुलुकी ऐन २०२० को विवाहवारी महल १० नम्बरले बहुविवाह गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद ५ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
०७५ भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७५ मा बहुविवाह गर्ने कसूरदारलाई गरिने सजाय बढाएर एक वर्षदेखि पाँच वर्षसम्म कैद वा १० हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
साभार इन्सेक
प्रतिक्रिया