एक महिने बर्षे मेला शुरु

एक महिने बर्षे मेला शुरु

साउन २४, दैलेख, कर्णाली प्रदेश अन्तरगतको दैलेख जिल्ला कला सँस्कृतिको हिसावले महत्वपुर्ण जिल्लाको रुपमा परिचित छ । सयौं बर्ष पुरानो मानिएको बर्षेमेला आज (विहिवार)बाट सुरु भएको छ । सामाजिक सद्भाव कायम गर्दै दैलेख सदरमुकाम लगाएत जिल्लाका विभिन्न स्थानमा संचालन गरिने एक महिने मेला सुरु भएको हो । गाँठेमंगलको शुरुवात सँगै दैलेखकै प्रख्यात मानिएको एक महिना लामो वर्षे मेला सुरु भएको हो । पातीको ठूलो पुत्ला सँगै एउटा लामो रसिमा सिस्नो बाधेर बाटो छेकी आवात जावत गर्नेहरुलाई रोकेर वर्षे मेलाको सुरुको दिन दक्षिणा माग्ने चलन रहेको छ ।
‘गाठे मंगले दान दिनुहोस, घैटे सर्प पैसा दिनुहोस’ भन्दै बाटो बाटोमा गाठे मंगलेको तस्विर बनाएर दक्षिणा माग्ने चलन रहेको छ । पर्वको दिन वाटोमा आवत जावत गर्ने सँग गाठे मंगलेको रक्षाको लागि भन्दै पैसा लिने चलन रहि आएको छ । साउन महिनाको घटस्थापनाका दिनदेखी सुरु हुने बर्षे मेला अन्तरगत मुख्य रुपमा लाखे जात्रा, टाकटुके जात्रा, रोपाँई जात्रा, बाघ जात्रा, जोगी जात्रा हुँदै अन्तिम दिन अर्थात कृष्णा अष्ठमीको राती कृष्णको जन्म गराई भोलिपल्ट कृष्ण र कंशको रुपमा लाखेलाई बजार परिक्रमा गर्ने गरिन्छ । कृष्ण लिला अनुसार कंशको रुपमा लाखेको स्थापना गरिन्छ । एकमहिना अर्थात कृष्णाअष्ठमी पर्वको मेला कृष्णको जन्म गराई लाखेको बध गरेपश्चात मेला समाप्त हुने गर्दछ । गाठे मंगल देखि शुरु हुने वर्षे मेला कृष्ण जन्माष्टमीको भोली पल्ट लाखे काटे सँगै समापन हुने गर्दछ ।
यो पर्व नेवार समुदायले परापुर्व काल देखि मनाउदै आएको भए पनि अहिले यो जिल्ला सबै जातजातीका लागि साझा पर्वको रुपमा विकसित भएको छ । शुरुमा राक्षस र देवताको लडाई भयो । भगवान संग रिस मानेर राक्षस भागेर गयो । त्यस पछि त्यसले दुईकानमा घण्ट झुडाएर भगवानको नाम नसुनियोस् भनेर हिड्यो तर पछि राम भगवानले दर्शन दियो । त्यस पछि मात्र यसलाई लोकले मान्यता दिएको नेपाली समाजमा मान्यता छ ।
त्यति मात्र नभएर यसले चाड पर्व भित्रिएको समेत संकेत गर्ने गरेको पाइन्छ ।दैलेख सदरमुकाममा एभरेष्ट, सुनगाभा, ज्वाला र भगवती यूवा क्लवहरुले यस जात्रालाई विगत लामो समयदेखि संचालन गर्दै आईरहेका छन् । मल्लकालका राजा प्रताप मल्लको पालादेखि काठमाडौका नेवार समुदायले मात्रै मनाउने गरेको लाखे जात्रालाई अहिले दैलखमा सवै समुदायका मानीसहरुले विशेष चाडको रुपमा मनाउन थालेका छन् । दैलेखमा विगत दुईसय बर्ष पुरानो परम्परा वोकेको बर्षेमेला हेर्न जिल्लाभरका हजारौं मानिसहरुको भीडा लाग्ने गर्दछ । आपसी मेलमिलाम, भेटघाट र स्थानीय उत्पादनहरुलाई समेत सदरमुकाम ल्याई बिक्रि वितरण गर्ने प्रचलन अहिले पनि कायमै रहेको छ ।

प्रतिक्रिया