महाधिवेशनको विकल्प महाधिवेशन : नेविसंघ सहमहामन्त्री चलाउने

महाधिवेशनको विकल्प महाधिवेशन : नेविसंघ सहमहामन्त्री चलाउने

देशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनबाट निर्वाचित कमिटीको दुई वर्षे कार्यकाल भदौ २ गते समापन हुँदैछ । नेविसंघभित्र दुई खेमा प्रष्ट देखिन्छ । एउटा समूह तत्काल महाधिवेशनमा जानु पर्ने भन्दै आवाज उठाइरहेको छ भने अर्को संस्थापन समूह विवादहरु मिलाएर विधानसम्मत तीन महिना समयावधि थपेर मंसिरमा अधिवेशन गर्ने पक्षमा रहेको छ । नेविसंघ महाधिवेशनको वरपर रहेर ११औं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित अम्बिका चलाउनेसँग नेपालनीतिका लागि जागृत पौडेलले गरेको कुराकानीको अंश :

नेपालनीति : नेविसंघको राजनीतिमा कति वर्षदेखि हुनुहुन्छ ?
अम्बिका : विगत १६ वर्षदेखि निरन्तर नेविसंघको राजनीतिमा सक्रिय छु ।

नेपालनीति : केन्द्रीय कमिटी वा पदाधिकारीमा कहिलेदेखि हुनुहुन्छ ?
अम्बिका : हाम्रो संगठनमा धेरै वर्ष महाधिवेशन भएन । १०औं वर्षसम्म महाधिवेशन नहुँदा नेतृत्व होल्डमा थियो । ११औं महाधिवेशनमा म नेपाल विद्यार्थी संघको सहमहामन्त्रीमा विजयी भएकी हुँ ।

नेपालनीति : नेविसंघ पछिल्ला दिनहरुमा विवादरहित बन्न सकेन नि? किन ?
अम्बिका : नेपाल विद्यार्थी संघ एउटा गर्विलो इतिहास बोकेको विद्यार्थी संगठन हो जसले नेपालको शैक्षिक रुपान्तरणका मुद्दा मात्रै हैन सामाजिक रुपान्तरण र आर्थिक सशक्तिकरणका पाटाका विषय पनि राज्यसँग जोडदार एवं बुलन्द रूपमा आवाज उठाउँदै आएको छ । लोकतन्त्र र लोकतान्त्रिक पार्टीको भातृ संगठनमा विचारका दृष्टिकोणले केही मतमतान्तर हुनु स्वभाविक नै हो । समूह हुनु स्वभाविक नै हो तर पछिल्लो समय विचार र विधिभन्दा पनि व्यक्तिगत स्वार्थ हावी हुँदै गएका कारण संगठनमा अलिकति अप्ठेरो परेको विषय पनि सत्य भने हो ।

नेपालनीति : कत्तिको अप्ठेरो छ महिला (छात्रा)लाई नेविसंघमा राजनीति गर्न ?
अम्बिका : नेविसंघमा मात्रै हैन, कुनै पनि दल वा संगठनमा राजनीति गर्न महिलालाई सजिलो छैन । हाम्रो समाज पितृसत्तात्मक सोचको समाज हो । अहिले पनि हामी त्यो सोचबाट ग्रसित छौं । त्यसैले महिलाले नेतृत्व गर्न सक्दैनन्, भनेको काम गर्न सक्दैनन् वा उनीहरुले आफूले पाएको पदको भूमिका निर्वाह गर्न सक्दैनन् भन्ने सोच अहिले पनि हाम्रो समाजमा व्याप्त रहेको छ । यही सोचका कारण महिलालाई राजनीतिमा अप्ठेरो छ ।

नेपालनीति : विधानतः नेविसंघको १२औं महाधिवेशन साउनमै हुनुपर्ने, किन हुन सकेन ?
अम्बिका : नेपाल विद्यार्थी संघको विधानमा निर्वाचित कमिटीको कार्यकाल दुई वर्षको रहने व्यवस्था छ । साथै, यदि कुनै कारणले दुई वर्षभित्र महाधिवेशन हुन सकेन भने तीन महिना समितिको अवधि थप गर्न सकिने व्यवस्था पनि विधानमै गरिएको छ । त्यसपछि भने उक्त कमिटी स्वतः भंग हुनेछ । संगठन भित्रको समस्यालाई मिलाएर लाने प्रयासस्वरुप मंसिरसम्ममा अधिवेशन गर्ने तयारी हुँदैछ ।

नेपालनीति : ३ महिना समायवधि थपिने सम्भावना छ ?
अम्बिका : त्यो त विधानमै उल्लेख छ ।

“हाम्रो समाज पितृसत्तात्मक सोचको समाज हो । अहिले पनि हामी त्यो सोचबाट ग्रसित छौं । त्यसैले महिलाले नेतृत्व गर्न सक्दैनन्, भनेको काम गर्न सक्दैनन् वा उनीहरुले आफूले पाएको पदको भूमिका निर्वाह गर्न सक्दैनन् भन्ने सोच अहिले पनि हाम्रो समाजमा व्याप्त रहेको छ ।”

नेपालनीति : विधानमा त विशेष परिस्थितिमा मात्रै थपिने भन्ने छ नि त ? त्यस्तो विशेष परिस्थिति केही छ र ?
अम्बिका :  ११औं महाधिवेशनपछि पनि हाम्राबीचमा केही मतमतान्तर रहे । हामी विवादबाट माथि उठ्न सकेनौं । धेरै खालको संघर्ष, योगदान, बलिदानी, दिएर हामी ११औं महाधिवेशनसम्म आइपुगेका थियौं । ११ औं महाधिवेशनपछि हाम्रो संगठनमा जुन तरिकाले मुभमेन्ट हुनुपथ्र्यो त्यस्तो हुन सकेन । भलै हामी आइसकेपछि केही काम भएन भन्ने चाहिं हैन, हामी आइसकेपछि र हाम्रै अध्यक्षको पहलमा धेरै वर्ष हुन नसकिरहेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन भयो र हामीले राष्ट्रियताको विषयमा पनि आवाज उठायौं । यी बाहेक पनि धेरै सुधारका काम भएका छन् । तसर्थ, समस्या समाधानका लागि तीन महिना समय थप हुनसक्छ ।

नेपालनीति : नेविसंघ भित्र एउटा खेमा तत्काल महाधिवेशन गर्नुपर्छ भनेर लागिरहेको छ, तपाईंहरु तीन महिना थपेर भए पनि संगठनभित्रको सबैखाले विवाद मिलाएर लानुपर्छ भनिरहनु भएको छ । योबीचमा सहमतिको सुत्र केही भेट्ने देख्नु भएको छ ?
अम्बिका : अहिले सहमति गर्ने प्रयास भइरहेको छ । खास कुरा विधानभन्दा बाहिर गएर गर्ने गरिने कुनै पनि क्रियाकलापले अर्थ राख्दैन । नेतृत्वलाई दबाब सिर्जना गर्न लागि केही साथीहरुले काम गरिरहनु भएको छ ती कुराहरु अलिकति बढी अराजक भयो की भन्ने खालको पनि छ तर विधानतः नेविसंघको अध्यक्षले अहिलेसम्म मनोनित गर्ने र विभिन्न क्षेत्रमा प्रतिनिधि पठाउनेलगायत सबैमा सहमतिका साथ काम गर्दै आइरहनु भएको छ र सहमतिका सुत्रको खोजी भइरहेको छ ।

नेपालनीति : कार्यकाल समाप्त हुनुभन्दा केही दिन अघिसम्म पनि मनोनित गर्ने लगायतका काम भइरहेको थियो । १० वर्षअघिको नेविसंघ र तपाईंहरुले नेतृत्व गर्नु भएको नेविसंघबीच पनि फरक त देखिएन नि ? 
अम्बिका : यस प्रश्नमा यथार्थता छ । विधानतः मनोनित गर्ने अधिकार अध्यक्षसँग रहेको छ । अध्यक्षले सबै पक्षलाई समेट्ने क्रममा आफ्नो अधिकारको प्रयोग गर्ने विषय अलि ढिलो गर्नु भयो ।

नेपालनीति : सल्लाह हुँदैन कमिटीमा ?
अम्बिका : मनोनित गर्ने सन्दर्भमा विधानले अध्यक्षलाई नै सम्पूर्ण अधिकार दिएको छ । आवश्यक सर सल्लाह पक्कै हुन्छ ।

नेपालनीति : १२औं महाधिवेशन मंसिरमा हुन्छ ?
अम्बिका : १२औं महाधिवेशन मंसिरमा हुन्छ र हुनुपर्छ भन्ने मेरा मान्यता हो ।

नेपालनीति : हनुपर्छ वा हुन्छ ?
अम्बिका : नेविसंघभित्रको विवाद मिलाउनका लागि अहिले पार्टीले नै अग्रसरता लिएको छ । पार्टीका सहमहामन्त्री प्रकाशशरण महतज्यूको नेतृत्वमा नेविसंघको विवादलाई साम्य गर्नका लागि नेविसंघका पूर्व अध्यक्षहरु एवं पार्टीका केन्द्रीय सदस्यहरु र हालका अध्यक्षसमेतलाई राखेर एउटा समन्वय कमिटी गठन गरिएको छ । के कारणले नेपाल विद्यार्थी संगठनको विवाद सडकमा छताछुल्ल तरिकाले आयो, महामन्त्रीको समूहले किन वाल पेन्टिङ नै गर्नुपर्याे, त्यस्ता विषयमा छलफल गरेर नेविसंघको संगठनलाई अझ मजबुत बनाउन उक्त कमिटीले काम गरिरहेको छ । अहिले राष्ट्रको परिस्थिति हाम्रो अनुकुल छैन । त्यसका विरुद्ध पनि हामी लड्नु पर्ने बेला हामी आन्तरिक रूपमै कलहमा छौं । त्यस कारण यसलाई समाधान गरेर लानुपर्छ भनेर हाम्रो नेतृत्व र मातृ पार्टी कांग्रेस नै लागेको हुनाले यो विषयमा सहमति हुन्छ र हामी महाधिवेशनमा जान्छौं ।

नेपालनीति : १२औं महाधिवेशनबाट महिलाले नेतृत्व गर्न पाउनुपर्छ भन्ने आवाज उठाइरहनु भएको छ । यस विषयमा केही बताइदिनुस् न ?
अम्बिका : नेपाल विद्यार्थी संघको इतिहासमा अहिलेसम्म छात्रा वा महिलाले नेतृत्व गरेको छैन । हाम्रो इतिहासमा उपाध्यक्षहरु त हुनुभयो तर नेपालगञ्ज महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रतिमा गौतमलाई महिला भएकै कारण अध्यक्षको जिम्मेवारी पत्याइएन । पार्टी नेतृत्वले टिका लगाएर नेतृत्व चयन गर्दा उहाँलाई पनि गर्न सक्थ्यो तर गरेन । त्यो मौका मिस भयो । हाम्रो सहकर्मी संगठन अनेरास्ववियूमा दुई–दुई पटक छात्राले नेतृत्व गरिसकेको परिस्थिति, समावेशी लोकतन्त्रको अभ्यास र नेविसंघको विधानमा उमेर हदबन्दीको कुरा गर्दै गर्दा र महाधिवेशनको निरन्तरताको कुरा गर्दै गर्दा अबको अध्यक्ष महिला हुनुपर्छ भन्ने मेरो भनाइ हो । र, त्यस्तो परिस्थितिमा म पनि नेविसंघलाई नेतृत्व प्रदान गर्न सक्छु भनेर मैले आवाज अघि बढाएको हो । नेपाल विद्यार्थी संगठनलाई सैद्धान्तिक र सांगठनिक रूपमा नेतृत्व प्रदान गर्न सक्छु भन्ने मेरो दाबा हो । साथै म मात्रै हैन, हामी महिलाहरुले नेतृत्व गर्न सक्छौं है, भन्नका लागि पनि मैले यो विषयलाई सतहमा ल्याएकी हुँ ।

नेपालनीति : त्यसो भए १२औं महाधिवेशनमा तपाईं पनि नेतृत्वको रेसमा हो ?
अम्बिका : हाम्रो संर्कीण र पितृसत्तात्मक सोच छ । महिलाले नेतत्व गर्न सक्दैनन् भन्ने सोच छ । मेरो कुरा गर्नु हुन्छ भने फस्र्ट म्यान भएर स्वतन्त्र विद्यार्थी यूनियनको सभापति हुँदा होस् वा कुनै पनि कमिटीमा हुँदा होस् मैले जुन पदीय जिम्मेवारीमा सम्हाल्दै आएँ, त्यसलाई मैले कुशलतापूर्वक निर्वाह गरेकी छु । कतिपय मानवीय कमी कमजोरी हुन्छन्, मान्छेमा तर अहिलेको परिस्थितिमा नेविसंघको संगठनलाई राजनैतिक–वैचारिक र सांगठनिक किसिमले हाँक्न सक्ने क्षमता मसँग छ । त्यसैले म पनि छु है, भन्ने मेरो दृष्टिकोण हो । आम विद्यार्थी तथा छात्राहरुले पनि एक चोटी नेपाल विद्यार्थी संगठनको इतिहास रच्ने बेला आएको छ भन्ने सोच राखेका छन् । १२औं महाधिवेशनमा हामी जो पनि नेतृत्वको प्रतिस्पर्धामा छौं सबैले एक पटक इतिहास रच्नुपर्छ भन्ने सोच राखेका छौं । रह्यो मेरो कुरा, अझै प्रष्ट पारौं, मैले महिला (छात्रा) का रूपमा मात्रै नेतृत्व दाबी गरिरहेको छैन । नेविसंघ र कांग्रेसमा मेरो सक्रियता, योगदान र क्षमताका कारण अध्यक्षमा मेरो दाबी हो ।

नेपालनीति :  नेपाली कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिका, अछामकी निर्वाचित उपप्रमुख पनि हुनुहुन्छ । संघीय सरकार र प्रादेशिक सरकार दुवैको नेतृत्व कम्युनिष्टले गरिरहेका बेला नेपाली कांग्रेसले जितेको तपाईंको नगरपालिकामा काम गर्न कत्तिको सहज छ ? 
अम्बिका : संविधानको मुल मर्म र संघीयताको मान्यताअनुसार नेपालको तीन तहको सरकार चलेको छैन । यो यर्थाथता हो । मेरो नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेद्वार भएर विजयी भएको दुई तिहाई बहुमत छ । संघ र प्रदेशले बजेट विनियोजन गर्दा साधारण मूल्य मान्यतालाई पनि हेरेको छैन । भनौं न, अलि विभेदकारी खालको परिस्थितिले काम गर्न त्यत्ति सजिलो भने छैन, संघ र प्रदेश सरकारसँग ।

नेपालनीति : गैरकम्युनिष्ट स्थानीय निकायमाथि विभेद छ भन्न खोज्नु भएको हो ?
अम्बिका : त्यस्तै देखिन्छ । भूगोल, जनसंख्या र वस्तुगत यथार्थतालाई वेवास्ता गर्दै प्रदेश सरकारले मनपरी ढंगले बजेट विनियोजन गरेको छ, हाम्रो नगरपालिकामा । हाम्रो स्थानीय निकायको आवश्यकता एउटा छ, प्राथमिकता एउटा छ तर राज्य र प्रदेश सरकारले त्यसलाई वेवास्ता गरिरहेको छ । हामीलाई चाहिं स्थानीय सरकारमा वित्तीय सामान्यीकरण भनेर ७०–८० लाख बजेट विनियोजन गर्छ तर स्थानीय सरकारको प्राथमिकता र योजनामा नपरेका छड्के योजना भने अगाडि बढाइएको छ ।

नेपालनीति : अन्त्यमा, नेपाल विद्यार्थी संघमा अध्यक्ष बन्ने अवसर वा मौका पाउनुभयो भने दुई वर्षीय कार्यकालमा संगठनले कस्तो स्वरुप पाउँछ ?
अम्बिका :  हामी आन्तरिक समस्यालाई मिलाइरहेका छौं । पार्टीले पनि अग्रसरता लिएर यस विषयलाई मिलाउन प्रयासरत छ । मलाई नेतृत्वप्रति अति नै विश्वास छ । मलाई लाग्छ दुई चार दिनमै सम्पूर्ण विवाद मिल्ने छ र विवाद मिलिसकेपछि नेपाल विद्यार्थी संघको महाधिवेशनको विकल्प महाधिवेशन मात्रै हो । महाधिवेशनबाहेकबाट नेतृत्व ल्याउनु हुँदैन भन्ने हाम्रो माग छ । अहिले नै अध्यक्ष हुन्छु भनेर भन्ने बेला पक्कै भएको छैन । तर पनि नेपाल विद्यार्थी संघको नेतृत्व गर्ने अवसर मैले पाएँ भने विद्यार्थी आन्दोलनलाई राजधानीमा मात्रै हैन, काठमाडौंबाहिर पनि लानुपर्छ भनेर म लागिपर्ने छु र लोकतान्त्रिक भोटर उत्पादन गर्नेतर्फ केन्द्रीत हुने छु । संघीयताको मर्मअनुसार विद्यालयदेखि उच्च तहसम्म नेविसंघलाई पुर्याउने मेरो अभियान हुनेछ ।

यो नेपाल नीतिवाट साभार गरिएको हो ।

प्रतिक्रिया