चिकित्सक नहुँदा उपचारमा समस्या

चिकित्सक नहुँदा उपचारमा समस्या

ग्रामीण स्वास्थ्य केन्द्रमा जानै मान्दैनन् चिकित्सक


भाद्र ६, दैलेख — जिल्ला अस्पतालमा ५ महिनादेखि ९ औं तहका चिकित्सकको दरबन्दी खाली छ । डा। सोभित थापा दैलेखबाट सरुवा भएपछि रिक्त स्थानमा ५ महिनासम्म कसैलाई पठाइएको छैन ।

विशेषज्ञ चिकित्सक नहुँदा सामान्य उपचारका लागि सुर्खेत र नेपालगन्ज जानुपर्ने बिरामीको बाध्यता छ । जिल्ला अस्पतालमै ३५ वर्षसम्म दरबन्दी थपिएको छैन । सरोकारवाला निकायले चासो नदिँदा दरबन्दी थप नभएको डा। नीरञ्जन पन्थ बताउँछन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा र नौमुलेमा लामो समयदेखि चिकित्सक नहुँदा उपचारमा समस्या छ ।

स्वास्थ्य केन्द्र स्थापना भएको ४४ वर्षसम्म पनि चिकित्सक पुगेका थिएनन् । ४४ वर्षपछि लकान्द्रा ठाटीकाँधमा पहिलो डाक्टरका रूपमा डा। विकास शाहलाई २ वर्षअघि गएका थिए । शाह अहिले अध्ययन बिदामा छन् । अहिले स्वास्थ्य केन्द्र अहेबकै भरमा चलिरहेको छ । इन्चार्ज महेश चौधरीले विकट भएकाले कोही पनि आउन नमान्दा उपचारमा समस्या भएको बताए ।

उनका अनुसार डा। शाहले २ वर्षसम्म बिरामीको उपचार गरेपछि यहाँ स्वास्थ्य सेवा सुधारको आशा पलाएको थियो । जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिने ठाटीकाँध गाउँपालिकामा चिकित्सक नजाँदा सर्वसाधारण उपचारका लागि सदरमुकाम धाउन बाध्य छन् । जनप्रतिनिधि आएपछि सडकमा मात्र ध्यान दिएकाले स्वास्थ्य अवस्था खस्किँदै गएको स्थानीयको भनाइ छ ।

दुल्लु नगरपालिकामा पनि डाक्टर बस्नै मान्दैनन् । अध्ययन र गोष्ठी बहानामा चिकित्सक राजधानीमा बस्ने गरेका छन् । डा। लाल गुरुङ र डा। लीला देवकोटा राजधानीमै रहेको जिल्ला अस्पतालले जनाएको छ । देवकोटा अध्ययन बिदा र गुरुङ परीक्षाका लागि बिदामा छन् ।

चिकित्सक बिदामा भएकाले दुल्लु अस्पताल पनि अहेबकै भरमा चलिरहेको छ । यहाँ २ चिकित्सकको दरबन्दी छ । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आएका बिरामी रिफर गर्ने काम मात्रै भएको स्वास्थ्यकर्मी बताउँछन् । नौमुलेका यदुनाथ बरालले डाक्टरको वैकल्पिक व्यवस्था नगर्दा समस्या भएको बताए । उनका अनुसार अस्पतालमा डाक्टर नभएपछि विरामी सामान्य उपचारका लागि पनि ऋण काढेर बाहिरी जिल्ला जान बाध्य छन् ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पन्थले २०२९ देखि २०४० सम्म पाएका दरबन्दीले नै अस्पताल सञ्चालन भएको बताए । ‘जिल्ला अस्पतालमा गाउँ–गाउँबाट उपचारका लागि आउने बिरामीको भीड छ,’ उनले भने, ‘एउटा डाक्टरले सबै बिरामीको कसरी उपचार गर्ने ? ’

प्रतिक्रिया