आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी

दैलेख भदाै १७ गते ।

दैलेखको सवैभन्दा लामो बर्षे मेला सकिने समय नजिकिदै गर्दा सदरमुकाम दैलेख बजारमा मेलाको रौनक बढ्दै गएको छ । श्रीकृष्णको जन्म लिलासँग सम्वन्धित कृष्ण जन्माष्टमी मेलाको अन्तिम दिन दैलेख सदरमुकाम भित्र रहेका ऐतिहासिक महत्वका तीनवटा मन्दिरहरुबाट कृष्णको जन्म गराईन्छ । दैलेखको सबैभन्दा पुरानो मानिएको भगवती मन्दिर, नारायण मन्दिर र गणेश मन्दिरबाट आज आईतवार राती १२ बजे कृष्णको जन्म गराउने तयारी यो वर्ष पनि भएको छ । भगवती क्लवले भगवती मन्दिरबाट, ज्वाला क्लवले नरायण मन्दिर, एभरेष्ट र सुनगभाले गणेश मन्दिरबाट कृष्ण जन्माउने कार्यक्रम तय गरिएको छ ।

नारायण नगरपालिका दैलेखले तीनवटै मन्दिरमा बत्ती लगायतको व्यवस्थापनमा चासो बढाएको छ । गणेश चोकमा लामो समयदेखि सोलार पाता नभएर चोकको बत्तीमा समस्या देखिएको भएपनि मेलाको अवधीलाई मध्यनजर गर्दै शनिवार नै सोलार बत्ति जडान गर्न लगाएको नारायण नगरपालिका दैलेखका कार्यवाहक नगर प्रमुख तीर्थनारायण श्रेष्ठले बताए । मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबै क्लवका पदाधिकारी, मेलाको जिम्मेवारी लिएका व्यक्तिहरु सजग भएर लाग्न श्रेष्ठले सुझाव दिएका छन् ।
मेला अवधिमा हुने झै झगडा लगायत अन्य सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले कडा सुरक्षाको व्यवस्थापन मिलाएको छ । कृष्णको अवतारमा जन्म हुने कृष्णले लाखेको बध गरेपश्चात एक महिने लामो मेलाको बिधिवत रुपमा अन्त्य गरिन्छ ।
दैलेखमा यो मेला करिव २ सय बर्ष पुरानो संस्कृति सँग जोडिएको छ । अहिले सबै समुदायले यसलाई निकै उत्साहपूर्वक मनाउन थालेका छन् । पुरानो संस्कृतीको थप जगर्ने गर्न सके आन्तरिक र बाह्य पर्यटकहरुको समेत आर्कषण हुन सक्ने मेलाका जानकार कर्णबहादुर श्रेष्ठले बताए ।

प्रतिक्रिया