पर्यटकले हेर्न पाउँदैनन् ऐतिहासिक कोतगढी

          |   प्रकाशित मितिः सोमवार, भदौ १८, २०७५     ::: 543 पटक पढिएको   |  

 

दैलेख : महेन्द्र नगर कंचनपुर घर भई हाल खाद्य संस्थान शाखा कार्यालय दैलेखको प्रमुख भएर आएका रणबहादुर ऐरी दैलेख आउनेवित्तिकै सदरमुकाम दैलेख बजारभित्र रहेको सबैभन्दा महत्त्वको स्थल भनेर गढी हेर्न गए। ढुंगैढुंगाले निर्माण गरिएको गढीको मूल गेटमा ताला लगाइएको थियो। हेर्न उत्सुकता भएपछि उनी गढी नजिक रहेको व्यक्तिको घरको छतमा पुगेर ऐतिहासिक गढी हेरे। हेरिसकेपछि उनले प्रतिक्रिया दिए- यति महत्त्वका वस्तुहरूलाई तालाबन्दी गरेर राख्नु सुहाउँदो भएन। अहिले मुगुको रारा पुगेर फर्कने अधिकांश पर्यटकहरू दैलेखमा रहेको पंचकोसी क्षेत्रको दर्शनसँगै दैलेख सदरमुकाममा रहेको ऐतिहासिक गढी र पंचदेवल हेर्न आउने गर्छन्। तर गढीभित्र पस्न पाइँदैन, बाहिरबाटै हेरेर फर्कनुपर्ने बाध्यता छ।  एक साताअघि कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढा दैलेख आए।

दैलेखका ऐतिहासिक महत्त्वका वस्तुहरूमध्येकै कोतगढी हेर्ने तयारी भएपछि तत्काल नेपाली सेनाको दैलेखमा रहेको ईन्द्रदल गुल्मबाट चाबी ल्याइयो र मन्त्रीलाई गढीभित्रको अवस्थाको बारेमा जानकारी गराइयो। साथमा पुगेका प्रदेशसभा सभासद अमरबहादुर थापा, नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्कालगायतको उपस्थिति भएका बेला नेपाली सेनाको मातहत रहेको गढी स्थानीय सरकारको मातहत ल्याउन तत्काल कर्णाली प्रदेश सरकारले पहल थाल्नुपर्ने मागसमेत सभासद र नगर प्रमुखले गरेका छन्।   गडीको महत्त्व बुझेपछि मन्त्री बुढाले यसलाई तत्काल जनताले सहज हेर्ने वातावरण बनाउनुपर्ने बताए।

नारायण नगरपालिका स्थापना भएको २० वर्ष पुगेको छ। स्थानीय सरकारले पनि गत वर्ष र यस वर्षको नीति तथा कार्यक्रममा ऐतिहासिक गढीलाई स्थानीय सरकारको मातहत ल्याउने, थप संरक्षण, प्रवर्द्धन गर्ने भन्दै नेपाल सरकारलाई अनुरोध गर्दै आएको छ। अहिलेसम्म यो कुराको सुनुवाइ भएको छैन। सरकारले माथिबाटै यस्तो विषयको टुंगो नलगाएसम्म जिल्लामा केही गर्न नसकिने गुल्मको भनाइ छ। नगर प्रमुख रत्नबहादुर खड्काले यही गढीमा भएका ऐतिहासिक महत्त्वका अर्ना र रानी नामका तोपहरू पनि सुर्खेतमा राखिएको र तिनलाई तत्काल दैलेख ल्याउनुपर्ने बताए। खड्काले प्रदेश सरकार र केन्द्र सरकारले यसबारेमा तत्काल चासो राख्नुपर्ने धारणा राखे। संरक्षण र उत्खनन्‌को आवश्यकता रहेको कोतगढी एकले अर्कोलाई गरिदेला भन्ने नाममा घेराबारमा सीमित भएको छ।

गढीभित्र रहेका तीनवटा पुराना घरहरूको अहिले निशाना भेटिँदैन। कतिपयले यसलाई फोहोर बिर्सजन गर्ने ठाउँको रूपमा प्रयोग गरेको देखिन्छ। ‘दैलेख युद्ध पर्यटनको अर्काे महत्त्वपूर्ण पाटो हुन सक्छ’, दैलेखका अग्रज पत्रकार विष्णु शर्माले भने, ‘गढीको खोज अनुसन्धानलगायतका अन्य कुराहरू गर्न नगरपालिकाले र नेपाली सेनाले चासो नदिएका कारण कोतगढी संरक्षणविहीन अवस्थामा रहेको छ।’

कोतगढीसँगै रहेका ऐतिहासिक महत्त्वका भैरव र नारायण मन्दिरको इतिहास पनि उत्तिकै महत्त्वको छ। वि.सं. १९१६ मा काजी जयमानसिंह बस्न्यातले मन्दिर निर्माण गरेको बताइन्छ। मन्दिरभित्र निकै कलात्मक गरुडनाथ, राम, लक्ष्मण र सीताका मूर्तिहरू रहेको जानकार विश्व केसीले बताए। तत्कालीन २२से २४से राज्य हुँदा बेलासपुर राज्यका प्रथम नायक श्रीवर्माले वि.सं. १४७५ मा दरबारसँगै कुल देवताको रूपमा भैरवको मूर्ति स्थापना गरेको अन्तिम राजा कर्ण शाहीकी रानीले आफ्नो माइती जुम्लाको सिंजाबाट ढलौटको भैरव मूर्ति ल्याई स्थापना गरेको किंवदन्ती अहिले पनि कायमै छ। गत वर्ष मात्रै पुरानो मन्दिर भत्काएर ढलानको पक्की मन्दिर निर्माण गरेसँगै यसको पुरातात्त्विक महत्त्व घटेको धार्मिक पर्यटकहरू बताउँछन्।

दैलेख सदरमुकामको निकै महत्त्वपूर्ण ऐतिहासिक महत्त्वको पंचदेवल पनि पर्छ। नारायण नगरपालिका- ६ मा रहेको पंचदेवल पनि ढुंगैढुंगाले निर्माण गरिएको छ। दश वर्ष पहिले पंचदेवल संरक्षण र संवर्द्धनका लागि संयुक्त राष्ट्रसंघीय युनेस्कोले विश्व संपदा सूचीमा सूचीकृत गर्न सिफारिस गरेको भए पनि हालसम्म कार्यान्वयन प्रक्रिया अगाडि बढेको छैन। विगतमा २५ वटा देवलहरू रहेको भए पनि तीनवटा देवलहरू भत्किएर अस्तित्व हराउने अवस्थामा पुगेपछि खानी तथा भू-गर्भ विभागले दुईवटा देवलहरूको गत वर्ष मर्मत गरेको थियो। गर्त वर्ष पर्यटन बोर्डबाट २५ लाख रुपैयाँ रकम पंचदेवलसम्म पुग्ने सडक ग्राभेलका लागि विनियोजन भएको थियो। अहिले पंचदेवलमा गेट निर्माण गरिएको जानकारी नारायण नगरपालिका- ६ का वडा अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिएका छन्। पंचदेवलको वरिपरि जग्गा मुआब्जामा लिएर व्यवस्थापन गर्नेबारे तयारी सुरु गरेको न्यौपानेले बताए।  नगरपालिका- १ कुइकानामा रहेका ढुंगे देवलहरू, कोटिला मन्दिरलगायतका ऐतिहासिक महत्त्वका वस्तुहरूको यति बेला अस्तित्व संकटमा परेको छ। सदरमुकामसँग सिमाना जोडिएको शिरिस्थान मन्दिर, नाभिस्थान मन्दिरलगायतका ऐतिहासिक महत्त्वका वस्तुहरूको मात्र संरक्षण गरी प्रचार प्रसार गर्न सके दैलेखमा हजारौँ पर्यटकहरू आउन सक्ने नारायण नगरपालिका- १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए। दैलेख आउने पर्यटकहरू घुम्नका लागि गणेश मन्दिर परिसरमा बाल उद्यान र पार्क निर्माण गर्ने तयारीमा नगरपालिका रहेको श्रेष्ठले बताए।

नगरभित्रका सम्पदा संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी पाएको नारायण नगरपालिका दैलेखले क्षमताले भ्याएसम्म रकम विनियोजन गरी संरक्षणका लागि विभिन्न कार्यहरू गरे पनि त्यसलाई मूर्त रूप दिन नसकेको श्रेष्ठको भनाइ छ। नगर प्रमुख रत्नबहादुर खड्काले भने पंचकोसीको प्रमुख द्वार कोटिलामा पंचकोसी ताल निर्माण गर्ने, उक्त तालबाट विद्युत उत्पादन गर्ने, माछा पालन गर्ने जस्ता कामहरू अगाडि बढाउन डिपिआर सुरु गरिएको छ। दैलेखका लुकेका सम्पदाहरूको इतिहास पुनर्लेखनका लागि प्रदेश सरकारसँग अनुरोध गरेको खड्काले बताए।  यस्तो छ पंचदेवको इतिहास  दैलेख ऐतिहासिक, धार्मिक पुरातात्त्विक र साँस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिए पनि कतिपय इतिहासहरूको अझै खोजी हुन सकेको देखिँदैन। यस्तै, महत्त्वपूर्ण ऐतिहासिक धरोहरका रूपमा दैलेखका देवलहरू पर्छन्। दैलेख बजारबाट लगभग तीन किलोमिटर पूर्वउत्तर अर्थात् सुर्खेतबाट दैलेख बजार हुँदै जुम्ला जाने मूल बाटोको बायाँतर्फ देवल भएको एउटा अत्यन्त रमणीय ठाउँ छ।

स्थानीय भाषामा अहिले पनि मूर्तिको पच्चीस देवल भनिन्छ। मूर्तिविहीन मूर्तिका यी देवलहरूको बनोट वर्गाकार छ र प्रत्येक देवलहरूको संरचनामा कुनै अन्तर पाइँदैन र सबै देवलहरूको योजना छुट्टाछुट्टै देखिन्छ। उचाइमा भने फरक फरक रहेका यी देवलसँगै रहेको अर्को पंचदेवल विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सिफारिस गरिएको धेरै वर्ष भइसकेको छ। सूचीकृत हुन सकेको छैन। खम्ब देवल खम्ब देवलको संरचना विलकुलै सादा अर्थात् एउटै ढुंगामा बनाइएको देवलाकार पाषाण स्तम्भ, जसमा आमलक, कलस र गजुराकार शीर्ष विन्दु रहेको हुन्छ। यसमा कुनै वास्तुशास्त्रीय दृष्टिकोण र आधारहरूको अनुकरणको आवश्यकता हुँदैन। देवल वास्तवमा देवलायको छोटकरी नाम भएकाले यसको योजना शास्त्रीय आधारमा गरिएको हुन्छ। यस्ता देवलहरूको सबैभन्दा तल्लो भाग अर्थात् वेदीलाई स्थानीय भाषामा पिँध भनिन्छ। त्यसभन्दा माथिल्लो भाग अर्थात् जंकलाई कण्डो र त्यसभन्दा पनि माथिल्लो भागलाई ढाड भनिन्छ। शिखरको आधार भागजति सबै नै छप्पड कहलाउँछ।

यसमा चक्राकार आमलक, घण्टा, कलश र शीर्ष विन्दु रहेको हुन्छ। यस प्रकारका सबै देवलहरूमा गर्भगृह घनाकार हुनुका साथै माथिल्लो भाग सुँडाकार भएर गएको हुन्छ। तर कहीँकहीँ दुई प्रकारका हुनसक्छन्। अधिकांश देवलहरू स्तंभरहित हुन्छन्। धेरैजसो देवलका ढोकामाथिको कार्नेसमा सानै भए पनि गणेशको मूर्ति कुँदिएको हुन्छ। यस प्रकारका सबै देवलहरूको भित्री भाग सादा र बािहिर भने केही फुलबुट्टा वा अन्य कलाद्वारा अलंकृत देखिन्छन्। मूर्तिका यी २२ देवलहरूभध्ये सबैभन्दा ठूलो देवलको योजना २.४०, २.१५ मिटर वर्गाकार हुनुका साथै यस देवलको उचाइ ४.७० मिटर अर्थात् १२ फिट ७ इन्च रहेको छ। त्यस्तै, यीमध्ये सानो देवलको योजना ८५.७५ सेमी वर्गाकार हुनुका साथै यसको उचाइ २.४० मिटर अर्थात् ७ फिट १०.५ इन्च छ। यी देवलहरूको निर्माण एकै सयममा भएको जस्तो देखिँदैन। यी देवलहरूलाई खसशैलीका देवलहरू पनि भन्ने गरिन्छ। यहाँका देवलहरूमा सिँढीको प्रावधान देखिँदैन। लगभग १२औँ देखि १५अौँ शताब्दीसम्म देवलहरू बनेको हुनसक्ने भए पनि ठोस इतिहासको खोजी भएको देखिँदैन।

ढुंगैढुंगाले बनेका यस्ता ऐतिहासिक महत्त्वका वस्तुहरूको संरक्षण, संवर्द्धनसँगै पर्यटकीय क्षेत्र बनाउनुपर्ने सबैको दायित्वभित्र पर्ने स्थानीयको भनाइ छ। पंचकोसी क्षेत्र भमणका लागि दैलेख सदरमुकाम आउने जोकोही पर्यटकहरूले पनि हेर्नै पर्ने दैलेख सदरमुकामको कोतगढी, मूर्तिका पंचदेवल, नारायण मन्दिर, बेलासपुर मन्दिरलगायतका क्षेत्रहरू हुन्। त्यसपश्चात् पंचकोसी क्षेत्रको मुख्य द्वार मानिएको कोटिला मन्दिर, शिरिस्थान ज्वाला र पंचकोसी क्षेत्रको अवलोकन गर्ने गर्छन्। अलिक धेरै समय लगाएर आएमा चार हजार २०० मिटर अग्लो महावु धाम, पाटन क्षेत्र, नौमूले गाउँपालिकाको द्वारी झरनालगायतका स्थानहरूको दृश्यावलोकन गर्नका लागि पर्यटकहरूलाई करिव एक सातासम्म दैलेख महत्त्वको हुन सक्ने स्थानीय बताउँछन्।



Leave a comment

Your email address will not be published.


*