विपन्न तथा जोखिममा रहेका बालबालिकालाई छात्रबृति

विपन्न तथा जोखिममा रहेका बालबालिकालाई छात्रबृति

हिक्मत नेपाली
दैलेख असोज १७ ।
यहाँका दलित, विपन्न तथा जोखिममा रहेका बालबालिकालाई छात्रबृति प्रदान गरिने भएको छ । केन्द्रिय बाल कल्याण समिति, सार्क विकास कोषको सहयोगमा टोल फ्रि इन सार्क स्टेट परियोजना अन्तरगत दैलेख जिल्लामा संचालित बाल हेल्पलाइन नेपाल मार्फत छात्रबृति प्रदान गरिने भएको हो ।  जिल्लाका ११ वटै स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत ९२ जना बालबालिकालाई छात्रबृति प्रदान गरिने बाल हेल्पलाइन दैलेखका संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो ।

आर्थीक अवस्था कमजोर भएका दलित, विपन्न र जोखिममा रहेका बालबालिकाहरुलाई प्राथमिकता दिई छात्रबृति प्रदान गर्न लागिएको उहाँको भनाई छ । छात्रबृतिका लागि छनौटमा परेका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोषाक प्रदान गरिनेछ ।

दैलेखमा संचालित बाल हेल्पलाइनमा हाल अभिभावक विहिन तीन जना बालबालिका बस्दै आएका छन् ।बालबालिकालाई छात्रबृति संगै उनिहरुको अभिभावकलाई समेत आयआर्जनका लागि सहयोग गरिनेछ । छात्रबृतिमा छनौट भएका बालबालिका मध्ये अतिविपन्न बालबालिकाका अभिभावकलाई व्यवसाय संचालनका लागि सहयोग गरिने सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले जानकारी दिए ।जिल्लामा संचालित बाल हेल्पलाइनमा जोखिममा रहेका बालबालिकाको अवस्थाबारे खबर आए पश्चात उनिहरुको घरमै पुगेर बालबालिकाको अवस्था विश्लेषण गरि छात्रबृतिका लागि छनौट गरिएको श्रेष्ठले बताउनुभयो ।

उनका अनुसार जिल्ला भरका १५ जनालाई व्यवसाय संचालनका लागि सहयोग गरिनेछ । उनिहरुलाई बाख्रा पालन व्यवसाय, खुद्रा खाद्यान्न पसल संचालन गरि आर्थीक अवस्था सुधार होस् भन्ने उदेश्यले सहयोग उपलब्ध गराइने भएको हो । १५ जनालाई प्रतिव्यक्ति २० हजारका दरले सहयोग रकम उपलब्ध गराइने छ । बालबालिकालाई छात्रबृति र अभिभावकलाई व्यवसाय संचालनका लागि सहयोग गर्न जिल्ला बाल हेल्पलाइन जिल्ला सल्लाहकार समितिको बैठकले निणर्य गरिसकेको छ ।

प्रतिक्रिया