बालिका दिवसमा रेडियो बहस

बालिका दिवसमा रेडियो बहस

दैलेख असोज २५ ।
विश्व बालिका दिवसकै अवसर पारेर रेडियो धु्रवतारा, रेडियो दुल्लू र रेडियो ज्वालाले किशोरीहरुकै प्रस्तूती तथा किशोरी नै अतिथि राखेर जिल्लाको बालिका सुरक्षा सवाल विषयमा बिहिवार विहान रेडियो बहस कार्यक्रम प्रस्तूत गरेका छन् ।
रेडियो ज्वालामा युवा अभियन्ता सजना सुनार र रेडक्रस मावि भूर्तीको बालअधिकार चेतना समूहका अध्यक्ष कल्पना रेग्मीलाई किशोरी अतिथिको रुपमा सहभागी गराएर प्रतीक्षा बिकले कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेका थिए ।


दैलेखकै अर्को एफएम रेडियो दुल्लूमा कार्यक्रम प्रस्तोता राधिका शाहीले आवाज संस्थाकी गीता केसी र प्रेमदेवी मावि धामीगाउँकी बाल क्लव अध्यक्ष टीका योगीलाई अतिथि बनाएर समसामयिक विषयमा अन्तरक्रिया गरेकी थिइन् ।
त्यसैगरी रेडियो धु्रवताराले करिस्मा पोखरेल कार्यक्रम सञ्चालिका बनेर नारायण क्याम्पसकी स्ववियू सभापति रेखा थापा र जिल्ला स्तरीय बाल सञ्जाल सञ्चालका सदस्य रमिता बिकलाई किशोरी अतिथि बनाएको थियो ।
किशोरी अतिथिहरुले दैलेखमा किशोरीहरुले विद्यालयमा व्यवस्थित शौचालयको अभावमा विद्यालय छोड्ने समस्या, यौनजन्य हिंसा लगायतका समस्या र समाधानका उपाय विषयमा छलफल गरेका थिए । सहभागीहरुले स्थानीय तहहरुले महिला तथा बालबालिका लक्षित कार्यक्रम नगरेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए ।
बालिका तथा किशोरीहरु माथि हुने यौनजन्य हिंसा रोकथामका लागि हरेक वर्ष अक्टोवर ११ तारिकमा मनाउने गरेको यो दिवस सातौं वार्षिकोत्सव हो ।
नेपालमा प्लान इण्टरनेशनलको साझेदारीमा गत वर्षदेखि सामुदायिक रेडियो प्रसारक संघको आह्वान नेपालभरका ३ सय भन्दा बढी सामुदायिक रेडियोमा १८ वर्ष मुनिका किशोरीहरुको नेतृत्वमा रेडियो कार्यक्रम प्रस्तूत गर्ने गरिएको छ । अघिल्लो वर्ष महिला सवालमा काम गर्ने अतिथि बनाइएकोमा यो वर्ष चाहिं १० देखि २४ वर्ष उमेर समूहका महिला, किशोरी र बालिकालाई अतिथि छनौट गरिएको थियो ।

प्रतिक्रिया