सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (फोटो फिचरसहित)

सिवानीले पहिरिइन नोबेल मिस थारु आईकनको ताज, तेजेन्द्र भए मिस्टर थारु आईकन (फोटो फिचरसहित)

बिराटनगर, २८ असोज । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् । बिराटनगरमा भएको फाईनलमा उत्कृष्ट छनौट हुँदै सिवानीले मिस थारु आईकनको ताल पहिरिइन भने तेजेन्द्र मिस्टर थारु आईकन घोषित भए ।
पूर्वका १ सय १८ प्रतिष्प्रधिलाई पछि पार्दै बिराटनगर–८ स्थित मधुमारा बुद्धचौककी सिवानी र बिराटनगर–३ पिपलचौकका तेजेन्द्रले प्रदेश स्तरीय थारु आईकनको उपाधि जितेका हुन् । कार्यक्रममा पूर्व मिस नेपाल माल्विका सुब्बाले सिवानीलाई मिस थारु आईकनको ताल पहिराईदिएकी थिईन् । मिस्टर र मिस थारु आईकन दुवैलाई नोबेल शिक्षण अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक इन्दिरा शर्माले ५०÷५० हजारको चेक प्रदान गरिन् ।
त्यस्तै उदयपुरको गाईघाटका सृजना चौधरी मिस फस्ट रनरअप र बिराटनगर कञ्चनवारीका सिजन चौधरी मिस्टर फष्ट रनरअप घोषित भए । त्यस्तैगरी इटहरीकी अंकिता चौधरी मिस सेकेण्ड रनरअप र सुनसरी बरजुका सुवास चौधरी मिस्टर सेकेण्ड रनरअप बनेका छन् । नोबेल शिक्षण अस्पतालको तर्फबाट फस्ट रनरअपलाई ३० र सेकेण्ड रनरअपलाई २० हजारका दरले जनही पुरस्कार प्रदान गरिएको छ । फाईनलमा माल्विका सुब्बा, साजित आलम, पर्शुराम चौधरी, भोला चौधरी र तुलसी पोख्रेल निर्णायकको भूमिकामा थिए । थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्ने उद्धेश्यले थारु कला केन्द्रले आयोजना गरेको थारु आईकन करिव दुई महिनासम्म चलेको थियो ।

डा.शर्माको घोषणाप्रति पूर्व उपप्रधानमन्त्री गच्छदारद्वारा मञ्चबाटै स्वागत र समर्थन
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् । १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्माले थारु आईकन फाईनल कार्यक्रमका अवसरमा यस्तो घोषणा गरेका हुन् ।
‘हिन्दी फिल्मका चर्चित नायक नायिका भन्दा कम छैनन् थारु युवा युवतीहरु’ प्रतिष्प्रधिहरुप्रति लक्षित गर्दै डा.शर्माले भने ‘देशभरका गाउँ–गाउँमा ओझेल परेका यस्ता प्रतिभालाई उजागर गर्ने काममा सहयोग गर्न तयार छु ।’
यसैवीच डा.शर्माको यो घोषणालाई पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले स्वागत र समर्थन जनाएका छन् । कार्यक्रममा बोल्दै गच्छदारले भने ‘थारु समुदायका लागि डा.सुनिल शर्माले गरेको यो घोषणा स्वागत र सम्मान योग्य छ ।’ संबोधनका क्रममा पटक–पटक डा.शर्माको नाम उच्चारण गर्दै नेता गच्छदारले डा.शर्माको घोषणाको खुलेर प्रशंसा गरेका थिए ।
डा.शर्माले थारु आईकनमा सहभागि मध्ये एक जनालाई स्टाफनर्स निःशुल्क पढाईदिने यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया