तरकारी खेतीमा युवा आकर्षण

तरकारी खेतीमा युवा आकर्षण

ज्योती कटुवाल

दैलेख — दैलेख, डुंगेश्वरमा तीन युवाले सामूहिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्नुका साथै गाउँमै रोजगारी सिर्जना गरेका छन्  । उनीहरूले पैसा कमाउन जागिरै खानुपर्छ वा विदेश जानुपर्छ भन्ने सोचलाई चुनौती पनि दिएका छन्  । केही वर्षअघिसम्म पैसा कमाउन भारत जाने देवेन्द्र गोदार अहिले गाउँमै मालिक हुन पाउँदा मख्ख छन् । १२ वर्षसम्म भारतमा निकै दु:ख गरेका उनी अहिले आफूजस्तै दुईजना साथी मोहन बस्नेत र छविलाल गौतमको सहकार्यमा तरकारी खेती गर्छन् । तरकारी खेतीका लागि सुरुमै करिब ३५ लाख रुपैयाँ बराबरको लगानी गरेका उनीहरूले वार्षिक करोड रुपैयाँ कारोबार गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेका छन् । यसको लागि लाहोरो खोला नजिकैको जग्गा लिजमा लिएका छन् ।

तरकारी फर्ममा मासिक जनही २० हजार रुपैयाँ तलबमा पाँचजनाले रोजगारीसमेत पाएका छन् । ‘व्यवसायमा हामी तीनैजनाले उत्तिकै ध्यान दिएका छौं,’ गोदारले भने, ‘तरकारीबाटै राम्रो गरेर हामीजस्तै अरु युवालाई पनि कृषिकर्ममा लाग्न प्रेरणा दिन सफल हुने विश्वास छ ।’

उनीहरूको तरकारी फर्ममा अहिले लटरम्म टमाटर, सिमी, भान्टा, करेला, काँक्रा फलेका छन् । बारीमा फलेको तरकारी उनीहरू आफ्नै मण्डीबाट बिक्री गर्छन् । एक सिजनमा करिब ६ लाख रुपैयाँ मुनाफा भएको गोदारले बताए । ‘हामीले उत्पादन गरेको तरकारी सुर्खेतदेखि जुम्लासम्म पुग्ने गरेको छ,’ उनले भने, ‘बेमौसममा समेत हाम्रो तरकारीले नेपालगन्जमा तरकारीको अभाव पूर्ति गर्छ ।’

फलेको तरकारी देखाउँदै युवा । 

उन्नत ग्रुप प्रालिको नाममा उनीहरूले दुई वर्षअघि व्यावसायिक खेती सुरु गरेका हुन् । ग्रुपको साझेदार बस्नेत पैसाको खोजीमा विदेशतिर भौतारिने युवालाई आफ्नै गाउँघरमा कृषि व्यवसाय गर्न सुझाव दिन्छन् । ‘विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने त्यहाँभन्दा राम्रो आम्दानी यहीँ हुन्छ,’ उनको भनाइ छ, ‘हामीले छोटो समयमै यस कुराको महसुस गरेका छौं ।’ दैनिक पाँच घण्टा काम गरेर आर्थिक रूपमा पनि सन्तुष्ट हुने गरी आम्दानी भएको उनले बताए ।

तरकारी खेतीमा लाग्ने उन्नत गु्रपका तीन सदस्यमात्र होइनन् । दैलेखका गाउँमा अहिले उनीजस्तै युवाहरू तरकारी खेतीमा आकर्षित भएका छन् । राकम कर्णालीकी धना विश्वकर्मा त्यस्तै एक युवा प्रतिनिधि हुन् । चार वर्षअघिसम्म हातमुख जोड्न धौधौ हुने उनी अहिले तरकारी खेतीबाटै मनग्ये आम्दानी गर्न सफल भएकी छन् । साकार नामक परियोजनाले तरकारी खेतीसम्बन्धी तालिम दिएपछि उनको आर्थिक समृद्धिको सपनामात्र साकार भएन, रोजगारीको लागि सधैं भारत जाने उनका श्रीमान्समेत स्वदेश फर्किएका छन् । तीन रोपनी जग्गामा तरकारी खेती गर्दै आएकी उनी एक सिजनामा करिब ७० हजार रुपैयाँ कमाउँछिन् ।

कमाएको पैसा समूहमा बचत गर्ने उनी बसुन्धरा कृषक समूहकी अध्यक्षसमेत हुन् । ‘समूहबाट २० हजार रुपैयाँ ऋण लिई सुरु गरेकी थिएँ, अहिले सबै ऋण चुक्ता गरी बचत पनि गरिरहेकी छु,’ उनले भनिन्, ‘मिहिनेत गर्यो भने पैसा त घरमै  आउँदो रहेछ ।’ कान्तिपुर 

प्रतिक्रिया