निर्मला हत्याकाण्डमा लुकाइयो नाम

निर्मला हत्याकाण्डमा लुकाइयो नाम

महेन्द्रनगर, १४ कात्तिक ।

निर्मला पन्तको हत्याकाण्डमा दवावमा परेको प्रहरीले फेरि चारजनाको डीएनए परीक्षण प्रक्रियालाई अगाडि बढाएको छ ।कञ्चनपुर प्रहरीले चारजनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताएका छन् ।

नमूना संकलन गरिएका व्यक्तिहरूको पहिचान भने खुलाइएको छैन । घटनास्थल आसपासका खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरूमाथि प्रहरीले डीएनए परीक्षण गर्न थालेको छ । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक सय बढीको नमूना संकलन हुन सक्ने जनाएको छ । प्रहरीसँग अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको छ ।

यसअघि पनि ५ जनाको नमूना परीक्षण भइसकेको छ । प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडु, तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको नमूना परीक्षण गरेको थियो ।
साउन दश गते होमवर्क गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

घटना भएको तीन महिनाभन्दा धेरै समय भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धानले परिणाम ल्याउन सकेको छैन । निर्मला पन्तका दोषीलाई पक्राउ गरी कारबाहीको माग राखेर महेन्द्रनगरबासीले आन्दोलन थालेका छन् । निर्मला हत्याकाण्डका कारण सरकार दवावमा छ ।

प्रतिक्रिया