कोशेली घर दैलेखको पहिचान – उपप्रमुख मल्ल

कोशेली घर दैलेखको पहिचान – उपप्रमुख मल्ल


ज्वाला संदेश
दैलेख कात्तिक २९ ।
नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले दैलेखका लघु उद्यमीहरुले स्थापना गरी संचालन गरेको कोसेली घर ब्यवस्थित संचालन गर्न पहल गर्ने बताउनु भएको छ । आत्मनिर्भर लघु उद्यम कृषि सहकारी संस्था लिमिटेड नारायण नगरपालिकाको चौथो वार्षिक साधारणसभालाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमूख अतिथि समेत रहनु भएकी उपप्रमुख सावित्री मल्लले सम्बोधनका क्रममा भन्नुभयो ‘कोशेली घर दैलेखको पहिचान भएकाले यसलाई ब्यवस्थित संचालन गर्न नगरपालिकाले पहल गर्छ ।’ उहाँले,‘ लघु उद्यमी त्यो पनि पूर्ण रुपमा महिलाहरुले मात्र संचालन गरेको शेयर सदस्यहरु पनि महिला उद्यमी भएको र छोटो समयमा यति धेरै प्रगती गरेको देखेर आफु हर्षित भएको बताउनुभयो ।

यसका साथै उहाँले यस सहकारीलाई आवश्यक पर्ने अन्य प्रकारका सहयोग पनि नगरपालिकाले प्रमुखताका साथ गर्ने बताउनुभयो । विहबार सम्पन्न भएको साधारणसभामा कोषाध्यक्ष अन्जु रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत आर्थिक प्रतिवेदनमा उक्त सहकारीले असार मसान्तसम्म कूल ५२ लाख र हालसम्म ९८ लाखको कारोबारो गरेको उल्लेख गरिएको छ । यसै गरी संस्थाकी अध्यक्ष टीकादेवी जैसीले प्रस्तुत गरेको संस्थागत प्रगती प्रतिवेदनमा ७ जना संचालक समिति, ऋण उप समिति र लेखा समितिमा पूर्ण रुपमा महिलाहरु मात्र रहेको उल्लेख छ ।
यसका साथै उक्त सहकारीमा हाल २ सय ५७ जना शेयर सदस्य मध्ये २३ जना मात्र पुरुष उद्यमी शेयर सदस्य भएको र बाँकी सम्पूर्ण महिला लघु उद्यमी शेयर सदस्य रहेको उल्लेख गरिएको छ । ३ वर्ष अघि दर्ता भई संचालमा आएको उक्त सहकारीमा पुरै लघु उद्यमीहरु मात्र शेयर सदस्य भएको र ती सम्पूर्ण शेयर सदस्यहरुको आ–आफ्नै लघु उद्यमबाट विभिन्न प्रकारका वस्तुहरु उत्पादन गरी बजारीकरण भईरहेको छ ।
कार्यक्रमको उदघाटन सत्रलाई सम्बोधन गर्दै अर्का विशेष अतिथि जिल्ला सहकारी संघ, दैलेखका अध्यक्ष तेजबहादुर थापाले महिला उद्यमीहरु सहयोगी उद्यमीमात्र नभई स्वामित्व उद्यमी बन्न सुझाब दिनुभएको थियो । यसका साथै सो कार्याक्रमलाई उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष कविराज खत्रीले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन अन्जु रानाले र सभापत्त्वि टिकादेवी जैसीले गर्नुभएको थियो । उदघाटन सत्र पछिको बन्द सत्रले प्रस्तुत प्रतिवेदन पास गर्नुका साथै आगामी कार्य योजना समेत बनाएको छ ।

प्रतिक्रिया