श्रीमतीले आत्महत्या गरेपछि श्रीमान् फरार !

श्रीमतीले आत्महत्या गरेपछि श्रीमान् फरार !

माघ १, २०७५ मंगलवार,  दैलेख – घरासी विवादका कारण श्रीमतीले आत्महत्या गरेपछि दैलेखको आठबीस नगरपालिका–१ सुकीपिउलीका ३० वर्षीय पदमलाल नेपाली फरार भएका छन् । खानाको विषयमा विवाद भएपछि गए राति साढे ८ बजेतिरको समयमा उनकी श्रीमती २८ वर्षीया रीमा नेपालीले घर नजिकैको धाईडाको रुखमा पासो लगाएर मृत्यू भएपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।
‘बोइलरको मासु मैंले खाँदिन भन्ने थाहा पाईपाई किन ल्याएको ?’ भनी रीमाले प्रतिक्रिया जनाएपछि दुबै जनाबीच हानाहान भएपछि त्यतिबेलै भारत जान्छु भनी पदमलालले झोला बोकेर हिंडे लगतै आत्महत्या गरेकी खुल्न आएको आठबीस नगरपालिका–१ की वडा सदस्य कमला थापाले बताइन् ।
वडा सदस्य थापाका अनुसार १० वर्षको ठूलो छोरा, ६ वर्ष छोरी र ४ वर्षको कान्छो छोरा समेतले बुबाआमाको झगडा देखेका, बुबा भारत जान्छु भनी हिंडे लगतै आमाले सलको पासो लगाएको थाहा पाएर बच्चाहरु चिच्याएपछि छिमेकी कुलबहादुर नेपालीले पासो हँसियाले काटेर बचाउन प्रयत्न गर्दागर्दै रीमा ज्यान गएको हो ।
घाँटीमा पासो लगाएको र खुट्टा छटपटाएको देखेपछि ‘बचाउन पो सकिन्छ कि’ भनेर डोरी काटेर पानी खुवाउन खोज्दा तत्काल प्राण गएको अरु प्रत्यक्षदर्शीहरु समेतले देखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि खुलेको छ ।
केही पर पुगेको बेला घर नजिकै धेरै हल्ला सुनेपछि फेरि फर्किएका पदमलाल पासो काटेर पानी खुवाउन लाग्दासम्म त्यही उभिएका र रीमाको प्राण गयो भन्ने निश्चित भएपछि उनी त्यतिबेलै फरार भएको स्थानीय मानबहादुर नेपालीले बताए ।
सदरमुकामबाट एक दिनको बाटो भएका कारण प्रहरी टोली पठाई घटना प्रकृति मुचुल्का र मृतकको शव पोष्टमार्टमका लागि दुल्लू अस्पतालमा अहिले भरखर मात्र मंगलवार राति पु¥याइएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । पासो काटिएको र श्रीमान् भागेको कारण प्रहरीले यो घटनालाई शंकास्पद रुपमा लिएको उहाँले बताए ।

प्रतिक्रिया