नेपाली फिल्मका नायकभन्दा गायक धनी

नेपाली फिल्मका नायकभन्दा गायक धनी

काठमाडौं । गायक राजेश पायल राईले पूर्वडिआइजी रमेश खरेलको शान्तिनगरस्थित घर किनिदिए । उनलाई गाडी चलाउन आउँदैन तर गाडी पनि किनेका छन् । घर र गाडी भए पनि उनको नेपालमा कमै मात्र बास हुन्छ । हालसम्म उनले ४० वटा जति देश घुमिसकेका छन् । सबैभन्दा बढी त हङकङ पुगेका छन् । उनको कमाई नेपाली फिल्मका हिरोभन्दा पनि बढी हुन्छ । विदेशमा उनको माग अझ बढ्दो छ ।

उनले एक समय भनेका थिए,‘अमेरिकामा चार कार्यक्रमका लागि मेरो रातदीन नै प्लेनमा बितेको थियो ।’ नेपाल आएका बेला पनि उनलाई फूर्सद हुँदैन । कुनै न कुनै रेकर्डिङ तयार भइरहेको हुन्छ । एकरदुई बर्षमा उनले गीत निकाल्छन् । र, बाँकी समय मेला, महोत्सव, विदेशी कार्यक्रमहरूमै समय दिन्छन् । औसतमा उनको मासिक आम्दानी ५० लाख रूपैंया भन्दा बढी हुने अनुमान गरिएको छ । उनी आफैंले भने कमाईको अंक र संख्या भने तोक्ने गरेका छैनन् ।

प्रविधिको विकास, विदेशमा नेपाली जाने क्रम बलियो भएपछि नेपालका गायकगायिकाको कमाई ह्वात्तै बढेको छ । अझ, नेपालमै पनि बर्षेनी हुने मेला र महोत्सवमा उनीहरूको माग बढ्दो छ । अझ हिउँद महिनामा देशैभरी विभिन्न जिल्लामा अनेक महोत्सवमा सांगितीक माहौल अनिवार्य जस्तो बनाइन्छ ।

गायिका आस्था राउत निक्कै व्यस्त छिन् । उनी हरेक कार्यक्रम आयोजकको हैसियतका आधारमा नै मूल्य पारिश्रमिक तोक्छिन् । विदेश भ्रमण गर्नेमा उनी पनि गणना हुने गायिका हुन् । उनका गीत थोरै छन् तर निक्कै चर्चित भएका कारण बेरोजगार छैनन् । अझ, उनको आम्दानी अन्य गायिकाको तुलनामा केही धेरै रहेको बताइन्छ । उनको माग अमेरिकादेखि सिक्किम, दार्जिलिङ र मुलुकका विभिन्न मेला महोत्सवमा बलियो हुने गरेको छ । एउटा कार्यक्रमका लागि उनले डेढदेखि अढाई लाखसम्म पारिश्रमिक लिने गरेको बताइन्छ । नेपालभित्रका कार्यक्रमका हकमा भने, खुलाइएको छैन ।

अति नै व्यस्त रहेकी गायिका मेलिना राईले अस्ट्रेलियामा भएको एउटा कार्यक्रमका लागि गत बर्ष पारिश्रमिक मात्र २ लाख लिइन्, बाँकी खर्च आयोजकको । उनको डिमान्ड ह्वात्तै बढेको छ । यत्तिको पारिश्रमिक त एउटा फिल्म गर्ने अभिनेत्रीले पनि नपाउने गरेको कलाकारहरू बताउँछन् ।

अझ नेपालमा रियालिटी शोहरू चल्न थालेपपछि गायकको पारिश्रमिक र दररेटमा अझ वृद्धि भएको बताइन्छ । यसका उदाहरण हुन् गायक प्रमोद खरेल, सनुप पौडेल, इन्दिरा जोशीलगायत । यीनिहरूको पारिश्रमिकको दररेट पनि सोहीअनुपातमा हुने गरेका छन् । देशमा भन्दा बढी विदेशमा कार्यक्रममा जानेमा पर्छन्, यी गायकगायिका ।

गायक हिमाल सागरको बास नेपालमा नै हुँदैन । उनी तीनरचार बर्षमा एउटा गीत रिलिज गर्छन् र विदेशी कार्यक्रममा बढी अलमलिन्छन् । एक गायक भन्छन्,‘अहिले कलाकारको डिमान्ड बढेको छ । बाहिरका शोहरूमा रकम पनि पाइने, घुम्न पनि पाइने भएपछि जाने क्रम पनि ह्वात्त बढेको छ ।’

यी उदाहरणका पात्र मात्र हुन् । यी भन्दा बाहेक चलेका गायकगायिकाको पनि डिमान्ड उत्तिकै छ । युट्युव च्यानलमा कभर गीत गाएका भरमा नै स्वप्न सुमन नामका गायकको माग अत्यधिक रहेको छ । उनलाई अमेरिका, अस्ट्रेलियालगायतमा कार्यक्रम गर्ने आयोजकले डिमान्ड बढाएका हुन् । केही दिनअघि उनले काठमाडौंको सैनिक मञ्चमा गतिलो प्रस्तुती दिएका थिए ।

‘स्वभाविक रूपमा गायकको आम्दानी चर्को रहेको देखिन्छ । फिल्मका हिरोहरू फिल्म देखाउने बाहनामा पुग्छन् तर उनको पारिश्रमिक कति भन्ने तोकिन्न, दिए पनि कम दिइन्छ । हिरोइनलाई भने नचाएको आधारमा पारिश्रमिक दिने गरिएको छ’, एक कार्यक्रम आयोजक भन्छन्,‘तर हर प्रकारका चलेका गीतका गायकगायिकाको भने डिमान्ड महँगो हुन्छ । उनीहरूबिना कार्यक्रम पनि चल्दैनन् ।’ यस्तो सम्झौता प्रायले इमेलमार्फत प्रतिनिधि खटाएर गर्छन् । यस्तोमा एक नम्बरमा पर्छिन्, इन्दिरा जोशी ।

उता, पप, आधुनिक गीतका मात्र होइन लोक र दोहोरी गीतका गायकगायिकाको माग पनि ह्वात्तै बढेको छ । यस्तोमा व्यस्त हुनेमा पर्छन् पशुपति शर्मा, रामजी खाँण, टिका प्रसाईलगायतका गायक गायिका । लोक दोहोरीमा चलेका गायकगायिकाले बेरोजगार बस्न नपरेको बताइन्छ । व्यस्तताबीच बद्री पंगेनी त राजनीतिक कार्यक्रममा पनि सक्रिय छन् । यीनको आम्दानी पनि नेपालका चलेका हिरोहरू भन्दा ज्यादा हुने गरेको बताइन्छ ।

‘हिरोहरू बर्ष, महिना वा ६ महिनामा फिल्म खेलेर सीमित रकम लिन्छन् । तर, गायक गायिकको एउटै स्टेज शोमा लाख माथिको पारिश्रमिक हुन्छ । त्यहाँमाथि बाह्रैकाल उनीहरू व्यस्त हुन्छन्’, कार्यक्रम आयोजकहरू भन्छन्,‘त्यसैले गीत चलेका, नाम चलेका गायकगायिकाले अहिले काठमाडौंलगायतका ठाउँमा सुविधासम्पन्न सम्पत्तिमात्र जोडेका छैनन्, बैंक ब्यालेन्स पनि राम्रो बनाएका छन् ।’

प्रतिक्रिया