दैलेखमा पत्थर उद्योग संचालन

दैलेखमा पत्थर उद्योग संचालन

हिक्मत बहादुर नेपाली
दैलेख फागुन ८ ।

दैलेखमा पहिलो पटक पत्थर उद्योग संचालनमा आएको छ । घरको छानो छाउन, आँगन तथा पेटीमा विच्छ्याउन प्रयोग गरिने पत्थरको खानी रहेको दैलेखमा उद्योग संचालनमा ल्याइएको हो । स्थानीय उत्पादनलाई बढवा दिनुका साथै विदेशी मार्वल विस्थापित गर्ने उदेश्यले दैलेख नारायण नगरपालिका वडा नं. ११ विन्ध्यावासिनीका काँडाका हरि विष्टले व्यक्तिगत लगानीमा विन्ध्यावासिनी पत्थर उद्योग संचालनमा ल्याउनुभएको हो ।

नेपाल प्रहरीको पूर्व हवल्दार समेत रहनु भएको विष्टले जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिका वडा नं. ६ मा उक्त उद्योग स्थापना गर्नुभएको हो । २०५७ सालमा प्रहरी सेवामा प्र्रवेश गर्नुभएका विष्ट २०७४ मा पेन्सन रिटायर्ड हुनुभएको थियो ।
‘प्रहरी सेवामा रहँदा काठमाण्डौमा रहेर काम गर्दा विभिन्न जिल्लाबाट पत्थर काठमाण्डौसम्म ल्याई प्रयोग भएको देखेको थिँए,’ विष्टले भन्नुभयो ‘त्यतिबेला मैले पनि दैलेखको पत्थर काठमाण्डौसम्म लगेर बजारीकरणको माध्ययम तयार गरे ।’ त्यहाँ दैलेखको पत्थर विक्री हुने देखेपछि प्रहरी सेवाबाट बाहिरिएसंगै उद्योग संचालनमा ल्याएको विष्टले बताउनुभयो । भुईमा विच्छ्याउन, सडकका पेटी, घरको भित्तामा प्रयोग गर्नका पत्थर उतिउपयोगी भएको उहाँको भनाई छ ।
उद्योगका लागि टायल काट्ने मेसिनहरु ल्याएको भन्दै उद्योग संचालक विष्टले गाउँमै लिएर पत्थर काट्न सकिने पेट्रोलियम मेसिन केहि दिनमै दैलेख आइपुग्ने बताउनुभयो । हाल जिल्लाको नारायण नगरपालिका ११ विन्ध्यावासिनी र भगवतीमाई गाउँपालिकाको वडाभैरबबाट पत्थर उद्योगमा ल्याउने गरिएको उहाँको भनाई छ ।

गाउँबाट पत्थर संकलनका लागि ७ जना युवाहरु खटिएको बताउँदै विष्टले हाल मासिक १५ हजार रुपैयाँ तलब दिएर उद्योगमा एक जना मिस्त्री राखिएको जानकारी दिनुभयो । यस अघि बाटै बाख्रा पालन व्यवसाय संचालन गर्दै आउनुभएको विष्टले डेढ लाखको लगानीमा पत्थर उद्योग संचालनमा ल्याउनुभएको हो । आफ्नो उद्योगमा उत्पादन हुने पत्थर विदेशी मार्वल भन्दा सस्तो पर्ने उहाँले बताउनुभयो । उहाँले दैलेखमा उत्पादन भएको पत्थर कर्णालीको प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत तथा काठमाण्डौ सम्म पु¥याउनु योजना रहेको सुनाउनुभयो ।
उद्योगको मंगलवार नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्का, उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । उद्योग उद्घाटन गर्नुहुँदै नारायण नगरप्रमुख रत्न बहादुर खड्काले जिल्लामा संचालनमा आएका यस्ता उद्योगहरुले बेरोजगारी समस्या निराकरण हुँदै जाने बताउनुभयो । स्थानीय स्तरमा हुने कच्चा पदार्थलाई प्रशोधन गरी बजारीकरण गर्न सके रोजगारी सृजना संगै जिल्लाको आर्थीक समृद्धिमा टेवा पु¥याउनु उहाँको भनाई थियो ।

प्रतिक्रिया