अख्तियारद्धारा दैलेखका मुद्धा धेरै

अख्तियारद्धारा दैलेखका मुद्धा धेरै

दैलेख- कर्णाली प्रदेशका १० जिल्ला मध्ये सबै भन्दा धेरै भ्रष्टाचारका मुद्धा दर्ता हुने दैलेख जिल्ला दोस्रो स्थानमा परेको छ । अख्तियार अनुसंन्धान आयोग सुर्खेतमा परेका मुद्धाहरु बिश्लेषण गर्दा दैलेख दोस्रो स्थानमा परेको हो । धेरै मुद्धा दर्ता हुने पहिलो जिल्ला सुर्खेत रहेको छ भने दोस्रोमा दैलेख परेको अख्तियार दुरुपयोग अनुसंन्धान आयोगका सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको १० वटा कार्य क्षेत्र मध्ये परेका उजुरीको आधारमा सुर्खेत पछिको दैलेख भएपनि उजुरीसँगै छानवीन गर्दै जाँदा सेवाप्रवाह दिने निकायहरुका सेवा प्रवाहरुमा कमि कमजोरी भेटिएपछि र कारवाही प्रक्रिया अघि बढेपछि मात्र ठोस निश्कर्षमा पुग्न सकिने अख्तियार दुरुपयोग अनुसंन्धान आयोग सुर्खेतले जानकारी दिएको छ ।
अख्तियारमा दर्ता भएको मुद्धाहरुको बिश्लेषण गर्ने हो भने दैलेख जिल्लामा अनियमितता धेरै भएको, जनगुनासो धेरै भएको सहजै बिश्लेषण गर्न सकिने नागरिक समाज दैलेखका संयोजक खड्क सिजापतीले बताउनुभयो । अख्तियारमा परेका मुद्धाहरुको छिटो फैसला नभएकोले नागरिकहरुमा असन्तुष्टि पैदा भएको सिजापतीको भनाई छ ।
सार्वजनिक पदाधिकारीहरुले आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरि निजी फाईदाका लागि प्रयोग गर्ने प्रवृती दैलेखमा धेरै हुन सक्ने अनुमान गरिएको नागरिक अगुवाहरु बताउँछन् । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग सुर्खेतले दिएको जानकारी अनुसार चालु आर्थीक बर्षमा मात्रै दैलेखका १८ जना बिरुद्ध बिभिन्न बिषयमा बिशेष अदालतमा मुद्धा दायर गरिएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले भ्रष्टाचारको निवारण गर्ने अभियानमा सरकारको मात्र एक्लो प्रयास संभव नहुने बताउनुभयो । समाजका हरेक गतिविधिहरुको निगरानी आम नागरिकहरुले गर्नुपर्ने बताउँदै सहि सूचना र नागरिक खवरदारीले समाजमा सुशासन कायम हुने उहाँको भनाई छ ।
भ्रष्टाचार विरुद्ध नागरिक निगरानी केन्द्र
पछिल्लो समयमा अख्तियारले जनस्तरबाटै भ्रष्टाचार बिरुद्धको नीति अवलम्बन गरेको छ । जवाफदेहिता पारदर्शीता र जनसहभागिता मध्येको एउटा चरण नागरिक निगरानी भएकोले दैलेखमा पहिलोपटक नागरिक निगरानी केन्द्र गठन गरिएको छ । निगरानी केन्द्रले बिकास निर्माणका क्रममा देखिएका संभावीत समस्याहरुका बारेमा नागरिकहरुलाई साथ लिएर खवरदानी गर्ने छ ।
अख्तियार कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार सुर्खेत र दैलेखमा नागरिक निगरानी केन्द्र गठन गर्ने अभियान अन्तरगत आज जिल्ला प्रशासन कार्यालय दैलेखमा गरिएको भेलाले अधिवत्ता दिर्घराज अधिकारीको संयोजकत्वमा १५ सदस्यीय नागरिक निगरानी केन्द्र गठन गरेको छ । बिद्यान तयार गर्ने, सदस्यता बितरण गर्ने र अधिवेशन गर्ने कामका लागि तदर्थ समिति गठन गरिएको हो । कम्तिमा ६ महिनापछि अधिवेशन आह्वान गरेर निर्वाचन प्रक्रिया अनुसार बैधानिक कमिटी गठन गरिने भएको छ ।
सुशासन प्रर्वद्धन गर्ने संवैधानिक निकाय, सेवा प्रवाह गर्ने निकायसँगै र नागरिकहरुको सहकार्य प्रभावकारी बनाउनका लागि नागरिक निगरानी केन्द्र गठन गरिएको हो । निगरानी केन्द्रमा आवद्ध सम्पूर्ण सदस्यहरुले पहिला आफुबाट सदाचार अभियान सुरु गर्नुपर्ने संयोजक दिर्घराज अधिकारीले बताउनुभयो । जिल्लाका सवै खाले बिकास गतिविधिहरुमा सुशासन र पारदर्शीताका लागि पैरवीका कामहरु गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्न आफु लागिपर्ने अधिकारीले बताए ।
नागरिक निगरानी केन्द्रको तर्थद समिति सदस्यहरुमा प्रेमबहादुर थापा, बिष्णु अधिकारी, हस्तराज अधिकारी, निर्मल अधिकारी, टेकबहादुर के।सी।, आनन्द के।सी।, कृष्णप्रसाद उपाध्याय, नवराज खनाल, भगवती शाही, बिष्णु शर्मा, टिकाराम न्यौपाने, ललिता रेग्मी, कृष्णबहादुर भण्डारी र दुर्गा गिरी रहनुभएको छ ।

प्रतिक्रिया